Logo

बुधवार, श्रावण २७ गते २०८३

images

पर्यटन प्रवर्द्धन मार्फत समृद्धि हासिल गर्न लाग्नुपर्ने – सभामुख घिमिरे

पर्यटन प्रवर्द्धन मार्फत समृद्धि हासिल गर्न लाग्नुपर्ने – सभामुख घिमिरे

दैनिकी न्यूज

३०, बैशाख २०८१
पर्यटन प्रवर्द्धन मार्फत समृद्धि हासिल गर्न लाग्नुपर्ने – सभामुख घिमिरे
images

ललितपुर । सङ्घीय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक परिवर्तनको आन्दोलन सम्पन्न भएको बताउँदै हाम्रो सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन मार्फत समृद्धि हासिल गर्न लाग्नुपर्ने बताएका छन् ।
शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.१० को नवनिर्मित वडा कार्यालय भवन उद्घाटनका लागि आयोजित समारोहमा मन्तव्य राख्दै सभामुख घिमिरेले जनप्रतिनिधि र राजनीतिक दलमा इच्छाशक्ति भयो भने हरक्षेत्रको विकास सम्भव हुने भन्दै स्थानीय तहको विकास र आकर्षणका लागि जनप्रतिनिधि र राजनीतिक दलहरूले योजना बनाएर लाग्नुपर्ने बताएका हुन् ।

f27adc69-cf7e-4b74-a08f-0ea5bbc19b54.jpeg

'समृद्धिको आधार पर्यटन हो, हिजो सबैभन्दा अपहेलनामा रहेको ठाउँ अहिले आकर्षक बन्नेक्रममा छ, यहाँ गणेशमान पार्क र मनमोहन पार्क बनेका छन्, भएका कुराहरुको संरक्षण गर्दै नभएका कुराहरुको विकास गर्न सकियो भने राजधानी नजिकै रहेको सुन्दर र रमणीय ठाउँ आकर्षणको केन्द्र बन्न सक्छ गर्मीमा यो चिसो ठाउँमा आएर सुन्दरताको उपभोग गर्न मान्छेहरु लालायित हुन्छन् । यी कुराहरूबाट हामीले समृद्धि हासिल गर्ने काम गर्न सकिन्छ ।' सभामुख घिमिरेले भने ।
उनले उद्घाटन भएको भवनबाट जनताको दैनिक सेवासुविधालाई सहज बनाउन गुणात्मक उपलब्धि हासिल होस् भन्ने कामना गरे । उनले स्थानीय जनताको प्रयत्न र लगनशीलताले मात्रै समृद्धि हासिल हुने बताउँदै आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सभामुख घिमिरेले वडा कार्यालयको भवन निर्माणले जनतालाई छिटो र सहज रुपमा सेवा प्रदान गर्ने संघीयताको प्रभावकारिताका लागि सहयोग पुर्‍याएको बताए ।

7caef059-c917-4a9c-9906-75eb2dffa3fd.jpeg
प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले ग्वार्कोदेखि पनौतीसम्म पुग्ने यहाँको सडकलाई स्तरोन्नति गरेर सहज बनाउने कार्यमा लाग्ने र यहाँको पर्यटन विकासमा क्रियाशील रहने बताए । उनले नगरकोट र धुलिखेल जस्तै पर्यटकीय क्षेत्र बनाउनका लागि संघीय सांसदका रुपमा लागिपर्ने बताए । उनले स्थानीय उत्पादनलाई बजारीकरण गरेर समृद्धि हासिल गर्न लाग्न आग्रह गर्दै त्यसका लागि आफूले सक्ने ठाउँबाट सहयोग पुर्‍याउने बताए । महालक्ष्मी क्षेत्रको ओैद्योगिक, सांस्कृतिक र पर्यटकीय विकासमा सबैले हातेमालो गरेर लाग्नुपर्नेमा उनको जोड थियो ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले पहिलो कार्यकालमा आफू नगरप्रमुख हुँदा स्वच्छ, सफा, समृद्ध र सुन्दर नगरपालिका बनाउने कार्ययोजना तय गरेको बताउनुहुँदै समयमै निर्माण सम्पन्न गरेकोमा निर्माण व्यवसायीलाई धन्यवाद व्यक्त गरे । उनले आफ्नो कार्यकालमा ६८ वटा ऐन, कानून बनाएको जानकारी गराउँदै विभिन्न प्राविधिक कारणले नगरपालिका भवन निर्माण हुन नसकेको बताए । उनले प्रदेश तहबाट हरेक किसिमले महालक्ष्मी नगरपालिकाको समृद्धिका लागि क्रियाशील रहने बताए । आफू मन्त्री र सांसद पदमा रहेसम्म पारदर्शिता, सुशासनलाई अवलम्बन गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै उहाँले बागमती प्रदेशका अतिविपन्न नागरिक, लोपोन्मुख जाति, आश्रित व्यक्तिहरु, महिला स्वयंसेविकाहरु र अपाङ्गता भएका व्यक्तिहरुको विमा रकम मन्त्रालयले तिरिदिने व्यवस्था गरेको बताए । उनले उत्पादनसँग जोडिने युवा समूहका मानिसहरुको आत्महत्या रोकथामका लागि स्थानीय तह र स्वास्थ्य संस्थाहरुसंग समन्वय गरी काम गर्ने गरी आगामी बर्षको प्रदेश मन्त्रालयको बजेट आउने जानकारी गराए । उनले पूर्वाधार विकासका साथै मानवीय विकासका लागि स्वास्थ्य , शिक्षा र रोजगारको क्षेत्रमा स्थानीय सरकारलाई सवलीकरण गर्न प्रदेश तहबाट लागिपर्ने बताए ।

9f38a11c-fb94-4667-b357-efe18df52898.jpeg
महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोबिन्द महर्जनले वडा नं. १० लाई महत्त्व दिएर बजेट व्यवस्थापन गरिरहेको बताए । उनले यस क्षेत्रको तामाङ समुदायको आर्थिकसामाजिक विकास, पर्यटन पूर्वाधार विकासको लागि काम गरिरहेको बताए । उनले यस ठाउँको विकासको लागि २० रोपनीको क्षेत्रमा फुटबल ग्राउन्ड बनाउने तयारी रहेको समेत जानकारी गराए । श्रेष्ठले लाँकुरी भञ्ज्याङलाई पर्यटकीय क्षेत्र बनाउनका लागि गुरुयोजना तयार गरिरहेको बताए ।

उपप्रमुख लक्ष्मी महर्जनले स्थानीयहरुको बाक्लो बस्ती भएको स्थानमा सिलान्यास भएको वडा कार्यालय भवन निर्माण एक बर्षमा नै सम्पन्न भएको बताइन्। उनले समृद्ध र सुशासनयुक्त महालक्ष्मी नगर निर्माण गर्नका लागि अरु वडाका कार्यालय भवन पनि छिटोभन्दा छिटो निर्माण सम्पन्न गरी नगरपालिकाको प्रशासकीय भवन निर्माण गर्ने बताइन् । नगरपालिकाको आन्तरिक आर्थिक स्रोत कम भएको बताउँदै यहाँको सबै वडाको समानुपातिक विकासका लागि केन्द्रीय तहबाट बजेटका लागि पहल गरिदिनुहुन सभामुखलाई आग्रह गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले यस वडा कार्यालय भवन निर्माणका लागि २ करोड २४ लाख ७४ हजार ३ सय ५ रुपैयाँ लागत अनुमान गरिएकोमा निर्माणको क्रममा लागत केही लागत बढ्न गई २ करोड ७४ लाख ९ सय ६१ रुपैयाँमा निर्माण सम्पन्नभएको बताए ।
वडा नं. १० का अध्यक्ष बिजय लामाले वडाको केन्द्रबिन्दुमा रहेको ठाउँमा निर्मित भवनबाट जनतालाई प्रत्यक्ष सेवा प्रदान गर्नुपर्ने सेवाहरु तथा सम्पादन गर्नुपर्ने सरकारी कामहरु गर्न सहजता हुने बताए । उनले सेवाग्राहीको पहुँचको लागि सडकको स्तरोन्नति गर्न प्रयत्नशील रहने बताउँदै सीमित स्रोत र साधनको बावजुत स्थानीय नागरिकलाई सन्तुष्ट पार्ने गरी सेवा र सुविधा प्रदान गर्ने बताए। ४ सय ५० घरधुरीहरु रहेको यस वडामा २ हजार पाँच सयको हाराहारीमा जनसंख्या रहेको उनले जानकारी गराए ।

images
प्रकाशित मिति :बैशाख ३०, २०८१ आइतवार - ०७:२६:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology