ललितपुर । ललितपुर निर्माण व्यवसायी संघले निर्माण व्यवस्थापन, कर तथा विमा सम्बन्धि नीति बिषयमा केन्द्रित रहेर एक दिने तालिम सम्पन्न गरेको छ। ललितपुर निर्माण व्यवसायी संघमा आवद्ध व्यवसायीहरूलाई लक्षित गरेर कर सम्बन्धि एक दिने प्रशिक्षण आयोजना गरेको संघका बरिष्ठ उपाध्यक्ष भगिरथ तिमल्सिनाले जानकारी गराए ।
'हालसालै कर कानुनमा भएका परिवर्तन र उनीहरुको निर्माण व्यवसायमा पर्न सक्ने प्रभावका बारेमा समेत जानकारी गराउनु यो तालिमको उद्देश्य हो । तालिमबाट निर्माण व्यवसायीहरुलाई कानूनी रूपमा कर सम्बन्धि दायित्वहरु पूरा गर्न र करसम्बन्धी प्रावधानहरु पालना गर्न सक्षम बनाउनु हो ।' तिमल्सिनाले भने ।
यस प्रशिक्षणले निर्माण व्यवसायीहरुलाई कानूनी रूपमा करसम्बन्धी दायित्व पुरा गर्न, अनुगमन र कर जाँचबाट बच्न, र करसम्बन्धी जोखिम घटाउन मद्दत गर्ने उनले बताए ।
प्रशिक्षणमा लेखा प्रणाली, कर सम्बन्धि व्यवस्थाका बारेमा प्रशिक्षक शालिग्राम अर्यालले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । उनले निर्माण व्यवसायीहरूलाई दर्ता नभएको राजनीतिक दल, दर्ता नभएको संघसंस्था, कानुनी अस्तित्वमा नरहेका समूह वा संस्थालाई दिएको चन्दा खर्चमा देखाउन नपाइने व्यवस्था रहेको जानकारी गराउँदै हरेक कारोवार बैंक खाता मार्फत मात्रै कारोवार गर्न आग्रह गरे ।
उनले सहभागीहरूलाई नेपालको कर प्रणाली, कर नियमावली, र कानूनी दायित्वहरुको बारेमा प्रष्ट पारेका थिए । प्रशिक्षणमा निर्माण व्यवसायमा लाग्ने विभिन्न करहरू जस्तै मूल्य अभिवृद्धि कर, आयकर, स्रोत कर, आदि बारेमा जानकारी गराइएको थियो ।
तालिममा दश वर्षदेखि इन्स्योरेन्स क्षेत्रमा लाग्नु भएका विमा सर्भेयर जगन्नाथ गौत्तमले निर्माण व्यवसायमा विमाको आवश्यकता, महत्व र विमा दावी गर्न सक्ने अवस्थाहरु, दावीका लागि पुर्याउनु पर्ने कागजातहरुलगायतका बारेमा प्रस्तुतिकरण गरिएको थियो ।
उनले सार्वजनिक खरिद क्षेत्रमा विमा चाहिन्छ भन्ने वकालत गर्दै आएको बताउँदै विमा दावी गर्न हुने ढिलासुस्तीले हुने हानी र विमा दावी गर्दा हुने कमजोरीले विमा रकम प्राप्त हुने नसक्ने अवस्थाहरुका बारेमा जानकारी गराए। उनले विमा गर्दा विमा नीति सम्बन्धि सबै कुरा बुझेर मात्रै गर्न र माग दावी गर्न सकिने आधारहरुका बारेमा सुसूचित हुन आग्रह गरे ।

