ललितपुर । बागमती गाउँपालिकामा आइतबार कर्मचारीहरूको उपस्थितिमा विशेष छलफल सम्पन्न भएको छ। भाद्र २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न आयोजित छलफलमा सहभागीहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकसन्तप्त परिवारलाई समवेदना व्यक्त गर्दै मृत आत्माको चीरशान्तिको कामना गरिएको छ।
गाउँपालिकाका सूचना अधिकारी मिलन शर्मा घिमिरेका अनुसार छलफलमा घाइतेहरूको स्वास्थ्य लाभको शुभकामना दिंदै मुलुकमा चाँडै शान्ति, सुरक्षा र सुशासन कायम होस् भन्ने अपेक्षा व्यक्त गरिएको छ।
आन्दोलनका क्रममा ऐतिहासिक संरचना, सरकारी तथा निजी पूर्वाधारमा पुगेको क्षतिको समीक्षा गर्दै गाउँपालिकाका कर्मचारीहरूले “हाम्रो नेपाल, हामी आफैँ बनाऔँ” भन्ने नारा सहित पुनर्निर्माण अभियान थालनी गरेका छन्। अभियानअन्तर्गत तत्काल २० हजार ८५५ रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंक लिमिटेड, रामशाहपथ शाखा मार्फत जम्मा गरिएको घिमिरेले जानकारी दिए।
यस अभियानलाई थप प्रभावकारी बनाउन इच्छुक नागरिकलाई पनि सो कोषमा सहयोग रकम जम्मा गर्न र भुक्तानीको विवरण सामाजिक सञ्जालमा #hamronepalhamiafaibanau ह्यासट्याग प्रयोग गरी सार्वजनिक गर्न अपिल गरिएको छ।