ललितपुर । राष्ट्रिय हितका बिषयमा राजनीतिक दलहरू र नेपाली समाज एक ठाउँमा उभिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले बुधबार पाटन हाइस्कुल, पाटनढोकामा आयोजना गरेको ‘सार्वभौमिकताः सीमा पानी' बिषयक छलफल कार्यक्रममा धारणा राख्दै उनीहरुले अन्तर्राष्ट्रिय र संवैधानिक दृष्टिले सार्वभौम भएपनि राजनीतिक अस्थिरताका कारण नेपाली समाज विग्रिएको धारणा राख्दै विगतका कमजोरीलाई आक्षेप लगाएर भन्दा राष्ट्रिय हित र सार्वजनिक सरोकारका बिषयमा साझा सहमति र धारणा बनाएर जानुपर्छ भन्नेमा जोड दिएका हुन् ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय मुद्दामा विभाजित हुने धेरै दलभन्दा दिगो, दरिलो र राष्ट्रिय मुद्दामा केन्द्रीकृत भएर परिपक्व धारणा बनाउन सक्ने नेतृत्वदायी बलियो राजनीतिक दलबाट सार्वभौमिकताको रक्षा हुने बताए । ‘आर्थिक समृद्धिको बिषय जलस्रोत हो। राष्ट्रिय हीतलाई बलियो बनाउन राजनीतिक दलहरु र नेपाली समाज एक ठाउँमा उभिनु पर्छ ।बौद्धिक जगतले राष्ट्रिय धारणा जुटाउन पहल गर्नुपर्छ । जलस्रोतको संरक्षण र उपयोगको बिषयमा राजनीतिक दलहरुको साझा सहमति आवश्यक छ ।' पोखरेलले भने । संसदले सर्वसम्मतिले पारित गरेको नक्सा नेपालको सीमा भएको बताउँदै उनले नेपालको उपयोगमा आउन नसकेको भूमि फिर्ता ल्याउन सबै राजनीतिक दलहरुको साझा धारणा हुनुपर्छ भन्ने धारणा राखे ।

भविष्यमा नेपाललाई समृद्ध बनाउने एउटा महत्त्वपूर्ण आधार जलस्रोत हो भन्दै उनले यसको हकदार नेपाली जनता भएको बताए ।
नेकपा (माओवादी केन्द्र) कि उपाध्यक्ष तथा पूर्वमन्त्री पम्फा भुषालले नेपालको पानीको स्रोतलाई जलविद्युत, सिंचाइमा प्रयोग गरेर पनि देश र जनतालाई समृद्ध बनाउन सकिन्छ भन्दै नेपालको हीतमा हुने गरेर जलविद्युत उत्पादनलाई ध्यान दिनुपर्छ भन्ने धारणा राखे।

जलस्रोत नेपालको सम्पन्नताको स्रोत हो । यहाँको जलस्रोत नेपालको हीतविपरीत प्रयोग हुनुहुँदैन ।नेपालीको आर्थिक स्तर बढ्दै जाँदा विद्युत खपत बढ्दै जान्छ। आर्थिक समृद्धि विना स्वाधीनता र स्वतन्त्रता बलियो हुन सक्दैन, यसका लागि जनतालाई आर्थिक रुपमा सम्पन्न बनाउनुपर्छ ।' भुषालले भने । उनले जापान दक्ष जनशक्तिका कारण विश्व बजारमा विकसित राष्ट्रको रुपमा परिचित भएको हो भन्दै जनशक्ति पलायन नेपालको मुख्य समस्या भएको र यसलाई रोक्न राज्य लाग्नुपर्नेमा जोड दिए । नेपालको सार्वभौमिकताको रक्षका लागि नागरिक पनि देशभक्त हुनुपर्ने उनको भनाई थियो ।
अर्का बक्ता नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चार मन्त्री डाक्टर मिनेन्द्र रिजालले जीवनभर देशप्रति समर्पित व्यक्तित्वमाथि पनि देशभक्तिको प्रश्न उठेको भन्दै राष्ट्रवादको खेती धेरै भएको तर देशभक्तिको भावना भएकाहरु धेरै कम भएको धारणा राखे ।

जनमतबाट सरकारमा पुग्ने अनि विदेशी शक्तिहरुको सहयोग लिएर सीमा,पानी र सार्वभौमिकताको रक्षा गर्न नसकिने भन्दै उनले सस्तो लोकप्रियताका लागि भन्दा पनि देश, जनता र सार्वभौमिकताका लागि ध्यानमा राखेर काम गरिनुपर्नेमा जोड दिए ।
पूर्वमन्त्री तथा पूर्वराजदूत डाक्टर निलाम्बर आचार्यले सरकार कमजोर हुँदा राष्ट्रिय मुद्दाका बिषयमा नेपाललाई समस्या भएको बताउँदै विरोधाभाषपूर्ण कुराका कारण सीमा समस्या कायम रहेको धारणा राखे । उनले आधुनिक प्रविधि मार्फत सीमामा निगरानी बढाउनुपर्नेतीर ध्यानाकर्षण गराउनुहुँदै नदिलाई सीमाको आधार बनाउँदा कतिपय स्थानमन नदिले बहाव बदल्दा सीमा यताउता हुने गरेको बताए ।
'सीमा बिवादका बिषयमा हामीले आफ्नो दावी त्याग्नु हुँदैन । आफ्नो प्रभुसत्तालाई नियन्त्रणमा राखेर काम गर्नुपर्छ, भावी सन्ततिका लागि बाँध्ने गरि प्राकृतिक सम्पदा माथिको अधिकार दिइनु उचित हैन । सीमा समस्याका बारेमा नेताहरूले बोल्न सक्नुपर्छ प्रधानमन्त्रीले यस बिषयमा भन्न सक्नुपर्छ।'आचार्यले भने ।
देश सानो हुँदैमा कमजोर हुने भन्ने हैन भन्नुहुँदै उहाँले दलहरुभन्दा बाहिर रहेका प्रबुद्ध वर्ग र नागरिक समाजलाई पनि राष्ट्रिय हीतमा परिचालन गर्न सकिनेमा जोड दिए ।
कार्यक्रममा सहभागीकातर्फबाट धारणा राख्दै पूर्वमुख्यसचिव लिलामणि पौड्यालले राजनीतिक दलहरुले साझा राष्ट्रिय स्वार्थहरुलाई पहिचान गर्न नसक्दा नेपालीहरु ठगिएको र यसैमा बिदेशी शक्तिले खेल्ने क्रम जारी रहेको बताए । उनले राष्ट्रिय हीतका लागि राजनीतिक दलहरुबीच साझा सहमति आवश्यक रहेको र सीमाका समस्या समाधानका लागि नेतृत्व तहमा नेताहरूले पहल गर्नुपर्नेमा जोड दिए । उनले राष्ट्रिय स्वार्थमा केन्द्रीत भएर काम गर्ने कर्मचारी खेदिने अवस्था रहेको बताउदै उसले पेशाप्रति इमानदार भएर काम गर्न सक्ने अवस्था छैन भन्ने धारणा राखे ।
साहित्यकार तथा अग्रज पत्रकार भैरब रिसालले टंक प्रसाद आचार्य प्रधानमन्त्री हुँदा चुच्चे नक्सा भएको स्मरण गर्दै पछि मात्रै चुच्चे नक्सा विस्थापित भएर बुच्चे नक्सा आएको बताए । उनले अहिले नेताहरुप्रति जनताको विश्वास हराउँदै गएको धारणा राख्दै राजनीतिक नेतृत्वलाई पद र पैसालाई भन्दा राष्ट्रिय हीतलाई ध्यानमा राख्न आग्रह गरे ।