काठमाडौं । डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई ४ सय ८ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा ललितपुरको गुडविल होटलमा शुक्रबार आयोजित कार्यक्रम बीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने बताए । नागरिकको गुनासोलाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उनले बताए ।
बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले समापन मन्तव्य व्यक्त गर्दै उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मधुसुदन पौडेल, बागमती प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री रामेश्वर श्रेष्ठ र यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल समेतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले स्वागत मन्तव्य तथा मन्त्रालयका भावी योजना बारे जानकारी दिएका थिए । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्दै आइरहेको नेपाल प्रहरीलाई आज हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास लिएको बताए । प्रहरीको एकल प्रयासले मात्र ट्राफिक व्यवस्थापन सम्भव नहुने भएकोले सरोकारवाला निकायको सहयोग र समन्वयले ट्राफिक व्यवस्थापनलाई समयानुकूल आधुनिक र प्रविधिमैत्री बनाउँदै पारदर्शी, परिष्कृत र परिमार्जित सेवा प्रवाह गर्न सहजीकरण हुने उनले उल्लेख गरे । समग्रमा ट्राफिक प्रहरी कर्मचारीहरूको समेत क्षमता विकास तथा सेवा प्रवाहको प्रभावकारितामा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको उनले बताए ।
कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य एवम् पूर्व मन्त्रीहरू, बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका पदाधिकारीहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुखलगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।