काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको तथ्यांक संकलनमा ढिलाई गरेको छ ।
एक वर्षअघि नै तथ्यांक संकलन गर्ने योजना अघि सारेपनि हालसम्म तथ्यांक संकलनको कार्य अघि बढ्न सकेको छैन । नेपालको जनगणना २०७८ मा लैंगिक तथा यौनिक अल्पसंख्यकको तथ्यांक पर्याप्त नआएको भन्दै सोहि समुदायका व्यक्तिको माग अनुसार सरकारले पुनः तथ्यांक संकलन गर्ने योजना बनाएको थियो । तर आर्थिक वर्ष २०८०–०८१ भित्रै सक्ने गरी तथ्यांक संकलन गर्ने योजना बनाएपनि कार्यालयले अझै काम सुरु गरेको छैन ।
२०७८ को तथ्यांक अनुसार लैंगिक तथा यौनिक अल्पसंख्यकको तथ्यांक दुई हजार ९२८ रहेको छ । तर यो तथ्यांक सहि मानिएको छैन । थुप्रै व्यक्तिहरु यसमा छुटेको हुनसक्ने आकलन गरिएको छ । अब उनीहरुको तथ्यांक संकलन गर्दा सामाजिक आर्थिक, पारिवारीकलगायत अवस्थाको जानकारी पनि लिइने छ । तथ्यांक कार्यालयका प्रवक्ता हेमराज रेग्मीले भ्याट वापतको रकम सरकारले नदिएका कारण ढिलो भएको बताए । ‘हामीले गत वर्ष नै यो तथ्यांक संकलनको काम अघि बढाउने भनेको हो, तर भ्याटवापतको रकम सरकारले दिएको छैन, अर्थ मन्त्रालयसँग माग गरेका छौं,’ उनले भने, ‘सरकारले रकम दियो भने काम सुरु हुन्छ ।’ उनका यस समुदायका व्यक्तिको तथ्यांक संकलनको लागि अन्तर्राष्ट्रिय विकास सम्बन्धि अमेरिकी नियोग युएसएडले ८ करोड रकम सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ । त्यसमा भ्याटवापत्को रकम नेपाल सरकारले नै व्यहोर्नुपर्ने हुन्छ ।
ब्लु डाइमण्ड सोसाइटीमा कार्यरत ‘पिटर’ले यो समुदायका व्यक्तिको तथ्यांक छिटो संकलन गरेर वास्तविकता बाहिर ल्याउनुपर्ने बताइन् । उनका अनुसा अझै पनि कैयौं व्यक्ति नखुलेकोले अबको तथ्यांक संकलन गर्दा फरक विधि अपनाएरै भएपनि यकिन तथ्यांक ल्याउन आवश्यक छ ।