ललितपुर । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विभिन्न देशहरुबीचको सांस्कृतिक सम्बन्धले आत्मियतामा नयाँ उचाई हासिल गर्न सक्छौ भन्ने धारणा राखेका छन् ।
ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर उच्च माध्यमिक विद्यालयले विभिन्न आठ देशका बालनाट्य कलाकारहरुको सहभागितामा यहाँ आयोजना गरेको चौथो ललाबाला काठमाडौं अन्तर्राष्ट्रिय बाल नाट्य महोत्सवको मंगलबार आयोजित उद्घाटन समारोहमा मन्तव्य राख्दै मन्त्री पाण्डेले विभिन्न देशका नाट्यकलाहरुको प्रदर्शनी र प्रस्तुतिले एकअर्कालाई बुझ्दै एकअर्काका संस्कृतिमा साक्षात्कार हुन सकिने बताए ।
'हामीले विभिन्न देशका कला चिन्नेछौं, त्यस्तै हाम्रो कला अरुलाई चिनाउन सक्नेछौं, यस्ता कार्यले संसारभरिक भाषा, संस्कृतिका बिषयमा मन्थन हुनेछ, यसले हामीले भाषा, कला, संस्कृतिको समन्वय र अन्तरसम्बन्धलाई स्थापित गर्छौं।' मन्त्री पाण्डेले भने ।
विद्यालयको कक्षाकोठामा सिकिरहेका उहाँले विद्यार्थीहरुलाई बिभिन्न देशका कला, संस्कृति, भाषा र सभ्यताको बारेमा वृहत् जानकारी दिने काम महत्त्वपूर्ण भएको जानकारी गराए ।
'विद्यार्थीहरुलाई ठूलो दायरामा पुगेर सिक्न, बुझ्न, दुनियाँमा रहेको बाहिरी संसारका बारेमा, जीवन्त बाँचिरहेको समाजका बारेमा, जानकारी गराउने काम हुनेछ भन्ने ठान्छु।' उनले भने ।
मन्त्री पाण्डेले विद्यार्थीसँग भएको क्षमतालाई पहिचान र प्रस्फुटन गराउन शिक्षक र अभिभावकले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै विद्यार्थीले पनि आफ्नो प्रतिभा र क्षमतालाई पहिचान गरेर त्यसैमा लगनशीलताका साथ लाग्न सक्नुपर्ने बताए । रबिन्द्रनाथ टैगोर, वालकृष्ण सम, वी. पी. कोइराला सुरुमै सफलता हासिल गरेको नभइ विभिन्न भोगाइका क्रममा आफूलाई परिस्कृत गर्दै अगाडि बढ्नुभएको जानकारी गराउँदै उहाँले नाट्यकला क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहाने विद्यार्थीलाई आफूलाई परिस्कृत गर्दै अगाडि बढाउन आग्रह गर्नुभयो । कलाकारले अरुको चरित्रमा आफूलाई प्रस्तुत गरिरहेको हुन्छ भन्दै उनले कलाकारिता विशिष्ट क्षमता भएको बताए ।
त्यस्तै, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फूँयालले नेपाल वहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त देश नेपालमा विद्यालयले विभिन्न देशका नाट्यकर्मीहरुलाई बोलाएर कार्यक्रम गरेर नेपालको महत्त्व र गरिमालाई उच्च बनाएको बताए । उनले नेपालको कला संस्कृतिलाई विश्वमा परिचित गराउनका लागि यसकिसिमका कार्यक्रमहरु प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
नेपाल, भारत, बङ्गालादेश, श्रीलंका, जर्मनी, स्टोनिया, डेनमार्क र अष्ट्रेलियाका नाट्यकर्मीहरुले चार दिनमा १९ वटा नाटकहरुका २४ वटा कार्यक्रमहरु प्रस्तुत गर्ने ब्राइटफ्युचर उच्चमाध्यामिक विद्यालयका शिक्षक रामरमण हुमागाईले जानकारी दिए।