काठमाडौं । सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रामेछाप, चितवन र नवलपरासी पश्चिममा भएको सवारी दुर्घटनामा परि तीन जनाको मृत्यू भएको हो ।
रामेछाप, रामेछाप नगरपालिका-७ भालुखोपस्थित सडकमा भालुखोपबाट रामेछापडाँडातर्फ आउँदै गरेको बागमती बि-एच ९२१९ नम्बरको ट्याक्सी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक मन्थली नगरपालिका-४ हुडीछाप बस्ने ४१ वर्षीय लाल काजी घिसिङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रामेछापमा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवन, भरतपुर महानगरपालिका-७ पिपल चोकमा भरतपुरबाट चनौलीतर्फ जाँदै गरेको ग.२ ख १४०४ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-७ बस्ने ७२ वर्षीया नन्दाकली कंडेलको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ नयाँबस्तीस्थित सडकमा परासीबाट सुनवलतर्फ आउँदै गरेको बा.८२ प ९८६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया प्रमिला तेलीको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको तिनाउ ईन्टरनेशनल हस्पिटल बुटवल रूपन्देहीमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।