ललितपुर । ललितपुरको महाङ्काल गाउँपालिकामा जारी प्रथम प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगितामा दोस्रो दिन लिग चरणको खेल जारी रहेको छ । शनिबारदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिन आज लिग चरणको २० वटा खेल हुने भलिबल संघका उपाध्यक्ष तथा प्रशिक्षक श्रीराम बोगटीले जानकारी गराउनुभयो ।
‘हिजो शनिबार लिग चरणका चार वटा खेलहरु सम्पन्न भए । आज २० वटा खेलहरु हुनेछन् । भोली सोमबार क्वाटरफाइनल र सेमी फाइनल चरणका खेलहरु हुनेछन्, अन्तिम दिन मंगलबार फाइनल चरणको खेल सम्पन्न हुनेछ।ू बोगटीले भने ।
आज बिहानबाट सुरु भएको खेलमा मकवानपुरको बागमती गाउँपालिका, सिन्धुपाल्चोकको जुगल गाउँपालिका, काठमाडौंको गोकर्णेश्वर र तारकेश्वर नगरपालिका विजयी भएका छन ।
आजको खेलमा बागमतीले पनौती नगरपालिकालाई, जुगल गाउँपालिकाले खानीखोला गाउँपालिकालाई, गोकर्णेश्वरले लिखु गाउँपालिकालाई र तारकेश्वरले खाँडदेवी गाउँपालिकालाई पराजित गरेको हो ।
पहिलो दिन शनिबार भएको लिग चरणको खेलमा हेटौंडा उपमहानगरपालिका, माडी नगरपालिका, खाँडदेबी गाउँपालिका र ग्यामलेख गाउँपालिका बिजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा हेटौंडाले आयोजक महाङ्काल गाउँपालिकालाई २५–२०, १८–२५ र १५–८ को सेटमा हराउँदै विजयी हो।
त्यस्तै, लिग चरणको दोस्रो खेलमा माडीले बेथानचोक गाउँपालिकालाई २५–२१, २३–२५ र १६–१४ को सेटमा पराजित गर्न सफल भयो । तेस्रो खेलमा खाँडदेवी गाउँपालिकाले पनौती नगरपालिकालाई २५–२३, १५–२५ र १६–१४ ले पराजित गर्न सफल भयो। शनिबारको चौंथो तथा अन्तिम खेलमा घ्यालेख गाउँपालिकाले भरतपुर महानगरपालिकालाई २५–२३ र २७–२५ को सोझो सेटमा हराउँदै प्रतियोगितामा जीत हासिल गरेको छ ।
प्रधानमन्त्री दाहालका छोरी ज्ञानु दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिता २५ वैशाखसम्म हुनेछ।
प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको छ। विजेताले ३ लाख, उपविजेताले २ तथा तेस्रो हुने टोलीलाई १ लाख रुपैयाँ प्रदान गरिने छ । साथै विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार रहेको छ । प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रुपैयाँ रहेको छ ।
प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाङ्काल माविको प्राङ्गणमा जारी छ । प्रतियोगिता लिग कम नकआउटको आधारमा भइरहेको छ । सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ।