Logo

बुधवार, श्रावण २७ गते २०८३

images

अलपत्र परेका पर्यटकको उद्धारमा सक्रिय पर्यटक प्रहरी

अलपत्र परेका पर्यटकको उद्धारमा सक्रिय पर्यटक प्रहरी

दैनिकी न्यूज

२५, चैत्र २०८०
अलपत्र परेका पर्यटकको उद्धारमा सक्रिय पर्यटक प्रहरी
images
काठमाडौं ।
 
घटनाः १
२०८० मङ्सिर २५ गते काठमाडौं फर्पिङमा एक जना ३३ वर्षीय फिनिस नागरिक बेवारिसे अवस्थामा फेला परे । उनको मानसिक अवस्था पनि ठिक नभएको थाहा हुन आयो । उनलाई पर्यटक प्रहरीले तत्काल उद्दार गर्‍यो । रिप्पा सिद्धि योग संगठन डल्लु फर्पिङसँगको समन्वयमा उनलाई सोही संगठनको गुम्बामा राखियो । ती फिनिस नागरिक  मङ्सिर २९ गते गुम्बाबाट भागेको खबर प्राप्त भयो । तत्काल खटिएको पर्यटक प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं ठमेलमा फेला पारी उद्दार गर्‍यो । उनलाई आवश्यक प्रक्रिया पूरा गरी नेपालस्थित फिनल्याण्ड दूतावास र ती विदेशी नागरिककी आमासँगको समन्वयमा एअर इन्डियाको उडानद्वारा स्वदेश फिर्ता पठाइयो ।
 
घटनाः २
२०८० चैत १४ गते बेलायती नागरिक ६५ वर्षीया टेरे जुवानिता बटलर भिषा नवीकरण नगरी गैह्रकानुनी रुपमा नेपालमा बसिरहेको अवस्थामा पर्यटक प्रहरीले काठमाडौं बौद्धमा फेला पार्‍यो । उनको सन् २०२२ अक्टोबर २७ मा भिसा समाप्त भइसकेको रहेछ । उनी भिसा नवीकरण नगरी गैह्रकानुनी रुपमा नेपालमा बस्दै आइरहेको पुष्टि भयो । उनलाई पर्यटक प्रहरीले आवश्यक कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौंमा बुझायो । 
 
यी दुई विदेशी नागरिकको घटना प्रतिनिधि घटना मात्र हुन् । यसरी अलपत्रमा परेका तथा बिरामी भएका १२ जना विदेशी नागरिकलाई चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा पर्यटक प्रहरीले उद्दार गरी स्वदेश फिर्ता पठाएको छ । यसै गरी सो अवधिमा गैह्रकानुनी रुपमा नेपालमा बसेका ८ जना विदेशी नागरिकलाई आवश्यक कारबाहीका लागि पर्यटक प्रहरीले अध्यागमन विभाग बुझाएको छ । 
 
नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकहरूको सेवा, सुरक्षा एवं आवश्यक सूचनाहरू उपलब्ध गराउने उदेश्य सहित विसं २०३५ माघ १२ गते पर्यटक प्रहरीको स्थापना भएको हो । नेपाल प्रहरीको विशेष इकाईको रुपमा रहेको पर्यटक प्रहरी हाल काठमाडौं उपत्यकाको १० ठाउँमा र उपत्यका बाहिर १२ जिल्लाका १९ ठाउँमा विस्तार भई काम गर्दै आएको छ ।
 
पर्यटक प्रहरीको सेवा विस्तार र भावी रणनीतिका सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले भने, “पर्यटक प्रहरीले गरेको कामको देश विदेशमा समेत प्रशंसा भइरहेको छ । पर्यटकसँग सम्बन्धित मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्म सम्पूर्ण अनुसन्धान गर्न सक्ने पर्यटक प्रहरी कार्यालयको रुपमा विकसित गर्दै लैजाने नेपाल प्रहरीको नीति छ । प्रमुख पर्यटकीय स्थलको पहिचान र अपराधको विश्‍लेषण गरी प्राथमिकता अनुसार क्रमशस् पर्यटक प्रहरीको स्थापना गर्नका लागि आवश्यक प्रकृया अगाडि बढाइने नीति छ । भौतिक संरचना व्यवस्थापन, समयानुकूल प्रविधिमैत्री सेवा, दोहोरो वार्तालापका लागि भाषागत व्यवस्था र तुरुन्त परिचालनका लागि थप सवारी साधनको व्यवस्था गर्न प्रहरी संगठन लागीपरेको छ ।”
 
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पर्यटकसँग सम्बन्धित ३७० वटा उजूरीहरु परेका छन् । ती मध्ये सामग्री हराएका २७३ वटा, चोरीका ४९ वटा, ठगी गरेका ११ वटा, लुटपाट ५ वटा, अभद्र व्यवहार १७ वटा, आक्रमणका २ वटा, दुर्घटनाका २ वटा, धाकधम्की १ वटा, मानिस हराएको ४ वटा, दुर्व्यवहार १ वटा र अपहरणका १ वटा रहेका छन् । आर्थिक वर्ष २०७७–०७८ मा ७९ वटा, आर्थिक वर्ष २०७८–०७९ मा १८० वटा र आर्थिक वर्ष २०७९–०८० मा ५३२ उजूरी परेका थिए । यी आर्थिक वर्षको तथ्याङ्क विश्‍लेषण गर्दा डकुमेन्ट र सामग्री हराएको संख्या सबैभन्दा बढी देखिन्छ । 
पर्यटक प्रहरीले पर्यटकहरूलाई पर्न आएका समस्या, दुस्ख, पिरमर्का, हैरानी तथा गुनासाहरू समयमै समाधान गर्ने गर्दछ । पर्यटकको नेपाल बसाइँ सुरक्षित तथा भयरहित रहेको अनुभूति दिलाउन र पर्यटन विकासमा टेवा पुर्‍याउन पर्यटक प्रहरी सक्रिय छ । पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले भने, “पर्यटकलाई आवश्यक सूचना प्रदान गर्ने, पर्यटकीय क्षेत्रमा नियमित गस्ती गर्ने, पर्यटकलाई आवश्यक सहयोग गर्ने र पर्यटन क्षेत्रमा अभद्र व्यवहार, अश्‍लिल तथा अवाञ्क्षित क्रियाकलाप गर्नेलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सम्बन्धित कार्यालयमा पठाउने गरिएको छ । घटना, दुर्घटना, प्रकोप एवं पर्वतीय तथा सहासिक पर्यटनका क्रममा स्वास्थ्य लगायत अन्य कारणले अलपत्र परेका पर्यटकहरुको खोज तथा उद्दार गरी सम्बन्धित निकाय, दूतावास वा आफन्तसँग सम्पर्क गर्नेरगराउने र पर्यटन क्षेत्रमा आईपर्ने हरेक कार्य सक्रिय भई सम्पन्न गर्दै आएका   छौं ।”
 
विरानो देशमा आउँदा अचानक आइपर्ने यस्ता समस्या र गुनासोहरू पर्यटक प्रहरीबाट तत्काल सुनुवाई भई समाधान हुने गरेको छ । यस्ता समस्या भएमा हटलाइन नम्बर ११४४ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । पर्यटक प्रहरीको छिटोछरितो, आत्मिय र सुरक्षित सेवाबाट पर्यटकहरू खुसी हुने गरेका छन् । कामको सिलसिलामा आइपर्ने चुनौती सामना गर्न पर्यटकको भरपर्दो अभिलेखीकरण गरी तत्काल समस्याको सम्बोधन गर्न सक्ने संयन्त्रको विकास गर्नुपर्ने देखिन्छ । प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकालले भने, “नेपालबारे अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश जाने गरी काम गर्न पर्यटक प्रहरी सक्रिय छ । यसका लागि पर्यटक प्रहरीलाई आवश्यक तालिम दिने गरिएको  छ । सम्पूर्ण पर्यटक प्रहरी कार्यालयहरूको स्थापनाको औचित्य पुष्टि, पहिचान, स्तरोन्नति र व्यवस्थित गर्ने काम भइरहेको छ ।” पर्यटन सम्बद्ध सरोकारवालाहरूसँग समन्वय गरी नेपाल प्रहरीले उत्कृष्ट नतिजा दिने गरी काम गरिरहेको उनको भनाइ छ ।

images
प्रकाशित मिति :चैत्र २५, २०८० आइतवार - १८:३०:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology