Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

यथास्थितिवाद र तदर्थवादले कम्युनिस्ट आन्दोलन चल्न सक्दैन – उपाध्यक्ष श्रेष्ठ

यथास्थितिवाद र तदर्थवादले कम्युनिस्ट आन्दोलन चल्न सक्दैन – उपाध्यक्ष श्रेष्ठ

दैनिकी न्यूज

१३, माघ २०८१
यथास्थितिवाद र तदर्थवादले कम्युनिस्ट आन्दोलन चल्न सक्दैन – उपाध्यक्ष श्रेष्ठ
images

ललितपुर । पूर्वउपप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवाद र तदर्थवादले कम्युनिस्ट आन्दोलन चल्न सक्दैन भन्ने बताएका छन् ।
माओवादी केन्द्रको भातृ सङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनको शनिबार लगनखेलमा आयोजित तेस्रो ललितपुर जिल्ला सम्मेलनमा मन्तव्य राख्दै उपाध्यक्ष श्रेष्ठले माक्सवादलाई सिद्धान्तहरुको थुप्रोका रुपमा मात्रै बुझ्नु नहुने भन्दै माक्सवाद पद्धति विज्ञानका साथै भौतिकवादी द्वन्द्ववाद भएकोले यसलाई ग्रहण गर्नु माक्सवादी हुनु हो भनेका हुन् ।
'पार्टीको रुपान्तरण अनिवार्य सर्त हो, नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई सफल बनाउँदै समृद्धितर्फ लैजाने हाम्रो कार्यभार हो।' उनले भने ।
उनले शैक्षिकस्तरमा उच्चस्तरको उपाधि हासिल गरेको र मानसिक श्रममा आवद्ध व्यक्तिहरु बुद्धिजीवी सङ्गठनको सदस्य हुने व्यवस्था भएको बताउँदै पार्टीमा भोट हाल्ने र पार्टीबाट अवसर लिने मात्रै बौद्धिकहरुको काम हैन भने।
'अध्ययनशील ब्यक्तिहरु बौद्धिक हुन्छन्, तर बौद्धिकहरु अनिवार्य क्रान्तिकारी हुन्छन् भन्ने छैन, तथ्यहरुको संस्लेषण गरेर बैज्ञानिक ढंगले विश्लेषण गरेर सत्यमा पुग्नेहरु नै क्रान्तिकारी बौद्धिक हुन्, यो सङ्गठनलाई क्रान्तिकारी बौद्धिकहरुको सङ्गठन बनाएर पार्टीलाई लक्ष्यमा पुग्न सक्यौं भने सफलता हासिल हुन्छ, माक्र्सवादी क्रान्तिकारी दृष्टिकोणबाट नेपालको बर्ग संरचना, अहिलेको अवस्थाको बारेमा दृष्टिकोणका बारेमा बौद्धिक बर्गले लेख्न सक्नुपर्छ।' श्रेष्ठले भने ।
उपाध्यक्ष श्रेष्ठले सरकारले हालै ल्याएका अध्यादेशका बारेमा अध्ययन अनुसन्धान गरेर बौद्धिक जमातले अध्ययन गरेर पार्टीलाई सुझाव दिएको त पाइएन भन्दै बुद्धिजीवी सङ्गठनले गर्नुपर्ने काम नै गरिरहेको छैन भन्नेमा सचेत गराए ।
'बुद्धिजीवीहरुले जीवन र जगतलाई हेर्ने माक्र्सवादी दृष्टिकोणलाई ग्रहण गर्न सक्नुपर्छ, माक्सवाद अपरिवर्तनीय सिद्धान्त पनि हैन, यसलाई समयसापेक्ष परिमार्जन पनि गर्न सकिन्छ भनिएको छ, यो पथ परदर्षक हो, जडसुत्रवादी सिद्धान्त हैन, कुनै पनि सिद्धान्त किताबमा लेखिएको छ भनेर मात्रै सत्य प्रमाणित हुने हैन, त्यो बैज्ञानिक आधारमा पनि उपयुक्त हुनुपर्छ, माक्सवाद पूर्ण हैन, यसलाई समयसापेक्ष विकास गर्दै पथ प्रदर्षक सिद्धान्तका रुपमा अगाडि बढाउँदै लैजानुपर्छ ।' श्रेष्ठले भने ।
उपाध्यक्ष श्रेष्ठले माक्र्सवादका कतिपय  सिद्धान्त असफल भयो भन्दैमा सबै असफल भयो भनेर हेरिनु हुँदैन भन्नुहुँदै पार्टी र क्रान्तिकारी आन्दोलनमा माक्सवादी विचार र संस्कृतिको अभियान निरन्तर चलाइरहनुपर्छ भने ।
'समाजवाद लोकतन्त्रको सर्वोत्तम अभ्यास हो, श्रमजीवी, सर्वहारा वर्गको सत्तामा पहुँच पुर्‍याउन प्रत्यक्ष जनताबाट चुनिएका प्रतिनिधिहरुको संस्थागत प्रणालीबाट सञ्चालन गर्नुपर्छ, विज्ञान प्रविधिको विकास र सूचना प्रविधिको विकासलाई सम्बोधन गर्ने गरी हिजोको कमजोरीको सुधार गरेर माक्र्सवादको विकास गर्ने दृष्टिकोणबाट हामीले सोच्नु पर्छ, यही आधारमा हाम्रो क्रान्तिकारी नेतृत्व स्थापित गर्न लाग्नुपर्छ ।' उनले भने ।
उनले समाजबाद उन्मुख समावेशी लोकतन्त्र संविधानको अन्तरवस्तु हो भन्दै परम्परागत संसदीय गणतन्त्र माओवादीको कार्यदिशा हैन भन्ने बताए ।
'विदेशी भूमिका श्रम गर्न गएका ३० लाख नेपालीलाई हामीले फर्काउन सकेनौं भने हाम्रो राजनीतिक उद्देश्य प्राप्त हुन सक्दैन, प्रधानमन्त्री, मन्त्री हुन, सांसद हुनका लागि मात्रै पार्टीलाई सङ्गठनलाई बलियो बनाउन सोच्ने हैन, समाजवादी क्रान्तिलाई सफल बनाउँदै प्रतिगमनलाई असफल बनाउन लाग्ने हो, अब सुशासन, समृद्धि र सामाजिक न्यायमा केन्द्रीत हुनुपर्छ।' श्रेष्ठले भने ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि दाहाल, ललितपुर जिल्ला संयोजक शिव कट्टेललगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

images
प्रकाशित मिति :माघ १३, २०८१ आइतवार - ०९:२०:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology