काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले मनभित्र नराम्रो कुरा पालेर समाज सेवा गर्न नसकिने बताएकी छन् । विश्व सामाजिक सेवा दिवसका अवसरमा जीपी कोइराला मेरोरियल क्याम्पसको स्नातक तह समाज कार्य विभागद्वारा मंगलबार आयोजित कार्यक्रममा उनले मनभित्र नराम्रो कुरा पालेर समाज सेवा गर्न नसकिने बताइन् ।
ुमैले सामाजिक सेवामा लागेको ३४ वर्ष भयो, आफैँ बाँच्न गाह्रो हुने समयमा ट्युसन पढाएर बन्दीको सेवा गरेर सामाजिक सेवामा लागेको हुँ, सामाजिक सेवा भनेको राजनीति पनि हो, कर्तव्य पनि हो,ु उनले भनिन् । नाम कमाउनका लागि मात्रै सामाजिक सेवामा लाग्दा बीचमै हराइने उनको भनाइ छ ।
उपसभामुख रानामगरले हरेक धर्ममा सामाजिक सेवाभाव र अनुशासनको मार्गनिर्देशन हुने गरेकाले त्यो कडा अनुशासनलाई पालना गरेर सामाजिक भावमा लाग्नुपर्ने उल्लेख गरिन् ।
'कृष्णप्रसाद भट्टराई, सीके प्रसाईं, निर्मल लामाले आफ्ना लागि कहिल्यै सोच्नु भएन, हामीहरू पनि निःस्वार्थ रुपमा सामाजिक कार्यमा लाग्न सक्नुपर्छ,' उनले भनिन् । बागमती प्रदेशसभा सदस्य मीना पोखरेल पराजुलीले दक्ष जनशक्ति, समाजसेवी व्यक्तित्वको सामाजिक परिचयलाई उजागर गर्दै नेपालमै रहने वातावरण तयार गर्न सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने बताइन् ।