ललितपुर । गोदवरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बज्रबाराही अस्पतालको स्वास्थ्य सेवामा उत्कृष्टताका लागि जोड दिएका छौँ भन्ने भनाई राखेका छन् ।
निजामती सेवा दिवसको अवसरमा बज्रबाराही चापागाउँ अस्पतालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी ललितपुरको समन्वयमा आइतबार रक्तदान कार्यक्रमको शुभारम्भका अवसरमा मन्तव्य राख्दै नगरप्रमुख महर्जनले पहिलेको तुलनामा बज्रबाराही अस्पतालले उपलब्ध गराउने सेवा प्रभावकारी हुँदै गएको छ भन्दै अझै प्रभावकारी र गुणस्तरीय बनाउन जोड दिए।
'सेवाग्राही सन्तुष्ट हुने क्रम बढ्दैछ, अस्पतालको सेवालाई अझै भरपर्दो, विश्वासनीय र सहज बनाउन गोदावरी नगरपालिकाले दिने सहयोगलाई ध्यान दिएर काम गर्नेछौं, दशैं अगाडि नै अस्पताललाई डेन्टल मेसिनका लागि व्यवस्थापन गर्नेछौं, गोदावरी नगरपालिका र दक्षिण ललितपुरका तीन वटा गाउँपालिकालाई समेत सेवा दिने यस अस्पतालले विरामीको सहजताका लागि ध्यान दिन सक्नुपर्छ।' उनले भने ।
प्रमुख महर्जनले अनुशासनपूर्वक इमानदारीका साथ प्रभावकारी सेवा दिएर नागरिकको सन्तुष्टि आर्जन गर्न आग्रह गरे। उनले ललितपुरमा रगतको आवश्यक पर्दा जिल्ला रेडक्रसले प्रभावकारी समन्वय गरेको छ भन्दै अझै प्रभावकारी रुपमा सेवा प्रवाहलाई जोड दिए।
नेपाल रेडक्रस सोसाइटी ललितपुरका सभापति बाबुराजा महर्जनले ललितपुर रक्त सञ्चार केन्द्रबाट रक्तदान सेवा मार्फत रगत संकलन गरेर अत्यन्तै महत्त्वकासाथ विरामीलाई निस्शुल्क रुपमा रगत उपलब्ध गराइरहेको जानकारी गराए।
अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष रामहरि घिमिरेले अस्पतालको सेवालाई नागरिकमैत्री बनाउन लागिपर्ने बताउँदै विरामीहरुलाई सहज उपचारको व्यवस्थापनका लागि जोड दिने बताए।
मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अंकुर पौडेलले रक्तदान असामान्य कार्य भएको भन्दै एक जना मानिसले दिएको रगतले अर्को एक जना व्यक्तिको जीवन बचाउन महत्त्वपूर्ण काम हुने धारणा राखे ।