Logo

आइतवार, श्रावण २४ गते २०८३

images

चैत २३ गतेबाट एमाले ललितपुरको जिल्ला अधिवेशन, सम्पूर्ण तयारी पूरा

चैत २३ गतेबाट एमाले ललितपुरको जिल्ला अधिवेशन, सम्पूर्ण तयारी पूरा

रामहरि कार्की

२१, चैत्र २०८०
चैत २३ गतेबाट एमाले ललितपुरको जिल्ला अधिवेशन, सम्पूर्ण तयारी पूरा
images

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर जिल्ला कमिटीको नवौँ जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । एमाले जिल्ला कमिटी ललितपुरले आज पार्टी कार्यालय सातदोबाटोमा आयोजित पत्रकार सम्मेलन गरी नवौं जिल्ला अधिवेशनको तयारी पूरा भएको जानकारी गराएको हो । सो अवसरमा चैत २३ गतेदेखि २५ गतेसम्म महालक्ष्मी–१, इमाडोलस्थित आँगन पार्टी भेन्यूमा हुने एमालेका जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले बताएका छन् ।
“एमाले जिल्ला कमिटीको गत २०८० फागुन २३ गते बसेको दशौं पूर्ण बैठकको निर्णयअनुसार नवौं अधिवेशन २०८० चैत्र २३, २४ र २५ गते हुने तय भएको छ । समुद्घाटन पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम रहेको छ । अधिवेशन भव्य र सभ्यतापूर्वक सम्पन्न गर्न मेरो संयोजकत्वमा ४७५ सदस्यीय मुल ब्यवस्थापन समिति गठन भएको छ ।’’ अध्यक्ष आचार्यले भने ।
नेपाली कम्युनिष्ट आन्दोलनको आधार भूमिको रुपमा परिचित ललितपुर जिल्ला कम्युनिष्ट आन्दोलनको उर्भर भूमिको रुपमा लिइन्छ । ललितपुर जिल्ला नेपालको कम्युनिष्ट आन्दोलनको लागि प्रेरणदायी भूमिको रुपमा चिनिँदै आएको भन्दै ललितपुरका कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुको लागि यो गौरवको विषय भएको अध्यक्ष आचार्यले सो अबसरमा बताएका छन् ।
“ललितपुर जिल्लाका ३ जना राजनीतिक व्यक्तित्वहरु नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र मोतीदेवी श्रेष्ठ कम्युनिष्ट पार्टीको संस्थापक हुनुहुन्थ्यो । त्यसैगरी संस्थापक सरह भूमिका निर्वाह गर्ने देवेन्द्रलाल श्रेष्ठ (काईंला बा) र तेस्रो महाधिवेशनका महासचिव तुल्सीलाल आमात्य यही जिल्लाका हुनुहुन्थ्यो । ललितपुरको अगुवा कम्युनिष्ट नेताको रुपमा सिद्धिलाल सिंहलाई सम्झनुपर्ने हुन्छ ।’’ अध्यक्ष आचार्यले भने ।
स्थानीयस्तरबाट १५ जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि चयन भएर आउने व्यवस्था रहेको बताउँदै उनले सोही अनुसार महिलाहरुको आरक्षण सुनिश्चित गरिएको जानकारी गराए ।
एमाले ललितपुर जिल्ला इन्चार्ज शेरबहादुर तामाङले अधिवेशन भव्य ढङ्गले सम्पन्न हुने बताउँँदै २०८४ मा पार्टीलाई बहुमत दिलाउन सफल हुने दावी गरे । उनले वर्तमान सरकारलाई गरेको समर्थन विश्वासको आधारमा दिइएको खाली चेक भएको बताउँदै सरकारको कामकारबाहीबाट आगामी दिनमा निर्णय लिने बताए ।
जिल्ला अधिवेशन प्रचारप्रसार उपसमिति संयोजक ब्रम्हानन्द श्रेष्ठले अधिवेशनमा सहभागी हुने करिब पाँच सय जना प्रतिनिधिहरु चयन भइसकेको जानकारी गराए ।
“अधिवेशनमा सहभागी हुने करिब पाँच सय जना प्रतिनिधिहरु चयन भइसकेको छ । राजनीतिक तथा सांगठनिक प्रतिवेदन तयार भई प्रकाशनका लागि प्रेसमा पठाइएको छ । लेखा समितिले लेखासम्बन्धी प्रतिवेदन पेश गरिसकेको छ।” श्रेष्ठले भने ।
अधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा भोटिङ मेसिनको व्यवस्था भएको जानकारी गराउँदै उनले उपसमितिले ७१ वटै शाखामा ब्यानरमार्फत प्रचारप्रसार गरिएको बताए ।
वि.सं. २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नेतृत्वमा सम्पन्न प्रथम महाधिवेशन पनि पाटनको लुखुसीमा आयोजना गरिएको उनले जानकारी गराए ।

मूल व्यवस्थापन समिति गठन
नवौं जिल्ला अधिवेशन भव्य र सभ्यतापूर्वक सम्पन्न गर्न जिल्ला अध्यक्ष आचार्यको संयोजकत्वमा ४७५ सदस्यीय मूल ब्यवस्थापन समिति गठन भएको छ । अधिवेशनलाई व्यवस्थित बनाउनको लागि १४ उपसमितिहरु गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

राजनीतिक तथा सांगठनिक प्रतिबेदन लेखनको लागि पुरुषोत्तम आचार्य, ललितपुर समद्धिका आधार निर्माण समितिको लागि हरिकृष्ण ब्यञ्जनकार, हल तथा मञ्च ब्यवस्थापनका लागि राम राउत, जनपरिचालन उपसमितिको संयोजक श्याम ब्यञ्जनकार, प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजक अष्टवीर ब्यञ्जनकार, खाद्य ब्यवस्थापन उपसमितिको संयोजकमा पवन के. सी., साँस्कृतिक उपसमितिको संयोजनकको जिम्मेवारी आशा राईलाई दिइएको छ । त्यस्तै आर्थिक उपसमितिको संयोजक गम्भीर राना, निर्वाचन समितिको संयोजक पुरुषोत्तम ढुङ्गाना, लेखा समितिको संयोजक रघुनाथ घिमिरे, प्रचार उपसमितिको संयोजक व्रम्हानन्द श्रेष्ठ, अतिथि सत्कार उपसमितिको संयोजक अन्नपूर्ण बस्नेत, स्वास्थ्य उपसमितिको संयोजकमा कमला थापा रस्वयंसेवक व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी साजन दर्लामी (राजकुमार) लाई दिइएको छ ।

यसरी गरिदै छ आर्थिक जोहो
एमालेले जिल्ला अधिवेशनको खर्च जुटाउन पार्टी प्रतिनिधिसँग शुल्क उठाउने भएको छ । जिल्ला अध्यक्ष आचार्यका अनुसार विभिन्न जनसंगठन र कमिटीहरूबाट छनोट भएर आउने प्रतिनिधिसँग एक हजार लिइनेछ । आचार्यका अनुसार जिल्लाको कमिटीहरूका सदस्यहरुबाट १ हजार ५०० रुपैया, महानगरपालिका कमिटि शाखासँग प्रति शाखा दस हजार, नगरपालिका कमिटि शाखासँग सात हजार ५०० रुपैया र गाउँपालिका शाखाहरुबाट प्रति शाखा ५ हजार शुल्क दिने सो अवसरमा जानकारी गराएको छ । त्यस्तै पार्टीका शुभचिन्तक, सहयोगदाताबाट पनि चन्दा लिइने बताइएको छ ।

यस्तो छ कार्यातालिका
एमाले ललितपुरको जिल्ला अधिवेशन आँगन पार्टी भेन्यू, महालक्ष्मी नगरपालिका वडा नं. १, इमाडोलमा हुनेछ । अधिवेशन चैत्र २३ गते विहान ११ः०० बजे नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने जनाइएको छ । त्यस्तै बन्द सत्रको कार्यक्रम चैत्र २३ गते साँझ ५ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म र चैत्र २४ विहान ८ः०० बजेदेखी दिउँसो ३ः०० बजेसम्म हुनेछ । नयाँ नेतृत्वका लागि मनोनयन लगायतका निर्वाचन प्रकृया चैत्र २४ साँझ ५ः०० बजेबाट हुनेछ । निर्वाचन चैत्र २५ गते विहान ८ः०० बजेबाट भोटिङ मेसिनमार्फत हुनेछ ।

अध्यक्षमा तीनजना आकाक्षी
एमाले ललितपुरको अध्यक्ष बन्न तीनजनाले आकाक्षा व्यक्त गरेका छन् । अध्यक्षको आकाक्षा व्यक्त गर्नेमा वर्तमान अध्यक्ष पुरुषोत्तम आचार्य, चेतनाथ सञ्जेल र दिनेश कार्की रहेका छन् ।

विद्यार्थी राजनीतिबाट उदाएका आचार्यले आफ्नो राजनीतिक यात्राका क्रममा राजनीतिक परिवर्तनको नेतृत्व गर्दा राजद्रोहको मुद्दासमेत खेपेका थिए । आचार्यले लामो समय जिल्ला कमिटिमा रहँदै सचिवको समेत कूशलतापूर्वक जिम्मेवारी पूरा गरेका थिए ।

यसैगरी सञ्जेल भूगोलबाट उदाएका नेता हुन् । उनी एमाले ललितपुर क्षेत्र नं. १ को पूर्व अध्यक्ष हुन् । सञ्जेल पूर्व बागमती प्रदेश सभा सदस्यसमेत हुन् ।

आचार्य र सञ्जेलबाहेक एमाले ललितपुरका नेता तथा ललितपुर–२४ का पूर्व वडाअध्यक्ष दिनेश कार्कीले अध्यक्षको आकांक्षा प्रकट गरेका छन् । उनी एमाले बागमती प्रदेश किमिटीका पूर्व सदस्य समेत हुन् ।

एमाले केन्द्रले सकेसम्म सर्वसहमतिमा नेतृत्व चयनका लागि जोडबल गरिरहेको छ ।

images
प्रकाशित मिति :चैत्र २१, २०८० बुधवार - २१:३९:२१ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology