Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

घरायसी कामः पहिचानयुक्त र लैङ्गिक समावेशी बनाउन आवश्यक

घरायसी कामः पहिचानयुक्त र लैङ्गिक समावेशी बनाउन आवश्यक

दैनिकी न्यूज

१०, भाद्र २०८१
घरायसी कामः पहिचानयुक्त र लैङ्गिक समावेशी बनाउन आवश्यक
images

काठमाडौं । आम रूपमा महिलाहरूको जिम्मेवारीका रुपमा मात्र हेरिने घरायसी काम तथा स्याहार कार्यलाई हिंसारहित, पहिचानयुक्त सँगसँगै यस्ता कार्यमा सबैको सहकार्यका लागि हरेक घरबाट अभियान थालनी गर्नुपर्ने प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले बताएकी छिन् । युवालयले अक्सफाम इन एसिया रिजनल प्लाटफर्मसँगको साझेदारीमा आयोजना गरेको घरायसी तथा स्याहार कार्य सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उपसभामुख रानाले कानुनको प्रभावकारी कार्यान्वयन र नियमन गर्नका लागि प्रतिबद्धता जनाउँदै घरायसी काम तथा स्याहार कार्य सम्बन्धी अभिमुखीकरण तथा परामर्शको पनि आवश्यकता रहेको औल्याईन्।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सचेतक बीना लामाले अझै पनि जनसङ्ख्याको ठूलो हिस्सा घरायसी काम तथा स्याहार कार्यमा रहँदा पनि त्यसका लागि छुट्टै नीति बन्न नसकेकोमा यसका लागि जनप्रतिनिधि सँगसँगै नागरिक समाजले एकीकृत पहलकदमी गर्नुपर्ने बताइन्। आगामी दिनमा पार्टीभित्र र संसदमा यस बारेमा आफूले आवाज उठाउने पनि लामाले बताइन्।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले स्याहार कार्य घरभित्र गर्दा त्यसको सम्मान र पहिचान नहुने तर सोही काम गर्नका लागि इजरायल लगायतका विभिन्न देशमा जाँदा भने कमाई र पेशाको मान्यता पाउने हुँदा कामप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताइन्। अहिले पनि घरभित्र पूजाकार्य, भान्साका काम, सरसफाईका काम महिलाले गर्ने तर तिनै कार्य घर बाहिर पेशागत रुपमा गर्दा पुरुषले गर्ने गरेको हुँदा घरायसी कामको अझै मूल्याङ्कन हुन नसकेको बताइन् । राष्ट्रिय महिला आयोगले यस विषयमा चेतना अभिवृद्धि गर्नका लागि निरन्तर अभियानहरू सञ्चालन गरिरहेको अध्यक्ष पराजुलीले बताइन् ।

घरायसी काम तथा स्याहार कार्य सम्बन्धि रहेको सामाजिक गलत बुझाइ चिर्नका लागि पाठ्यक्रमहरूमा पनि परिमार्जन गर्नुपर्ने र यसलाई प्राथमिक तहबाट नै बालबालिकाहरूलाई बुझाउनुपर्ने त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभाग प्रमुख प्रा डा नन्दिता शर्माले विचार व्यक्त गरिन्। त्यस्तै बागमती प्रदेश सभा सदस्य शुष्पा भुजेलले ठूलाठूला भवन र पुल निर्माण गरेर मात्र विकास नहुने भन्दै आमरुपमा महिलाहरुले भोग्दै आएका विषयमा तिनै तहका सरकारले जिम्मेवार रुपमा कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताइन्।

युवालयले स्थानीय तहदेखि प्रदेश अनि संघीय तहसम्म चरणगत रुपमा घरायसी काम तथा स्याहार कार्यका बारेमा सरकारवालाहरूसँग निरन्तर पैरवी गर्दै आइरहेको युवालयका अध्यक्ष धर्मराज रिमालले बताए । घरायसी काम तथा स्याहार कार्य कुनै लैङ्गिक विशेषमात्र नभई यस कार्यमा सबैले सहकार्य गर्नुपर्ने बोध युवाले गर्न सकेमा यस अभियानले गति पाउने विश्वास व्यक्त गरे ।

images
प्रकाशित मिति :भाद्र १०, २०८१ सोमवार - ०७:२७:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology