ललितपुर । नेकपा (माओवादी केन्द्र) सँग एकताको पक्षमा रहेका नेपाल समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरूले क्रान्तिकारी शक्तिहरु एकजुट भएर शक्ति आर्जन गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको बागमती प्रदेश र गैरभौगोलिक प्रदेश समितिको आयोजनामा शनिबार ललितपुरमा भएको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा धारणा राख्ने नेता, कार्यकर्ता तथा जिल्लाका प्रतिनिधिहरुले नेपाली जनताको माग, भावना र चाहना अनुसार रुपान्तरण र परिवर्तनका लागि देशका बामपन्थीहरुलाई एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संघीयता, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता आधारशिला भएको बताउदै यसको रक्षाका लागि यो देशका बामपन्थीहरुलाई एक ठाउँमा ल्याउनुपर्छ भन्ने धारणा राखे । ‘मधेश आन्दोलन र जनयुद्धको माग पूरा गर्नका लागि नै माओवादीसंग एकता आवश्यक रहेको छ । हाम्रो नजिकैको मित्र शक्ति भनेको नेकपा माओवादी नै हो, गत निर्वाचनमा माओवादी र हाम्रो पार्टी एकता भएर नेकपा समाजवादी हुने सर्तमा चुनाव चिन्ह लिएर चुनाव लडेको हो । नेपालका सबै बामपन्थी एक ठाउँमा आउन सकेन भने इन्डियामा जसरी कम्युनिष्ट पार्टी समाप्त हुन्छ । त्यसैले अहिलेको सरकार कम्युनिष्ट ध्रुवीकरणको लागि हो । अब हामीले अधुरो काम पूरा गर्न लाग्नुपर्छ ।' अध्यक्ष यादवले भने ।
उनले पार्टी एकताको माध्यमबाट जनताको पक्षमा काम गर्ने शक्ति प्राप्त हुने बताउदै ध्रुवीकरण भएर मात्रै जनताको अपेक्षा सम्बोधन गर्ने पार्टीको रुपमा स्थापित हुन सकिने बताए । उनले विभिन्न आन्दोलनबाट स्थापित नेता तथा कार्यकर्तालाई समेट्दै एकताको अभियानमा लाग्ने सबैलाई जोड्ने अभियान रहेको बताए ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री तथा नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले क्रान्तिकारी शक्तिहरु एकजुट भएर शक्ति आर्जन गर्नुपर्छ भनेर लागि परेका छौं भन्दै पश्चगामी शक्तिहरुको अराजक गतिविधिहरुलाई रोक्नका साथै धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको संरक्षणका लागि अहिले ध्रुवीकरण हुनु आवश्यक रहेको बताए ।
'संविधानसभाबाट संविधान घोषणा पछि व्यवस्था परिवर्तनको एउटा कोर्ष पूरा भएको हो, तर त्यसपछि त्यही परिवर्तनको आधारमा समाजतीर जान नसकेपछि हामी छुट्टिनुपरेको हो, यो बिचमा हाम्रो प्रयोगले पार्टी र परिवर्तनकारी शक्तिहरु सफल हुन सकेन, तसर्थ हिजोको जनयुद्धको लिगेसी बोकेकाहरु विगतको गल्तीको समीक्षा गर्दै रुपान्तरण सहितको एकता गर्नुपर्छ ।' श्रेष्ठले भने ।
उनले आफूहरू पदका लागि माओवादीमा विलय हुन खोजेका हैनौं भन्दै शान्ति प्रक्रियाका सबै प्रक्रिया पूरा गर्दै सशक्त राजनीति शक्तिको रुपमा स्थापित हुँदै जनताप्रति जवाफदेही बन्न चाहेका बताए । उनले पार्टी एकता गर्न चाहेको र व्यक्तिव्यक्तिका लागि पदको रुपमा माओवादीमा विलय हुन लागेका हैनौं भन्ने प्रष्ट पारे । उनले पार्टी एकता गर्दा युवा मनोविज्ञानको पनि सम्बोधन गर्दै कम्युनिष्ट आन्दोलनको समय सापेक्ष व्याख्या गरेर बैचारिक रुपमा बलियो धरातल स्थापित गर्दै अगाडि बढ्ने बताए । अहिलेको पहिलो काम भनेको प्राप्त उपलब्धिको रक्षा गर्दै समृद्धिको दिशामा अगाडि बढ्नु रहेको श्रेष्ठको भनाइ थियो।
पार्टी एकता कार्यदलका सदस्य तथा पार्टीका महासचिव रमेश यादवले नयाँ शक्तिको नारा र मधेश विद्रोहबाट उदाएको शक्तिलाई एकताबद्ध बनाएर समृद्धिको दिशामा कसरी अगाडि बढ्ने भन्ने चिन्ता रहेको बताए । उनले जनविद्रोहबाट यहाँसम्म आइपुग्दा एउटा नेतालाई मात्रै स्थापित गर्ने उद्देश्य नरहेको भन्दै एउटा राजनीतिक स्वार्थका लागि राजनीतिक पसल मात्रै खोलेको हैन, जनताको गाँस, बास र कपासको चिन्ताले स्थापित हुन खोजेको बताए । उनले राजनीतिक शक्तिहरुको रुपान्तरणका लागि ओैचित्यपूर्ण एकता आवश्यक रहेको बताउनुभयो । पश्चिमी शक्तिको उदय हुँदै गरेको अवस्थामा रहेकोले यसले परिवर्तनकारी शक्ति र वर्तमान व्यवस्थामा खतरा देखापरेको उनको भनाइ थियो ।
कार्यक्रममा मकवानपुरका प्रतिनिधि राजकुमार भेटवाल, ललितपुरका प्रतिनिधि शंकर अधिकारी, काठमाडौंका प्रतिनिधि सुरेश खड्गी, भक्तपुरकी प्रतिनिधि ललिता श्रेष्ठ, काभ्रेकाका उपाध्यक्ष राजिव लामा, ललितपुरका प्रतिनिधि राजु महर्जनलगायत बागमती प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधिहरुले समृद्धि हाम्रै पालामा भन्ने भनाईलाई सार्थक बनाउन विगतमा परिवर्तनका लागि राजनीतिक मोर्चामा क्रियाशील शक्तिहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने, विचार, राजनीति र दृष्टिकोणलाई सार्थक बनाउँदै निराशालाई उत्साहमा बदल्न भाषणभन्दा काम गर्नुपर्ने अवस्थामा ध्रुवीकरण भएर राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि लाग्नुपर्ने बताए । उनीहरूले नयाँ शक्तिका नाममा खराव नियत भएका व्यक्तिहरु दावी हुँदा राजनीतिक व्यवस्था, संविधानको मूल मर्म र गणतन्त्रमाथि संकट देखा परेको बताउँदै बामपन्थी शक्तिहरुबीचको एकताका माध्यमबाट उपलब्धि हासिल गर्न लाग्नुपर्ने बताए । राजनीतिक कार्यकर्ताहरुले सामाजिक गतिविधिमा क्रियाशील भएर सहिष्णुता, सद्भाव कायम गर्दै राजनीतिक लक्ष्य र उपलब्धि हासिलका लागि स्पष्ट लक्ष्यसहित लाग्नुपर्ने, पद प्राप्तिका लागि मात्रै राजनीतिमा लाग्नु नहुनेमा उनीहरुको जोड थियो।