ललितपुर । बागमती प्रदेशभरिका स्वास्थ्य कार्यालयमध्ये ललितपुर उत्कृष्ट भएको छ । यही कात्तिक ५ गतेदेखि प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडामा भएको वार्षिक समीक्षा कार्यक्रममा बुधबार स्वास्थ्य कार्यालय ललितपुर उत्कृष्ट घोषित भइ प्रमाणपत्र प्राप्त गरेको जनस्वास्थ्य कार्यालय प्रमुख भुवन पौडेलले जानकारी दिए ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रमुख पौडेललाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । “आव २०८०–८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य सेवाका सूचक तथा प्रस्तुतीकरणसमेतको मूल्याङ्कनका आधारमा प्रदेश स्वास्थ्य निर्देशनालयले पुरस्कृत गरेको हो”, उनले भने ।
बागमती प्रदेश, स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई डाकेर तीनदिने समीक्षा गरेको थियो। यस्तै, कार्यसम्पादन तथा सूचकहरूका आधारमा दोस्रो हुनेमा जनस्वास्थ्य कार्यालय चितवन, तेस्रोमा मकवानपुर, चौथोमा काभ्रेपलाञ्चोक, पाँचौँमा काठमाडौं, छैटौँमा धादिङ, सातौँमा भक्तपुर, आठौँमा जनस्वास्थ्य कार्यालय सिन्धुलीलगायत जिल्ला छन्। सबैभन्दा कमजोर कार्यसम्पादन रसुवाको देखिएको छ।