Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पशुपतिनाथको भेटी चोरी प्रकरणमा पाँच कर्मचारी पुर्पक्षका लागि थुनामा

पशुपतिनाथको भेटी चोरी प्रकरणमा पाँच कर्मचारी पुर्पक्षका लागि थुनामा

दैनिकी न्यूज

६, आषाढ २०८१
पशुपतिनाथको भेटी चोरी प्रकरणमा पाँच कर्मचारी पुर्पक्षका लागि थुनामा
images

काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँचजनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार थुनछेक बहसपछि पाँचजनालाई थुनामा पठाउने र एकजनालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायबसुब्बा रहेका ५१ वर्षीय नवराज ढोडारी, ब्राह्मण पदमा कार्यरत काठमाडौं-६ बस्ने ३६ वर्षीय नवराज घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ बस्ने ३४ वर्षका अनिल परियार, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ बस्ने ३५ वर्षका कुमार दमाई परियार र भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. १२ का २९ वर्षीय सञ्जय कपालीलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । परियारद्वय र कपाली कोषका बाजा बजाउने कर्मचारी हुन्।

यस्तै काठमाडौं महानगर वडा नं. ८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। जेठ ७ गते भेटी चोरी गरेको देखिएपछि पक्राउ परेका सबै अभियुक्तविरुद्ध डाँका–चोरी मुद्दा दर्ता गरिएको छ।

images
प्रकाशित मिति :आषाढ ६, २०८१ बिहिवार - ०८:१४:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology