Logo

बुधवार, श्रावण २७ गते २०८३

images

उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग हुने अवस्था सृजना गर्नुपर्छ – मन्त्री बस्नेत

उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग हुने अवस्था सृजना गर्नुपर्छ – मन्त्री बस्नेत

दैनिकी न्यूज

२६, चैत्र २०८०
उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग हुने अवस्था सृजना गर्नुपर्छ – मन्त्री बस्नेत
images

ललितपुर । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग हुने अवस्था सृजना गर्नुपर्छ भन्ने धारणा राखेका छन् । ‘समृद्ध नेपालको आधार, कृषियोग्य जमिनमा पूर्ण सिंचाईको बिस्तारू भन्ने नारासहित मनाइएको सिंचाइ दिवस एवम् ७१ ओै बार्षिकोत्सव कार्यक्रममा मन्तव्य राख्दै मन्त्री बस्नेतले परिस्थितिमा आउने परिवर्तनसँगै सोच र सन्दर्भ परिवर्तन भई समय सापेक्ष र परिस्थिति अनुकुल परियोजना तथा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

'विकास र सामाजिक न्याय, आर्थिक विकासको कुरा गरिरहेका छौं । यसलाई योजना कार्यान्वयनमा कसरी प्रतिविम्बित गरिरहेका छौ भन्ने कुरा बिचारणीय छ ।अहिले आवश्यकता अनुसार दुईचार खर्व आवश्यक छ, यति धैरै बजेट छुट्टाउन सामाजिक न्याय र आर्थिक दृष्टिले अहिले हामीलाई अत्यन्तै कठिन हुन्छ । बजेट, जनशक्ति र कार्यक्रममा तालमेल नमिल्दा उपलब्धि हासिल हुन सकेको छैन । सिँचाइ क्षेत्रमा बजेट पुगेको छैन, तर छुट्टयाइएको बजेट पनि त सही ठाउँमा उपयोग हुन सकेको छैन ।कार्यक्रम एक ठाउँमा र बजेटको लक्ष्य अर्को ठाउँमा भयो भने उपलब्धि हासिल हुन सक्दैन ।' मन्त्री बस्नेतले भने ।

विकासको गतिशील प्रक्रियालाई ग्रहण गर्दै जाने क्षमता चाहिने भन्नुहुँदै उहाँले नीति,योजना, कार्यक्रम तय गर्दा एकीकृत विकासको सोचबाट अगाडि बढ्नुपर्ने र अन्तरसम्बन्ध भएका सबै कानून निर्माण गरी परिणाम निस्कने गरी परियोजना सञ्चालन गर्न लाग्नु पर्ने बताए । हरेक क्षेत्रका लागि एकआपसमा बाँझिने फरक फरक कानून बनाउनु समय र समन्वयका आधारमा एउटै कानून बनाउनु ठीक हुन्छ भन्नुहुँदै उहाँले जलस्रोत तथा सिँचाइ गुरुयोजना तयार पारेर सोही अनुसार लक्ष्य हासिल गर्न लाग्नुपर्ने बताए ।

लोकसेवा आयोगका सदस्य माधव वेलवासेले खाद्य सुरक्षा अत्यन्तै गम्भीर विषय भएको भन्दै यसका लागि सिँचाइको भूमिका धेरै महत्त्वपूर्ण भएको बताए । 'हाम्रा धेरै जमिनहरु बाँझो अवस्थामा छन् । आयोजना उद्घाटन गरेर आनन्द मानेर बस्न सक्ने अवस्था छैन ।सिँचाइमा लागतको व्यवस्थापनका लागि समयमै सम्पन्न हुने अवस्था कायम गरिनुपर्ने छ। ठूला आयोजनामा ध्यान दिनुपर्नेछ।' उनले भने ।

आयोजना कार्यान्वयन गर्दा विभागले समयमै सम्पन्न गर्नका लागि प्रत्यक्ष निगरानी गर्नुपर्ने तीर ध्यानाकर्षण गराउदै उनले प्रशासन र प्रविधिकको जनशक्तिलाई फरक ढंगले हेर्दै आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर कुसेन्द्र बहादुर महतले कृषि सरकारको सबैभन्दा महत्त्वपूर्ण क्षेत्र हो भन्दै यसका लागि सिँचाइका व्यवस्थापन आवश्यक रहेको बताए । उनले साधन र स्रोतको सीमितताका बाबजुद पनि १६ ओैं पञ्चवर्षीय योजनामा नेपालको जलस्रोत र सिँचाइ सम्बन्धी योजनाहरुलाई महत्त्वका साथ समेटिनुपर्ने बताए। उनले अहिले निर्दिष्ट गरिएको साधन र स्रोतलाई सतप्रतिशत खर्च हुने वातावरण बनाउन लाग्नुपर्ने चुनौती रहेको धारणा राखे । उनले उत्पादकत्व वृद्धि गर्न किसानलाई तत्कालै लाभ हासिल गर्न सक्ने नवप्रवर्तनीय सोचहरुको बिकास गरिनुपर्नेमा जोड दिए। नीतिगत समस्या छन् भने राष्ट्रिय योजना आयोगले सहज बनाउने नीति लिएको छ भन्दै उनले नागरिकले आशा गरेका सफल हुने आयोजना छन् भने हामी छलफल गर्न सक्छौं भन्ने बताए ।

मन्त्रालयका सचिव सुशील चन्द्र तिवारीले उत्पादकत्व बृद्धिका लागि उपलब्ध जलस्रोतको भरपूर उपयोग गर्दै लक्ष्य हासिल गर्नुपर्ने बताए । उनले पूर्वाधार विकासलाई पहिलो प्राथमिकता राख्दै सेवा दिंदै कृषि उत्पादन बनाउन प्रभावकारी ढंगले लाग्नुपर्ने, विद्युत उर्जाको उपयोग गर्दै सिचाइ क्षमतालाई वृद्धि गरेर उत्पादन बढाउन क्रियाशील हुनुपर्नेमा जोड दिए । उर्जा उपयोगका लागि अनुदान दिने नीति बनाउँदै राष्ट्रिय उत्पादन बढाउन र रोजगारी सृजना गर्न लाग्नुपर्नेमा उनले जोड दिए ।

जल तथा उर्जा आयोगका सचिव केशव प्रसाद शर्माले खेती योग्य जमिनको संरक्षणका लागि राष्ट्रिय वहस चलाइनुपर्ने र मागमा आधारित सिंचाइ योजनालाई जोड दिनुपर्ने बताए । उनले सिंचाइ क्षेत्रमा भएका विज्ञहरुको क्षमता र विज्ञतालाई प्रयोग गरेर उत्पादन र रोजगारीसंग जोड्नुपर्छ भने । सिंचाइ विश्वव्यापी सरोकारको बिषय हो भन्नुहुँदै उनले यसलाई खाद्य सुरक्षासंग जोडेर व्याकता दिनुपर्ने बताए ।

मन्त्रालयका सरिता दवाडीले सिंचाइ नीतिलाई कार्यान्वयनका लागि ऐन नै बनाएर जानुपर्ने आवश्यकता रहेको बताए । उनले तराईका क्षेत्रमा भूमिगत सिंचाइ आयोजना गर्न सके भरपर्दो बनाउन सकिने र सिंचाइलाई खाद्य सुरक्षासंग जोडेर अगाडि बढ्नुपर्ने बताए । उनले सिंचाइ विभागको कानुनी पुनसंरचना र कार्यालयहरुको संरचना परिवर्तन गर्ने तयारीमा रहेको बताए ।

वि.सं. २००९ सालमा नहर विभागको रुपमा स्थापित विभागद्वारा आयोजित सिंचाइ दिवस एवम् ७१ ओै बार्षिकोत्सवको अवसरमा रानीजमारा कुलरिया सिंचाइ आयोजना टिकापुर कैलाली, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र बृहत् दाङ उपत्यका सिंचाइ आयोजना दाङलाई उत्कृष्ट सिंचाइ आयोजनाका रुपमा सम्मान गरिएको छ । कार्यक्रममा यस बर्ष अवकाशप्राप्त कर्मचारीलाई समेत सम्मान गरिएको छ ।

images
प्रकाशित मिति :चैत्र २६, २०८० सोमवार - ०७:४५:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology