काठमाडौं । ओमानमा पु¥याएर यौन व्यवसायमा लगाएको आरोपमा एक व्यक्तिलाई प्रहरीले शुक्रबार बालाजु एरियाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका वडा नं. ६ बस्ने ४० वर्षीय विष्णुबहादुर राना ‘आकाश’ रहेका छन् ।
उनले एक महिलालाई घरेलु काममा पठाई दिने र आकर्षक तलब हुने भन्ने प्रलोभन देखाएर काठमाडौंबाट भिजिट भिसामा महिलालाई ओमानको मस्कटमा पु¥याएका थिए । आर्थिक अवस्था कमजोर र साधारण लेखपढ गर्न जान्ने ती महिलालाई मासिक ८० देखि ९० हजार रुपैयाँ पाइने भनेर प्रलोभनमा पारेका थिए । ती महिला भदौ २६ गते काठमाडौंबाट मस्कट पुगेकी थिइन् ।
ओमानमा पुगिसकेपछि विष्णुबहादुरका साथीहरूले ती पीडित महिलालाई विमानस्थलमा रिसिभ गरेका थिए । तर त्यहाँ ती पीडितको मोबाइल र पासपोर्ट जफत गरिएको र अन्य काजगपत्रहरु च्यात्न लगाएको मानव बेचबिखन अनुसन्धान व्यूरोका सुचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
पीडित महिलालाई उनीहरूले लिएर एउटा घरको कोठामा राखेका थिए । जहाँ नेपालसहित अन्य देशका महिलाहरू पनि फेला परेका थिए ।
पीडित महिला त्यस कोठामा ३६ दिनसम्म बसिन् । त्यहाँ बस्दा जबरजस्ती यौन व्यवसायमा लगाएको, नमानेमा कुटपिट गर्ने, खाना र पानी नदिने, एसी चिसो र तातो बनाएर शारिरिक यातना समेत दिने गरेको एसपी मिश्रले बताए ।
पीडितले आफूलाई नेपाल फिर्ता गरिदिन पनि अनुरोध गरेका थिइन ्। त्यसका लागि एजेन्टहरूले २ लाख ५० हजार माग गरेका थिए । नेपालमा रहेका श्रीमानले पहल गरी उक्त रकम समेत तिरिएको थियो ।
जसअनुसार गत कात्तिक २ गते ती पीडित महिला नेपाल फर्किएकी हुन् । नेपाल फर्किएर पीडित महिलाले प्रहरीलाई जाहेरी दिएपछि यसमा संलग्नलाई पक्राउ गरेको हो ।
पक्राउ परेका विष्णुबहादुरमाथि पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
यस घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास तथा थप अनुसन्धान कार्य भईरहेको मिश्रको भनाई छ ।