काठमाडौं । हुम्ला, दाङ, रूपन्देही र रौतहटमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यू भएको छ ।
हुम्ला, सिमकोट गाउँपालिका–१ बैजीबाडास्थित सडकमा दोजामदेखि खार्पुनाथतर्फ जाँदै गरेको क.प्र.०२–००१ त ३५३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार खार्पुनाथ गाउँपालिका–२ बस्ने २८ वर्षीय मिलन बोहोराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १२ जना मध्ये ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ४ जनालाई थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ ।
दाङ, गढवा गाउँपालिका–२ महादेवा पुलस्थित सडकमा गोबरडिहाबाट सिसहनियातर्फ जाँदै गरेको रा. २ प ६२६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई
शुक्रबार बेलुकी दुर्घटना हुँदा चालक राप्ती गाउँपालिका–३ मसुरीया बस्ने ४३ वर्षीय खेम बहादुर पुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-१ भगवानपुरस्थित सडकमा कक्रहवाबाट लुम्बिनीतर्फ आउँदै गरेको युपि ५५ एबि ३६६७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार कपिलवस्तु शुद्धोधन गाउँपालिका–५ बस्ने १४ वर्षीय राहुल पण्डित भन्ने गोबिन्द शुक्लाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका २ जना साइकलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रूपन्देही, मायादेवी गाउँपालिका–६ वेथरी पुलस्थित सडकमा लु. ८३ प ७६६७ नम्बरको मोटरसाइकललाई बा. १७ च ५८९९ नम्बरको स्कारपियोले शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सम्मरीमाई गाउँपालिका–६ बस्ने २० वर्षीया सिमा प्रजापती कहारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट, गरुडा नगरपालिका–८ जिगडियास्थित सडकमा बिआर ३० यु ४४१४ नम्बरको मोटरसाइकललाई ना. ५ च १५८ नम्बरको पिकअपले ठक्कर दिँदा मोटरसाइकल चालक माधवनारायण नगरपालिका–३ बस्ने ४० वर्षीय दिनानाथ साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बेटर नेपाल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको अनामिका हस्पिटलमा उपचार भइरहेको छ । हाल फरार पिकअप चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।