Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

घरेलु श्रमिकहरूलाई पञ्जिकरणसँगै सामाजिक सुरक्षा कोषमा जोड्न माग

घरेलु श्रमिकहरूलाई पञ्जिकरणसँगै सामाजिक सुरक्षा कोषमा जोड्न माग

दैनिकी न्यूज

९, श्रावण २०८१
घरेलु श्रमिकहरूलाई पञ्जिकरणसँगै सामाजिक सुरक्षा कोषमा जोड्न माग
images

ललितपुर । घरेलु श्रमिकका हकअधिकार सुनिश्चितताका लागि उनीहरूलाई स्थानीय निकायमा पञ्जिकरणसँगै सामाजिक सुरक्षा कोषमा जोड्न आव्हान गर्दै निती संवाद गरिएको छ । बालबालिका, किशोरकिशोरी तथा युवाका विभिन्न सवालमा एक दशकदेखि कार्यरत संस्था युवालयले अक्सफामसँगको साझेदारीमा निति संवाद आयोजना गरेको हो ।

नीति संवाद कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मी, बुढानीलकण्ठ नगरपालिकाको श्रम समन्वय समितिका सदस्य सचिव वासुदेव मल्ल प्रमुख वक्ताका रुपमा सहभागी रहेका थिए भने महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका ललितपुर महानगरपालिकाका निर्वाचित प्रतिनिधि र कर्मचारीहरूसँगै घरेलु श्रमिक अधिकारका सवालमा कार्यरत ट्रेड युनियन प्रतिनिधि, नेटवर्क सदस्यहरू, सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले निती संवादमा अन्तरक्रिया गरेका थिए।

कार्यक्रममा बोल्दै बुढानीलकण्ठ नगरपालिकाका श्रम समन्वय समितिका सदस्य सचिव वासुदेव मल्लले हालसम्म ३९४ जना अनौपचारिक क्षेत्रका श्रमिकलाई पञ्जिकरण गरेको जसमध्ये २२ जना घरेलु श्रमिक रहेको बताए । घरेलु श्रमिकमाथि हुने विभिन्न प्रकारका हिंसा, ज्यालामा ठगी जस्ता समस्याहरुलाई कानुनी कारबाहीसँगै न्यायमा सहज पहुँच पुऱ्याउनका लागि नगरपालिकाले काम गरिरहेको जानकारी दिए ।

सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले घरेलु श्रमिकको पञ्जिकरण स्थानीय निकायको दायित्व भएकाले हरेक स्थानीय निकायले यसलाई प्राथमिकता दिएर काम गरेमा उनीहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्न मद्दत पुग्ने बताए। हालसम्म सामाजिक सुरक्षा कोषले १०४ पालिकासँग अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्ने विषयमा सहमति गरेको बताए। अनौपचारिक श्रमभित्र पनि घरेलु श्रमको बुझाइमा अझ धेरै काम गर्नुपर्ने र रोजगारदाताको पहिचानलाई जोड दिनुपर्ने उनले बताए ।

त्यस्तै, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले अनौपचारिक क्षेत्रका श्रमिकहरूको तथ्याङ्क सङ्कलन गर्न महानगरले काम सुरु गरिसकेको र यसभित्र पनि घरेलु श्रमिकहरूका तथ्याङ्कलाई पनि प्राथमिकताका साथ समेट्ने प्रतिबद्धता व्यक्त गरिन्। घरेलु श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषसम्म जोड्नका लागि रोजगारदाताको पहिचान लगायतका केही प्राविधिक चुनौती भएता पनि महानगरले घरेलु श्रमलाई सम्मानित, मर्यादित अनि पेशागत बनाउनका लागि काम गर्ने बताइन् ।

घरेलु श्रमको मुद्दालाई सरकारका तीन वटै निकायले उत्तिकै प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने कार्यक्रममा सहभागी सरोकारवालाहरूले बताए ।

संयुक्त राष्ट्रसंघ घरेलु श्रमसम्बन्धी महासन्धि १८९ अनुमोदनका लागि युवालयले सरोकारवालाहरूसँग पैरवी र अभियान चलाइरहेको र सम्मानित श्रमका रूपमा घरेलु श्रम पनि स्थापित हुने संस्थाका अध्यक्ष धर्मराज रिमालले विश्वास व्यक्त गरे ।

images
प्रकाशित मिति :श्रावण ९, २०८१ बुधवार - ०८:५७:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology