Logo

बुधवार, श्रावण २७ गते २०८३

images

उत्पादन, रोजगारी, सीप र स्वरोजगारलाई अगाडि बढाउनुपर्नेमा एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेलको जोड

उत्पादन, रोजगारी, सीप र स्वरोजगारलाई अगाडि बढाउनुपर्नेमा एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेलको जोड

दैनिकी न्यूज

२४, चैत्र २०८०
उत्पादन, रोजगारी, सीप र स्वरोजगारलाई अगाडि बढाउनुपर्नेमा एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेलको जोड
images

ललितपुर । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले उत्पादन, रोजगारी, सीप र स्वरोजगारलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

ललितपुरको महालक्ष्मी–२ इमाडोलमा शुक्रबार आयोजित एमाले ललितपुर जिल्लाको नवौं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

उनले हिजोको गौरवपूर्ण इतिहास भजाएर मात्रै हुँदैन भन्दै अबको पार्टी नेतृत्वले स्थानीय जनताको समृद्धि हासिलमा जोड दिनुपर्नेमा जोड दिएको हो ।

'अब हिजोको गौरवपूर्ण इतिहास भजाएर मात्रै हुँदैन । अब जनताको समृद्धिको लागि काम नगर्ने हो भने राजनीतिक शुभकामना मात्रै सार्थक हुन सक्दैन, हिजो जेलनेल भोग्नु पर्यो, त्यो वेलाको आवश्यकता थियो, अहिले बिचार बोकेको आधारमा कोही दण्डित हुँदैन, निर्वासित हुँदैन, जेल जानुपर्दैन। अहिले अवस्था बदलिएको छ । अब राजनीतिक अधिकारका कुरा भन्दा पनि समृद्धिको एजेन्डामा एमालेले आफूलाई अगाडि बढाउनुपर्छ, विकास निर्माणको मुद्दामा आगुवाई गर्दै समृद्धि प्राप्तिको लागि अगाडि बढ्नुपर्छ ।' उनले भने ।

उनले नीति र केन्द्रीय नेतृत्वमा विवाद नरहेको बताउदै स्थानीयस्तरबाट पार्टीमा कृतिम विवाद सृजना गरिनुहुँदैन भन्ने धारणा राखेका थिए । जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले विगतको कार्यक्रमको लेखजोखा सहित भविष्यको योजना तय गर्दै योग्य नेतृत्व चयन गर्न आग्रह गरे । बाम एकताको प्रसंग कोट्याउँदै उनले विचार मिल्न सकेन भने बाम एकता मात्रै भनेर हुँदैन भन्दै कम्युनिष्टका नाममा दक्षिणपन्थी शक्तिलाई बल पुर्‍याउने संग एकता हुनै सक्दैन भन्ने बताए । अहिलेको अवस्था, स्थिति र जनताको चाहान अनुसारका योजनाहरु राजनीतिक प्रतिवेदनमा समेट्न आग्रह गगर्दै उनले पार्टी जिल्ला नेतृत्वलाई अधिवेशनमा व्यक्त शुभकामनालाई बुढि आमाले आशिर्वाद दिएजस्तो मात्रै नसम्झेर कार्यान्वयन हुनेगरी लाग्न आग्रह गरे । जनताले पत्याउने योजना बनाउनुपर्छ भन्दै उनले जनताको समस्या समेटिने गरि किटान गरेर अगाडि बढ्न र पार्टीमा प्रवेश गरेकाहरुलाई सम्मानजनक अवस्था कायम गर्न आग्रह गरे ।

स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज गुरु बरालले लोकतन्त्रमा भ्रष्टाचारको संगत हुँदैन भन्दै लोकतन्त्रले विकास र समृद्धि र गतिशीलतालाई अगाडि बढाउनुपर्ने धारणा राखेका थिए । उनले पारदर्शी र समृद्ध ललितपुर बनाउने नेतृत्व चयन हुने विश्वास व्यक्त गरे । बरालले पार्टीलाई मात्रै भन्दा पनि पुरै जिल्लावासीहरुलाई नेतृत्व गर्दै समृद्धिको योजना र संकल्प बोक्न सक्ने नेतृत्व चयन होस् भन्ने शुभकामना व्यक्त गरे । सभ्यता र संस्कृतिको संरक्षण गर्दै ललितपुरले आफ्नो स्थानीय उत्पादनलाई निर्यात गरेर आर्थिक समृद्धिको लागि क्रियाशील हुनुपर्ने बताउदै उनले यहाँको उद्यमशीलता, शिल्पीकला, काष्ठकला लगायतको विकास गरेर आर्थिक समृद्धि हासिल गर्न लाग्नुपर्ने बताए ।

स्थायी कमिटी सदस्य एवम् ललितपुर जिल्ला इन्चार्ज शेरबहादुर तामाङ अधिवेशनले एकताको सन्देश दिने वातावरण तयार होस् भन्ने शुभकामना राख्दै सबल र सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गरे ।

पोलिटव्युरो सदस्य सुशीला नेपालले सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा लागेको पार्टीले अधिवेशन भनेपछि नेतृत्व चयनमा मात्रै अल्मल गर्नुनहुने बताउदै सहमति नभए लोकतान्त्रिक विधिबाट हार्दिकता बढाउँदै सौहार्दपूर्ण बाताबरणमा नेतृत्व चयन हुने विश्वास व्यक्त गरिन् ।

एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंङ्गेलले वर्तमानको विश्लेषण गर्दै समृद्ध भविष्यको सपना साकार पार्न यो अधिवेशन सफल हुने विश्वास व्यक्त गरे ।

images
प्रकाशित मिति :चैत्र २४, २०८० शनिवार - १०:०२:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology