Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बागमतीमा तामाङ प्रसारण दिवस मनाईयो

बागमतीमा तामाङ प्रसारण दिवस मनाईयो

दैनिकी न्यूज

३, भाद्र २०८२
बागमतीमा तामाङ प्रसारण दिवस मनाईयो
images

हेटौंडा । नेपाल तामाङ पत्रकार संघ, बागमती प्रदेश र मकवानपुर जिल्ला समितिको सयुक्त आयोजनामा ३१ औं तामाङ प्रसारण दिवसको अवसरमा ‘अन्तरक्रिया तथा पुरस्कार वितरण समारोह’ सम्पन्न भएको छ ।
बागमती प्रदेशको  बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तामाङ पत्रकार संघ बागमती प्रदेशले स्थापना गरेको ‘आईतेसिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता’ र मकवानपुर जिल्ला शाखाले स्थापना गरेको ‘तामाङ पत्रकारिता पुरस्कार’ वितरण गरिएको थियो । प्रदेश पुरस्कार तामाङ भाषामा २३ वर्षदेखि निरन्तर प्रकाशित तामाङ डाजाङका प्रकाशक अर्जुनबहादुर तामाङलाई नगद रु १० हजार १ सय रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो भने जिल्ला पुरस्कार हेटौंडा सन्देश डटकमका पत्रकार भुवन घलानलाई नगद रु ५ हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो । ‘आईतेसिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता’ कोष युवा व्यवसायी तथा पत्रकार राजेश रुम्बा लामाले आफ्नो बुबा आमाको सम्झनामा स्थापना गरेको हो ।


कोष स्थापना गर्न मुख्यमन्त्रीले गरे २ लाख सहयोग
मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले तामाङ पत्रकार संघ, बागमती प्रदेश समितिलाई अक्षयकोष स्थापनाको लागि व्यक्तिगत रुपमा रु २ लाख रुपैयाँ सहयोग गरेका छन । कार्यक्रमकै बीच मुख्यमन्त्री बानियाँले २ लाखको चेक पत्रकार संघका प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङलाई हस्तारण गरेका थिए । मुख्यमन्त्री बानियाँले सो रकम ‘बुबा छेमबहादुर बानियाँ–दाजु राजकुमार बानियाँ’ को स्मृतिमा अक्षय कोष स्थापनाको लागि हस्तारण गरिएको हो ।
कार्यक्रममा लोकतान्त्रिक गणतन्त्रमा मातृभाषा संरक्षण गर्नु प्रदेश सरकारको दायित्व भएको बताउँदै मुख्यमन्त्री बानियाँले तामाङ भाषा, संस्कृति र परम्पराको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले जाति र भाषाको नाममा राजनिति गर्न नहुने र यसले गर्दा समाज विभाजन तर्फ जाने बताए ।
कार्यक्रममा ‘सरकारी कामकाजी भाषाका रूपमा तामाङ भाषाको प्रभावकारी कार्यान्वयनमा सञ्चारमाध्यम तथा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी, कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तान, वरिष्ठ पत्रकार प्रताप बिष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर र नेपाल तामाङ घेदुङका संघीय सदस्य मेम्बर लो तामाङ प्रमुख वक्ताका रूपमा थिए ।
उनीहरुले ‘सरकारी कामकाजको भाषा सम्बन्धी ऐन, २०८०’ प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह जिम्मेवार बन्नुपर्ने धारणा राखे । नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य मेम्बर लो तामाङले मातृभाषा केवल औपचारिक प्रयोगमा सीमित नभई दैनिकीमा लागू गर्नुपर्नेमा जोड दिँदै समुदायभित्रै तामाङ भाषा बोल्ने वक्ता कम हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले स्थानीय सरकारहरू भौतिक विकासमा मात्र केन्द्रित हुँदा भाषा ऐन कार्यान्वयनमा कमी आएको स्वीकार गर्दै आगामी दिनमा प्रदेश तथा स्थानीय तहबीच समन्वयमा काम गर्न तयार रहेको बताए । वरिष्ठ पत्रकार प्रताप विष्टले ऐन कार्यान्वयनमा तामाङ घेदुङ संघले पर्याप्त पहल नगरेको टिप्पणी गर्दै भाषा बलियो भए मात्र राष्ट्र बलियो हुने धारणा राखे ।
संस्कृति तथा पर्यटन मन्त्रालको सहकार्यमा भएको कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले मन्त्रालयतर्फबाट भाषा ऐन कार्यान्वयनका काम तीव्रत गतिमा भइरहेको जानकारी दिँदै नियमावली तयार भएको बताए । उनले नेपाल तामाङ घेदुङ र नेवादयः दबूको सहकार्यमा सरकारी कार्यालयका कर्मचारीका लागि भाषा प्रशिक्षण प्याकेज बनाइएको समेत बताए ।
तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङको सभापतित्वमा भएको सो कार्यक्रमा संविधानसभा सदस्य गोविन्द्रराम चेपाङ, जिल्ला समन्वय समिति, मकवानपुरको प्रमुख ललितबहादुर घलान, तामाङ पत्रकार संघका संघीय सचिव आदर्श थोकर, नेपाल आदिवासी पत्रकार महास‌घ बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, नेपाल तामाङ घेदुङको जिल्ला अध्यक्ष कालु घलान लगायतले मन्तव्य राखेका थिए ।

images
प्रकाशित मिति :भाद्र ३, २०८२ मंगलवार - ०८:००:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology