Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

'राजनीति सुधारका लागि सबैले आफैंबाट सुधार गर्नुपर्छ'

'राजनीति सुधारका लागि सबैले आफैंबाट सुधार गर्नुपर्छ'

दैनिकी न्यूज

७, माघ २०८१
'राजनीति सुधारका लागि सबैले आफैंबाट सुधार गर्नुपर्छ'
images

ललितपुर । वि.पि. कोइराला नेतृत्व विकास प्रतिष्ठानले आयोजना गरेको अन्तरक्रियामा धारणा राख्ने बक्ताहरुले राजनीति सुधारका लागि सबैले आफैंबाट सुधार गर्नुपर्छ भन्नेमा जोड दिएका छन् ।  

Dainikeenews advertise 2081.10.03.PNG

प्रतिष्ठानले २०६२–६३ को लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर संघर्ष गरेका समकालीन नेविसंघ, तरुणहरुलाई समेटेर आइतबार काठमाडौंमा आयोजना गरेको सशक्त र संगठित कांग्रेसका लागि स्वयं सुधार अभियान बिषयक अन्तरक्रियामा धारणा राख्नेहरुले आर्थिक सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थायित्व दिन नयाँ सोचका साथ पार्टीभित्रको गलत सोच र प्रवृत्ति विरुद्ध लड्दै नयाँ योजनाका साथ जनतामा जानुपर्छ भन्ने धारणा राखेको हो । 

नेविसंघका पूर्वअध्यक्ष एवम् संविधानसभा सदस्य रञ्जित कर्णले जीवनको भविष्य बनाउनुपर्ने महत्त्वपूर्ण समयमा राजनीतिमा योगदान दिएर त्याग गरेका योद्धाहरु अहिले पनि ओझेलमा परेकाले उहाँहरुलाई मुलधारको राजनीतिमा स्थापित गरिनुपर्ने धारणा राखे । 

'राजनीति समाजसेवा हो, पेन्सन आउन जागिर पनि हैन, राजनीतिमा लाग्ने बित्तिकै भ्रष्टाचारी हुन्छन् भन्ने भाष्यलाई चिर्नुछ, नेताप्रतिको नागरिकको दृष्टिकोणलाई बदल्नुछ, राजनीति पैसा कमाउने माध्यम हैन।' उनले भने । 

उनले गणतन्त्रपछि देश समृद्धिको बाटोमा अगाडि बढ्छ भन्ने आम जनचाहना बमोजिम  काम हुन नसकेको भन्दै यसलाई सुधार गरेर लाग्नुपर्नेमा जोड दिए । 

'आर्थिक समृद्धिको भरोसा र जनअपेक्षा अनुरुप सेवा प्रवाह हुन सकेन, दुस्खमा लडेका इमानदार साथीहरुसंग विश्वास र भरोसा छ, यसलाई पुनर्जीवित गर्नुपर्छ।' उनले भने ।

नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष तथा प्रतिष्ठानका सल्लाहकार निलकण्ठ रिजालले पार्टी संगठनलाई चरम गुटबन्दी,व्यक्तिवादी प्रवृत्ति र चाकरी प्रथाजस्ता नकारात्मक कुराहरुको प्रभावबाट बचाउन पहिला आफैले आफुलाइ सुधार अथार्त ूस्वयं सुधारू को आवस्यकता रहेकोले बताए । 

'वि.सं. २०६२–६३ को अग्रमोर्चामा रहेर संघर्ष गरेका, घाइते एवम् अङ्गभङ्ग भएका लोकतान्त्रिक योद्धाहरु हाल निरन्तर पार्टी संगठनमा कृयाशिल रहँदा रहँदै पनि पार्टी राजनीतिमा ओझेल परेका छन्, आज हामीले प्राप्त उपलब्धि हिजो त्यही लोकतान्त्रिक योद्धाहरुको रगत, परिश्रम र कठिन संघर्षका कारण प्राप्त भएको हो,पार्टी राजनीति भित्र त्यस्ता लोकतान्त्रिक योद्धाहरुलाइ ओझेलमा पारेर पार्टी बलियो हुन सक्दैन, त्यसैले नेपाली कांग्रेसलाई अझ ससक्त र सुदृढ  बनाउन युवा लोकतान्त्रिक योद्धाहरु हातेमालो गर्दै,एक आपसमा सहयोग आदानप्रदान गर्दै, संगठित हुँदै अगाडि बढ्न यो प्रयास गरिएको हो।' रिजालले भने ।

उनले नेपाली कांग्रेस ऐतिहासिक धरातल र स्पष्ट सैद्धान्तिक दृष्टिकोणको जगमा उभिएको पार्टी आफैमा कहिल्यै कमजोर हुँदैन भन्दै पार्टी सञ्चालन गर्ने नेता तथा कार्यकर्ताहरूको कमी कमजोरीले पार्टीको भूमिकालाई कमजोर बनाएको हो भने ।  

'पार्टी कमजोर बन्दै गएको सन्दर्भमा  हामीले एक(अर्कालाई एउटा चोर औंलो तेर्साउदै, दोष देखाउदै गर्दा अरु तीन वटा औंलाहरु आफुतिरै तेर्सिएका हुन्छन्, पार्टी भित्र अत्याधिक गुटबन्दी, चरम आर्थिक प्रभाव, अन्यायपूर्ण र अबिवेकी निर्णय, अत्याधिक चाकरी चाप्लुसी, नातावाद कृपावाद जस्ता कुराले पार्टी संगठन कमजोर बनाउदै लगेको तथ्यलाई तपाईं हामिले स्विकार्नै पर्छ। यसमा हामी सबै आ(आफ्नो तहगत हिसाबले केही न केही मात्रामा सहभागी भएका नै छौ।' उनले भने ।

रिजालले स्वयं सुधारबाट पार्टीलाई व्यापक सुधार अभियानको शुरुवात गर्नुपर्छ भने ।

'गुटबन्दीको बिरोध गर्नेहरु सबैले गुटबन्दी नै गरेका हुन्छन्, चाकरीचापलुसीको बिरोध गर्दैगर्दा आफूपनि कसैको चाकरीमा रमाएका नै हुन्छौं।  बिवेकपुर्ण निर्णयको अपेक्षा गर्दै गर्दा आफुले पनि आफ्नो हातमा निर्णय आउँदा बिवेक पुराएका हुँदैनौ। त्यसैले आआफ्ना कमी कमजोरीहरु मनन गरौं र त्यस्ता कमजोरीहरुलाइ आजै बाट त्यागौँ। यो स्वयं सुधार अभियान हो।' उनले भने ।

उनले स्वयं सुधार हुँदै गर्दा व्यक्ति सुधार हुँदै पार्टी सुधार हुने, पार्टीको सुधार हुँदा राजनीति सुधार हुने, राजनीति सुधार हुँदा देशै सुधार हुने भएकोले पहिले व्यक्ति सुधारू अभियानको थालनी गर्नुपरेको बताए।

नेविसंघका पूर्वउपाध्यक्ष विरेन्द्र शर्माले जनतालाई गुम्राहमा राख्ने शक्ति विरुद्ध लाग्नुपर्छ भन्नेमा जोड दिए । उनले ३५ वर्ष निःशुल्क राजनीतिक सेवा गर्दा पनि नेताहरुका गलत प्रवृत्तिले योग्य व्यक्तित्वहरु भूमिकाविहिन हुँदै ओझेलमा पर्नुपरेको बताए ।

'पदमा पुग्नु ठूलो कुरा हैन, इमानदारीपूर्वक राजनीति गर्नु ठूलो हो, हामीलाई कसैले यो स्थानमा ल्याइदिएको हैन, हामीले जिम्मेवारीपूर्वक राजनीति सुधारमा लाग्नुपर्छ ।' उनले भने ।

नेपाली कांग्रेस ललितपुरका महाधिवेशन प्रतिनिधि विमलचन्द्र बिष्टले पार्टीभित्र व्याप्त निराश चिर्दै आशा जगाउने गरि अगाडि बढ्नुपर्ने बताए । 

धनुषाका मनहरि श्रेष्ठले लोकतन्त्र बलियो भएमात्रै देश बलियो हुन्छ भन्दै गुट, उपगुटमा लागेर पार्टी सुधार हुन सक्दैन भने । 

उनले हरेक पार्टीमा राजनीतिक बेरोजगारहरुको बाहुल्यता हुने अवस्था आउन दिनुहुँदैन भन्नेमा जोड दिए । उनले आफूमा सुधार नभई नेतपिच्छेका गुट उपगुटमा लाग्दा समस्या सृजना हुने भन्दै अवसर नपाएका, स्पष्ट दृष्टिकोण भएका नेता तथा कार्यकर्ताहरुलाई अगाडि बढाउन सबै मिलेर सहयोग गर्नुपर्छ भन्ने धारणा राखे । 

झापाकी उमा सिवाकोटीले भड्किँदै गएको समाजलाई सकरात्मक लयमा ल्याउन इमानदार नेता तथा कार्यकर्ताहरुलाई राजनीतिक नेतृत्वमा स्थापित गर्नुछ भन्ने धारणा राखे । उनले पद र अवसरका लागि नेताको फेर समाउन हैन भन्दै आफ्ना सही कुरा स्थापित गरेर पार्टीलाई बलियो बनाउन लाग्नुपर्छ भन्नेमा ध्यानाकर्षण गराए। 

'एकताबद्ध हुनुपर्छ, नेतृत्वलाई मात्रै दोषी देखाएर हुँदैन, पार्टीलाई चलायमान बनाउँदै जनतासँग प्रत्यक्ष जोडिनका लागि योजनाबद्ध रुपमा अगाडि बढ्नुपर्छ ।' उनले भने ।

विपि कोइराला नेतृत्व विकास प्रतिष्ठानका अध्यक्ष किरण पोखरेलले संस्थालाई साझा थलोका रुपमा विकास गर्दै निरन्तर बहस गर्ने राजनीतिक मञ्च तयार गर्ने बताए । उनले २०६२–६३ को लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर संघर्ष गरेका युवा लोकतान्त्रिक योद्धाहरुलाई पार्टीभित्र भूमिकामा स्थापित गर्न, पार्टीलाई सुदृढ गर्न स्वयं सुधार अभियानलाई अगाडि बढाउन लागेको बताउनुभयो । स्वयम् सुधार अभियान अन्तर्गत स्वयम् ब्यक्तिले मुख्यतया गुटबन्दी नगर्ने, कार्यकर्तालाई अन्याय, अपमान, अनादर नगर्ने, चाकरी र चाप्लुसी नगर्ने, आर्थिक प्रभावमा नपर्ने तथा नपार्ने, सार्वजनिक स्थल, सार्वजनिक मिडिया एवम् सामाजिक सञ्जालहरुमा आफ्नै पार्टी, पार्टीका अग्रज नेता तथा साथीभाइहरुको बिरोध नगर्ने, कुरा नकाट्नेलगायतका बिषय सन्दर्भलाई जोड दिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

कार्यक्रमका सहभागीहरुले छलकपट गरेर सत्तामा जाने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने, पार्टीको नीति, विधि र सिद्धान्तलाई नारामा मात्रै सीमित राखेर आफ्नो, आफ्नो गुटको स्वार्थ  प्रवृत्ति अनुसार काम गर्ने भ्रष्ट प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । लोकतान्त्रिक व्यवस्थामा बिचार, पद्धति, मुद्दा र जनताको आधारमा नेता स्थापित हुनुपर्ने भएकोले नेताले नेता बनाइदिने दास प्रबृत्तिको विरुद्धमा लाग्नुपर्ने र आफू, परिवार, समाजहुँदै राजनीति सुधार गरेर देश सुधार गर्नुपर्छ भन्ने उनीहरुको धारणा थियो।

भेलाले स्वयम् सुधार अभियानलाई देशभर सञ्चालन गर्ने, वि.सं. २०८२ साल बैशाख ११ गते ११ बजे भृकुटीमण्डपमा लोकतान्त्रिक आन्दोलन २०६२–६३ सालमा अग्रमोर्चामा सङ्घर्ष गर्ने बृहत लोकतान्त्रिक योद्धाहरुसँग भेटघाट गर्ने र लोकतान्त्रिक आन्दोलन २०६२–०६३ को अग्रमोर्चामा सङ्घर्ष गरेका साथीहरुलाई पार्टीभित्र न्यायपूर्ण सहभागिताका लागि पहल गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव डाक्टर केदार सुवेदीले जानकारी गराए ।

images
प्रकाशित मिति :माघ ७, २०८१ सोमवार - ०८:१५:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology