Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

अबको मुख्य मुद्दा तिव्र रुपमा आर्थिक विकास गर्नु हो – पूर्वप्रधानमन्त्री डाक्टर भट्टराई

अबको मुख्य मुद्दा तिव्र रुपमा आर्थिक विकास गर्नु हो – पूर्वप्रधानमन्त्री डाक्टर भट्टराई

दैनिकी न्यूज

२८, पौष २०८१
अबको मुख्य मुद्दा तिव्र रुपमा आर्थिक विकास गर्नु हो – पूर्वप्रधानमन्त्री डाक्टर भट्टराई
images

ललितपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अबको मुख्य मुद्दा तिव्र रुपमा आर्थिक विकास गर्नु हो भन्नेमा जोड दिएका छन्।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको जिल्ला समन्वय समिति ललितपुरद्वारा शनिबार यहाँ आयोजित प्रथम महालक्ष्मी नगरभेलाको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै डाक्टर भट्टराईले विश्वका सबैभन्दा गरिव देशबाट उकास्नु नै अवको मुद्दा भएको बताएका थिए ।

Lalitpur.gif
'पूराना राष्ट्रिय र क्षेत्रीय पार्टीले वदलिएको परिस्थितिमा उपयुक्त भूमिका निर्वाह गर्न सकेनन्, उनीहरुले गणतन्त्र ल्याउन भूमिका खेले, जनताबाटै संविधान निर्माणका लागि माओवादी पार्टी बनाएर विद्रोहको सुरु भएको हो त्यो एउटा चरण थियोे, संविधान, कानून त लेखियो, अब त्यतिले मात्रै पुग्दैन,धेरै युवाहरू वेरोजगार छन्, कृषिलाई आधुनिकिकरण गरेर वैज्ञानिक खेती गर्ने, घरेलु उद्योगमार्फत उत्पादन वृद्धि गरि देशलाई आत्मनिर्भर बनाउनेमा लाग्नुपर्छ ।' डाक्टर भट्टराईले भने ।
उनले समाजवादमार्फत समृद्धि हासिल गर्नका लागि वि.सं. २०७३ जेठ ३० मा नयाँ शक्ति पार्टी स्थापित भएर आएको बताउँदै देशभित्रै सूचना प्रविधि र सेवा क्षेत्रलाई प्रोत्साहन गर्दै हाम्रो प्रविधि र सेवाको निर्यात गरी आर्थिक विकास, समृद्धिका लागि रोजगारी सृजना गर्न सकिन्छ भन्नेमा जोड दिए।
'कोही पनि गरिबी नहुन भनेर काम गर्न सकिन्छ, यसका लागि काम गर्ने पार्टी नै वैकल्पिक पार्टी हो, निर्वाचन आयोगमा धेरै पार्टी छन् तर हामी सोच,विचार र कार्यशैली नयाँ भएको पार्टी नै नयाँ पार्टी हो, पार्टी बिचार, योजना कार्यान्वयन गर्ने माध्यम हो, अब ज्ञान, सीप र सोच नयाँ भएका साथीहरू आवश्यक हो ।' उनले भने ।
डाक्टर भट्टराईले राजतन्त्रमा बोल्न र खुला रुपमा कार्यक्रम गर्न पाइदैनथ्यो भन्दै अब फरक पृष्ठभूमि तयार भएकोले विकास र समृद्धिका लागि अभियान चलाएर लाग्नुपर्छ भने ।
'आधुनिक उद्योगमा आधारित अर्थतन्त्र निर्माणका लागि सानातिना उद्योग र कृषिका माध्यमबाट पूँजी निर्माण गर्नु आवश्यक छ, अर्को सीपयुक्त जनशक्ति निर्माणका लागि शिक्षा अर्को बजार निर्माण गर्नुपर्नेछ, पूँजी, सीपसहितको शिक्षा र बजारको माध्यमबाट समृद्धिको लक्ष्यमा पुग्नुपर्छ।' उनले भने ।
उनले भ्रष्टाचारको जन्जालमा फसेर पूँजीको खेर फाल्ने र देशलाई बर्वाद गर्ने प्रवृतिको विरुद्धमा हामीले नयाँ पार्टी निर्माण गरेका हौं भने ।
'भारतसंग खुला सीमाका कारण हामी आयातमा आत्मनिर्भर छौं, नियन्त्रण गर्न सक्नुपर्छ, हामीले नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ, एक खर्बको निर्यात गर्ने र १५ खर्वको आयात गर्ने पद्धतिले देशको विकास हुँदैन।' उनले भने ।
उनले लोकतान्त्रिक व्यवस्थामा सरकारी संयन्त्र र सार्वजनिक संस्थाहरु वलियो बनाउन सकेनौं भन्दै भ्रष्टाचारमा लिप्त भएको मान्छे नै अख्तियारको नेतृत्वमा पुग्ने अवस्थाले भ्रष्टाचारको अन्त्य हुन सक्दैन भन्नेमा ध्यानाकर्षण गराए ।
'चरम राजनीतिक अस्थिरता रोक्नका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्री आवश्यक छ, संसदलाई पूर्णसमानुपातिक बनाओैं,यसरी देशलाई सुशासन र समृद्धि दिन सकिन्छ, ठूला महल र चिल्ला सडक बनाएर मात्रै विकास र समृद्धि हुन सक्दैन।' डाक्टर भट्टराईले भने।
अहिले पनि प्रदेश र स्थानीय तहले कानुन बमोजिम अधिकार पाएका छैनन् भन्नुहुँदै उहाँले शिक्षामा निजी मुनाफा आर्जनको हिसाबले दिइनुहुँदैन भन्नुभयो । उहाँले लोकतन्त्रमा आधारित समाजवादी प्रणाली मार्फत समृद्धि हासिलका लागि पार्टी केन्द्रीत हुने बताए ।
पार्टीका केन्द्रीय महाधिवेशन आयोजक सदस्य एवम् पूर्वसांसद दुर्गा सोवले वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित गर्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को आवश्यकता ठानेको बताए ।
'देशलाई विकास, समृद्धि, सुशासन आवश्यक छ, पाँच 'स' अर्थात् संघीयता,समावेशीता,  सुशासन, समृद्धि र समाजवादलाई निरन्तरता दिंदै अगाडि बढ्ने सोचका साथ पार्टी अगाडि बढेको छ, जनप्रतिनिधिले जनताका पक्षमा काम गरेका छन् कि छैनन् भनेर खवरदारी गर्नु आवश्यक छ, प्रणाली र व्यवस्थामा भएका त्रुटीहरुलाई सच्याएर अगाडि बढ्नुपर्छ ।' उनले भने ।
सोवले म राम्रोसंग बुझेर नयाँ सन्ततिको हीतका लागि अभियान चलाउन लागेको हुँ भने ।'हामीले बाबुराम भट्टराईका लागि भन्दा पनि देशका लागि काम गर्ने हो, हामीले देशको हीतमा मुद्दा उठाएका छौं, भ्रष्टाचारका मुद्दामा स्वतन्त्र रुपमा छानविन हुनुपर्छ, एउटामात्रै एजेन्डामा देश अगाडि बढ्न सक्दैन, नीतिगत रुपमा देश बनाउने खाका हामीसँग छ, धेरै किसिमका नीतिहरुलाई हामीले अङ्गिकार गर्नुपर्छ।' उनले भने ।
उनले देशलाई केही दशकमा समृद्धिमा रुपान्तरण गर्न राजनीतिमा हस्तक्षेप गर्नुपर्छ भने।
'प्रणालीमा सुधार ल्याउनुपर्छ, नयाँ भनिएका पार्टीहरु पनि विकास, समृद्धि, सुशासनका पक्षमा स्पष्ट पाइएको छैन, बिचार र सिद्धान्तमा स्पष्टता छैन ।' उनले भने ।
कार्यक्रममा केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य दलबहादुर लिम्बुले माघ ५ गतेभित्र सदस्यता नविकरण गरेर प्रक्रिया पूरा गरि प्रतिनिधि बन्न आग्रह गरे ।
कार्यक्रममा पार्टीका ललितपुर जिल्ला समन्वय समिति संयोजक कृष्ण महर्जन, महालक्ष्मी नगर संयोजक सुजन राजथलालगायतले धारणा राखे ।

images
प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - ०७:४३:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology