Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

उद्यम गर्न चाहनेलाई निर्ब्याजी ऋण

उद्यम गर्न चाहनेलाई निर्ब्याजी ऋण

दैनिकी न्यूज

१०, माघ २०८१
उद्यम गर्न चाहनेलाई निर्ब्याजी ऋण
images

काठमाडौं । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना ब्याजका ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालनलगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु पाँच लाखसम्मको बिनाब्याजका ऋण दिने व्यवस्था मिलाएको हो ।

Dainikeenews advertise Final Health.jpg

नगरपालिकाका स्थानीय उद्यमीलाई बिनाब्याजमा ऋण उपलब्ध गराउन नगरपालिकाले बुधबार प्रभु बैंक हलेसी शाखासँग सम्झौता गरेको छ । नगरपालिकाको सिफारिसको आधारमा बैंकले मूल्याङ्न गरेर उद्यमी बन्न चाहने स्थानीय नागरिकलाई बिनाब्याजका ऋण दिने सम्झौतामा उल्लेख छ ।

नगरपालिकाभित्र खोलिएका लघु उद्योगको प्रवद्र्धन गर्दै उद्यम गर्न चाहने स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कृषि, पशुपालन, होमस्टेलगायत व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्ने वातावरण बनाइदिनका लागि नगरपालिकाले ब्याज अनुदान कार्यक्रम ल्याएको नगरप्रमुख विमला राईले बताए । “उद्यम गर्न चाहने नागरिकका लागि लगानी अभाव नहोस् भनेर ब्याज अनुदान कार्यक्रम ल्याइएका छ । यसका लागि बैंकसँग सम्झौतासमेत गरिसकिएको छ”, उनले भने, “उद्यमीले बैंकबाट लिएको रु पाँच लाखसम्मको ऋणको ब्याज तीन वर्षसम्म नगरपालिकाले तिरिदिन्छ । यसले लगानी अभावमा उद्यमी बन्न नपाएका नागरिकलाई सहज हुने अपेक्षा गरेछौँ ।”

उद्यम गर्न चाहने स्थानीय नागरिकले बिनाब्याजको ऋण लिनका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने नगरपालिकाले बनाएका कार्यविधिमा उल्लेख छ । वडा–वडामा सङ्कलन भएको निवेदनलाई समेटेर नगरपालिकाले बैंकलाई सिफारिस गरेपछि उद्यम गर्न चाहने नागरिकले ऋण पाउने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

images
प्रकाशित मिति :माघ १०, २०८१ बिहिवार - ०९:२६:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology