Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

अपाङ्गतामैत्री शहर बनाउन कुनै कुरा बाँकी राख्दैनौंः नगरप्रमुख महर्जन

अपाङ्गतामैत्री शहर बनाउन कुनै कुरा बाँकी राख्दैनौंः नगरप्रमुख महर्जन

दैनिकी न्यूज

१९, मंसिर २०८१
अपाङ्गतामैत्री शहर बनाउन कुनै कुरा बाँकी राख्दैनौंः नगरप्रमुख महर्जन
images

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गतामैत्री शहर बनाउन कुनै कुरा बाँकी राख्दैनौं भन्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरुको ३३ ओैं अन्तर्राष्ट्रिय दिवसको अवसरमा ललितपुर महानगरपालिकाद्वारा मंगलबार जावलाखेलमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै प्रमुख महर्जनले अपाङ्गतामैत्री पूर्वाधार निर्माण, सूचना प्रवाह र सेवा प्रवाहमा ध्यान दिएको बताउँदै अपाङ्गताका सवालमा देशका सबै स्थानीय तहहरुमध्ये उत्कृष्ट स्थानीय तहको रुपमा काम गरिरहेको जानकारी गराए ।
'हामीले यसको सुरुवात गरिरहेका छौं, हामीले धेरै राम्रो कामहरु गरिरहेका छौं, अरु स्थानीय तहले फलो गरिरहेका छन्, एकान्तकुनामा लिप्टसहितको अपाङ्गतामैत्री पूल बन्दैछ, धोविघाटबाट किर्तिपुर जाने पुल पनि अपाङ्गतामैत्री हुनेछ, हामीले निर्माण गरेका सबै संरचना अपाङ्गतामैत्री छन्, अपाङ्गतामैत्री फूटपाथ  लगायतका संरचना निर्माण गर्ने पहिलो स्थानीय तह हौं।' प्रमुख महर्जनले भने ।
उनले अपाङ्गतामैत्री पूर्वाधारका साथै प्रविधिको विकासका लागि संघीय सरकार,प्रदेश सरकारका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सघसंस्थासँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले अपाङ्गताको जीवन जीउनु रहर नभइ  बाध्यता भएको भन्दै बाध्यताका कष्टकर जीवनयापन गरिरहेकाहरुलाई सहयोग गर्नु र माया गर्नु कर्तव्य र दायित्व हो भने ।
'हाम्रो सानो सहयोगले पनि उहाँहरुको दैनिक जीवनयापनमा सहजता ल्याउन सकिन्छ, हामी हरेक सेवालाई अपाङ्गमैत्री बनाउन निरन्तर प्रयासरत छौं, उहाँहरुलाई माया र करुणाको भावका साथ आत्मनिर्भरता र सक्षम बनाउन निरन्तर प्रयत्न गरिरहनेछौं।' उनले भने ।
उनले अपाङ्गता भएका व्यक्तिहरुलाई सहज जीवनयापनका लागि सहयोग गर्दै मनस्थिति र आत्मबल बलियो बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले नेतृत्वदायी भूमिकामा अपाङ्गता भएका व्यक्तिहरुको उपस्थिति नरहेको अवस्थामा उनीहरुको हक अधिकार सुनिश्चित गरिनुपर्छ भन्नेमा जोड दिए । उनले अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बनाउनु राज्यको मुख्य दायित्व भएको भन्दै सेवा सुविधा र हीतको लागि महानगर प्रतिवद्ध रहेको जानकारी गराए।
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक नवरत्न पौडेलले समयसमयमा हुने यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरुलाई थप हौसला प्रदान गर्ने बताउँदै यस्ता मञ्चबाट उहाँहरुले समान अवसर पाउनका लागि आफ्ना कुराहरु व्यक्त गर्ने अवसर पाउने बताए । उनले ललितपुर जिल्लामा गत तीन वर्षमा अपाङ्गता भएका व्यक्तिहरु हिंसात्मक कार्यमा सहभागी नभएको र अपाङ्गता भएका केही व्यक्तिहरु पीडित रहेको जानकारी गराए ।
विपद व्यवस्थापन समितिका सदस्य एव महानगरको कार्यपालिका सदस्य लक्ष्मी शर्माले संयुक्त राष्ट्र संघले सन् १९८१ देखि डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार सुनिश्चितताका लागि दिवस मनाउन सुरु गरिएको जानकारी गराउँदै सन् १९९३ देखि नेपालमा हरेक बर्ष अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन सुरु गरिएको उल्लेख गरे । अपाङ्गता भएका व्यक्तिहरुको स्थानीय तह समन्वय समितिका सदस्य भोजराज श्रेष्ठले स्थानीय तहले प्रदान गर्ने सेवामा आफूहरुको पहुँचका लागि ललितपुर महानगरले भौतिक पूर्वाधार निर्माण र सेवा प्रवाहमा ध्यान दिएर आत्मसम्मान दिएको बताए । उनले एकान्तकुनामा अपाङ्गतामैत्री लिफ्ट सहितको पुल निर्माण गरिरहेको कुरा सराहनीय रहेको बताउँदै अपाङ्गता परिचयपत्र वितरणमा सहजीकरण गरेर महानगरले राम्रो काम गरेको बताए ।
ललितपुर महानगरको महिला बालबालिका शाखा प्रमुख शोभा खरेलले अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि वर्षभरि विभिन्न कार्यक्रमहरु आयोजना गरिने बताए।

images
प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - ०७:३७:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology