विजय खड्का/ललितपुर । हिजो र आज दिनभर सामाजिक सञ्जालमा अनेक थरी पोष्टहरु भए । बिषय प्रसङग थियो ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं ८, डुकुछापको कसेरी भीरको पहिरो । कसेरी भीर ललितपुर महानगरपालिका वडा नं २२ मा पर्ने फर्सिडोलबाट करिब एक कि.मि टाढा रहेको छ । यो भीर आजभन्दा पाँच बर्ष अगाडी अजङ्गको भीमकाय भीरको रूपमा रहेको थियो । यो भीर पार गरेर डुकुछाप, दनुवारगाउँ, कटुवालदह, देबीचौर, छैमलेसम्मका मानिसहरूको आवतजावत हुने गर्दछ । यही भीरको कारण सजिलो बाटो नभएकोले यस भेगका मानिसहरूको मुख्य बजार चापागाउँ भएको थियो । समय बित्दै जादा यो भीर नकाटीकन बाटो नबन्ने भएपछि स्व. बलराम खड्काको अनुरोधमा तत्कालीन गा.बि.स अध्यक्ष कृष्ण बहादुर लामा र गा.बि.स उपाध्यक्ष जयराम खड्का ‘उत्तम’ ले पहल गरी नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ्ग समेत गरिएको थियो । यसरी डांडालाई कमजोर बनाई फोडेर बागमतीको किनाराबाट बाटो जोडेपछि यस भेगका मानिसहरू बुङमती, भैसेपाटी, जावलाखेल, लगनखेल आवत जावत गर्न थोलेका हुन ।
बि.सं २०५४ सालमा फर्सिडोलबाट लगनखेलसम्म दैनिक रुटको गाडी चल्न थालेपछि यस भेगको पनि अलि बढी चर्चा हुन थाल्यो । यसरी दैनिक रुटको बस चल्न थालेपछि चापागाउँको बाटोको प्रयोग कम हुदै गयो । बि.सं. २०५४ सालमा डुकुछापका जनताले चापागाउँ र छम्पीबाटै जनश्रमदान गरी काठका बिजुलीका पोल बोकेर ल्याई प्राधिकरणका मानिसहरूलाई पालैसँग खाने बस्ने कुराको प्रबन्ध गरी बिजुली बत्ती बालेपछि अर्को प्राथमिकता बाटोको लागि फर्सिडोलको बसपार्कबाट गोरखनी भीर र ढुङ्गाको खोल्चा हुदैं खहरेसम्म बस आयो । यसबाट डुकुछाप बासीलाई केही राहत भएपनि ढुङ्गाको खोल्चा र कसेरी भीरले बर्षामा ज्यादै जोखिम बढायो । हालको वडाअध्यक्ष शुकबहादुर लामाको पहलमा अन्दाजी पाँच सय मिटर उक्त खोल्चा पुरेर माथीबाट खतरामुक्त सडक निर्माण भयो भने स्थानीय तहको निर्वाचन २०७४ सँगै उहाँले बिजय हासिल गरेपछि महिनौ दिन लगाएर कसेरी भीर कटान गरिएको हो ।
यद्यपी उक्त भीरले बिगतका बर्षभन्दा यसबर्ष निकै दुःख दिइरहेको छ । गत हप्ता साउन ९ गते र १० गतेको साँझको अबिरल बर्षाले कसेरी भीरको बाटोमा पहिरो आउने र तलबाट बाग्मतीले माटो तान्ने हुदां आवत जावतमा निकै समस्या परिरहेको छ । डुकुछापमा उत्पादन भएका बर्षे तरकारी, दुध, खाद्यान्न ढुवानी र दैनिक उक्त बाटो प्रयोग गर्ने कामदारहरू, कर्मचारीहरु, बिधार्थीहरु सबैलाई अति नै असहज बनाएको छ । यस्तो बिषम परिस्थितिमा पनि वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु उक्त बाटो मर्मतमा जुटिरहेको देख्न सकिन्छ । यसै हप्ता गोदावरी नगरपालिका कार्यालयबाट पनि निरीक्षण भएको छ । नगरपालिकाले बिपद कोष मार्फत जति सक्दो छिटो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको कुरा वडाअधयक्ष शुकबहादुर लामाले बताए । सामाजिक सञ्जालमा भएको जस्तो मासु र रक्सीमा बिकेर बाटोको हालत यस्तो भएको हो भनि सोधिएको प्रश्नमा वडा अध्यक्षले मासु, रक्सी र बिकास निर्माणको कुरा अलग अलग कुरा हो । चुनावमा मासु र रक्सी खाए वा खाएनन त्यो त मलाई थाहा भएन जसले खायो उसैले आज यस्तो प्रतिकृया दिदैंछ । मलाइ यो बाटोका माया नभएको भए म किन रात दिन नभनी आफ्नै खर्चमा बाटो बनाउदै छु । हिजो पनि म रातको २ बजेसम्म बाटोमा डोजर लगाएर गाडी पास हुने बनाएर घर फर्केको हो । यो बाटोले मलाई आजित बनाएको छ, यस्ता समाजिक सञ्जाल तताउनु भन्दा हातेमालो गर्दे प्रकृतिक बिपत्तीसंँग सँगै लडौ भनि सम्पुर्ण डुकुछापबासि जन समुदायमा अपिल गरे । नेकपा (माओवादी केन्द्र) का वडा कमिटी अध्यक्ष उपेन्द्र कलुवारले उक्त बाटोको बारेमा समाजिक सञ्जाल फेसबुक मार्फत जानकारीको लागि सकरात्मक सन्देश दिइरहेपनि समाजिक सञ्जालमा थुप्रै मिश्रित टिका टिप्पणी आइरहेको देख्न सकिन्छ ।

