Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोशी प्रदेश लगानी सम्मेलनमा ग्रिन हाइड्रोजनमा अधारित रासायनिक मल कारखाना स्थापनासम्बन्धी सम्झौतामा हस्ताक्षर

कोशी प्रदेश लगानी सम्मेलनमा ग्रिन हाइड्रोजनमा अधारित रासायनिक मल कारखाना स्थापनासम्बन्धी सम्झौतामा हस्ताक्षर

दैनिकी न्यूज

२०, बैशाख २०८२
कोशी प्रदेश लगानी सम्मेलनमा ग्रिन हाइड्रोजनमा अधारित रासायनिक मल कारखाना स्थापनासम्बन्धी सम्झौतामा हस्ताक्षर
images

मोरङ । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा एक खर्ब ५२ अर्ब १६ करोडको परियोजनाका लागि सम्झौता भएको छ ।

कोशी प्रदेश सरकारद्वारा आयोजित दुईदिने ‘कोशी प्रदेश लगानी सम्मेलन–२०२५’को शुक्रबार समापन कार्यक्रममा विभिन्न ४६ परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला र लगानीकर्ताहरूबीच सहमतिपत्र सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषिसम्बन्धी आठ ऊर्जासम्बन्धी तीन, उद्योगसम्बन्धी बाह्र, पूर्वाधारका नौ, सूचना प्रविधिका दुई, पर्यटनसम्बन्धी दश र फोहरमैला व्यवस्थापनसम्बन्धी दुई वटा परियोजनाका लागि सहमतिपत्रमा सम्झौता सम्पन्न भएको छ । निजी क्षेत्रका १९ र सार्वजनिक–निजी साझेदारीका २७ वटा परियोजनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको प्रदेश लगानी प्राधिकरणले जनाएको छ । प्रदेश सरकारले लगानी सम्मेलनमा ७१ वटा परियोजना प्रदर्शनमा राखी अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोड तोकेको थियो ।

सम्मेलनमा ग्रिन हाइड्रोजनमा अधारित रासायनिक मल कारखाना स्थापना सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ । सम्झौतामा प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा। सरोज कोइराला र ग्रिन हाइड्रोजन कम्पनीका प्रवन्ध निर्देशक गालब बहादुुर ढुंगानाले हस्ताक्षर गरेका छन् । काठमाडौं विश्वविद्यालयले तयार पारेको परियोजनामा हस्ताक्षर भएको काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा। विराजसिंह थापाले जानकारी दिए ।

विश्वविद्यालयका हाइड्रोजन ल्याब प्रमुख समेत रहेका डा। थापाले यो परियोजनामा हस्ताक्षर हुन खुसीको कुरा भएको बताए । मल कारखाना स्थापनाका लागि ४० वर्षदेखि कुरा भएपनि सरकारी स्तरबाट कारखाना स्थापनाका लागि यो नै पहिलो पहल भएको हो । यो परियोजना निर्माणमा सरकार तथा प्रतिपक्षी दलले समेत ऐक्यवद्धता जनाएकाले परियोजना अघि बढ्नमा सहज हुने सहप्राध्यापक थापा बताउँछन् ।

डा. थापाका अनुसार यो परियोजनाको कूल लगानी २६ अर्ब रुपैयाँ छ र तीन वर्षभित्रमा डीपीआर तयार हुनेछ । यो कारखाना उदयपुर र सुनसरीको बीचमा राख्ने योजना रहेको उनले बताए । उदयपुर सिमेन्टबाट निस्केको कार्बनडाईअक्साइड यो उद्योगमा जोडेर अघि बढ्ने योजनासमेत छ ।

पूर्वमा वार्षिक दुई लाख मेट्रिकटन मल उत्पादन हुने, उदयपुर सिमेन्ट फेरि संचालनमा आउने र उद्योगबाट निस्कने धुवाँको व्यवस्थापन हुने थापाले बताए । यसले खाद्य सुरक्षामासमेत ठूलो मद्दत पुग्ने उनको भनाई छ । थापाका अनुसार यो परियोजना नेपालको कृषि, उर्जा र औद्योगिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन ठूलो सहयोग गर्नेछ ।

उनका अनुसार यो परियोजना सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत सञ्चालनमा आउनेछ । नेपालमा वार्षिक ८ लाख मेट्रिक टन रासायनिक मलको माग भएपनि अधिकतम ५ लाख मेट्रिक टनसम्म मात्रै आपूर्ति भइरहेको छ । त्यो पनि आवश्यक परेको समयमा रासायनिक मल उपलब्ध नहुँदा किसानले बर्षेनी चर्को अभावको समस्या व्यहोर्न बाध्य हुन्छन् ।

images
प्रकाशित मिति :बैशाख २०, २०८२ शनिवार - १५:५२:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology