Logo

बुधवार, श्रावण २७ गते २०८३

images

चक्कु प्रहार गरी हत्या गरेको घटनामा संलग्न ४ जना पक्राउ

चक्कु प्रहार गरी हत्या गरेको घटनामा संलग्न ४ जना पक्राउ

दैनिकी न्यूज

१४, चैत्र २०८०
चक्कु प्रहार गरी हत्या गरेको घटनामा संलग्न ४ जना पक्राउ
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २६ ढोलाहिटीमा सुनसरी धरान उपहानगरपालिका वडा नं. १३ जिरो प्वाईन्ट घर भएका २८ वर्षीय रोवश राई र पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ६ घर भएका २७ वर्षीय पुजन राईको धारिलो हतियार चक्कु प्रहारबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा खोटाङ साकेला गाउँपालिका वडा नं. २  सेखुवा घर भई ललितपुर महानगरपालिका वडा नं. २६ जैनखेल बस्ने डि पोपिना रेष्टुरेन्टका संचालक ३१ वर्षीय बिजय राई, खोटाङ साकेला गाउँपालिका वडा नं. २ रतन्छा घर भई ललितपुर महानगरपालिका वडा नं. १५  खुमलटार बस्ने डि पोपिनाका संचालक ३० वर्षीय सुलभ राई, भोजपुर ट्याम्केमयुङ गाउँपालिका वडा नं. २  अन्नपूर्ण घर भई ललितपुर महानगरपालिका वडा नं. २६ जैनखेल बस्ने ३८ वर्षीय बिशाल हाङ मुकारूङ राई र काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. ११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राई रहेका छन् । विजय यसअघि पनि पक्राउ परी दुई वर्ष जेल बसिसकेका व्यक्ति हुन्। प्रहरी वृत्त थानकोटले उनीविरूद्ध २०७५ सालमा मुद्दा चलाएको थियो। लागुऔषधको मुद्दामा उनी दुई वर्ष जेल बसेर छुटेका थिए।

साथै प्रहरीले थप अनुसन्धानको लागि जिल्ला खोटाङ दिप्रुङ–१ याम्खाचा घर भई हाल ललितपुर–२६ जैनखेल बस्ने २७ वर्षिय सुशील राई, सोही स्थान घर भई हाल ढोलाहिटी बस्ने ३२ वर्षिय प्रदिप राई, धनकुटा शहिदभुमी–१ घर भई हाल ललितपुर जिल्ला ईमाडोल सानागाउँ बस्ने २९ वर्षिय नाम्नु हाङ राई, झापा गोरादह–५ महारानीझोडा घर भई हाल काठमाण्डौं नयाँबानेश्वर बस्ने २७ वर्षिय अनन्त राई, खोटाङ जन्तेढुंगा–१ बुपुङं घर भई हाल ललितपुर विशालचोक नख्खिपोर्ट बस्ने २६ वर्षिय विराट राई, धरान १८ बुद्धचोक घर भई हाल ललितपुर हात्तिवन बस्ने २९ वर्षिय अनिश राई, सुनसरी धरान सिद्दकाली चोक घर भई हाल ललितपुर नख्खिपोट बस्ने २१ वर्षिय चिराक राई र धरान–६ बरगाछी घर भई हाल ललितपुर–१४ सोभाहिटी बस्ने २९ वर्षिय साहिल श्रेष्ठ रहेका छन् ।

ललितपुर ढोलाहिटीस्थित डि पोपिना रेष्टुरेन्टमा युवाहरूको समूह बिच विवाद हुँदा रेष्टुरेन्टका संचालक बिजय राई समेतले रेष्टुरेन्ट भान्सामा रहेको चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका पुजनको सुमेरू अस्पतालमा र रेवशको पाटन अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको थियो ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार हालसम्मको अनुसन्धानबाट घटना योजनाबद्ध नरहेको देखिन्छ। “सामान्य विषयमा भएको विवाद र आवेगमै दुई जनाले ज्यान गुमाएको देखिन्छ,” उनले भने, “रेस्टुराँमा उनीहरूको आकस्मिक तवरमा भेट भएछ। कुरैकुरामा विवाद भएपछि आवेगमा आएर घटना भएको हो।”

उनीहरूले अत्यधिक मदिरा पिएको भनिए पनि मेडिकल रिपोर्ट आउन भने बाँकी रहेको प्रवक्ता सुवेदीले बताए। समूहमा रहेका दुई जनाबीच गत तिहारमा सामान्य विवाद भएको बाहेक ठूलो दुश्मनी समेत नदेखिएको प्रहरीले जनाएको छ। गएको तिहारमा साहिल श्रेष्ठले छेङ्वीहाङलाई होच्याएर बोलेको भन्दै सामान्य विवाद भएको प्रहरीको भनाइ छ। “तर त्यही कारण योजना बनाएर झगडा भएको देखिंदैन,” उनले भने, “आवेश र मदिरा नै मूल कारण देखिन्छ। चक्कु समेत सोही रेस्टुराँको किचनमा भएको प्रयोग भएको थियो।”

प्रहरीले हाल फरार घटनाको मुख्य प्रतिवादीहरूलाई भगाउने १ जना व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :चैत्र १४, २०८० बुधवार - ०८:२४:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology