मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको एक समूहको अधिवेशन सम्पन्न भएको छ भने अर्को समुहको अधिवेशन आगामी अगस्ट २९ गर्ने घोषणा भैसकेको छ । यो अधिवेशनसगै एनआरएनए मलेसिया बिधिवतरुपमा फुटेको छ ।
आईतवारको अधिवेशनबाट अध्यक्ष पदमा राकेश प्रसाद महतो निर्विरोध निर्वाचित भएका छन । कार्यक्रमका प्रमुख अतिथि एनआरएनए मलेसियाका पूर्व अध्यक्ष हरि भट्टराई रहेका थिए भने, संस्थापक अध्यक्ष शंकरबहादुर पौडेल विशेष अतिथिका रूपमा उपस्थित थिए । पूर्व अध्यक्ष भट्टराईकै निर्देशनमा
एनआरएनए मलेसिया फुटेको हो । केही दिनपहिले मलेसियामा रहेका सबै संघ संस्था बसेर अगस्ट २९ मा अधिवेशन गर्ने सहमति गर्दै हस्ताक्षर गरेपनि नेपाल रहेका भट्टराई मलेसिया पुगेर उक्त सहमति तोड्दै आइतबार एउटा समूहको अधिवेशन गराएका हुन ।
गैरआवासीय नेपाली संघ मलेसियामा बिगत एक बर्षदेखि विवादहरू चलिरहेका थिए । यसैबीच सम्पन्न अधिवेशनमा पूर्व अध्यक्ष विनोद थापा, निवर्तमान उपाध्यक्ष इन्द्रनारायण लिम्बु लगायत मलेसियामा रहेका धेरै संघ संस्था का प्रतिनिधिहरू अधिवेशनमा अनुपस्थित रहे । यस्तै, नेपाली राजदूतावास मलेसियाका प्रतिनिधिहरूको समेत अधिवेशनमा उपस्थिति रहेन ।
उक्त समुहको अधिवेशनले राकेश प्रसाद महतोको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिमा विभिन्न वर्ग, समुदाय र भूगोल समेट्नेगरी समावेशी प्रतिनिधित्व गरिएको अध्यक्ष महतोले बताए । उनले हाल केही विवाद देखिएपनी पछि सबैलाई संस्थामा समेट्ने दावी गरे ।