ललितपुर । गोदावरी नगरपालिकाले प्रहरीको उद्धार, राहत र सुरक्षासम्बन्धी कार्यमा सहयोग पुर्याउने उद्देश्यले चापागाउँ प्रहरी वृत्तलाई विभिन्न सामाग्रीसहित तीनवटा मोटरसाइकल हस्तान्तरण गरेको छ। साथै, जेन–जी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्तको भवन पुनर्निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गरेको नगरपालिकाले जनाएको छ।
आइतबार गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले उक्त सहयोग प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र जिल्ला प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीलाई संयुक्त रूपमा हस्तान्तरण गरे। हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, पत्रकार र समुदायका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
नगर प्रमुख महर्जनले प्रहरी संस्थालाई स्थानीय तहको साझेदारको रूपमा सम्मान गर्दै कठिन परिस्थितिमा सहयोग गर्नु प्रत्येक नागरिक र निकायको दायित्व भएको बताए।
“प्रहरीलाई अप्ठ्यारो परेको वेला हामीले सहयोग गरेका हौँ। अहिले प्रहरी भौतिक रूपमा निकै दयनीय अवस्थामा छ, त्यसैले स्थानीय समुदाय र तहहरूले मिलेर सहयोग गर्नुपर्ने हुन्छ,” उनले भने।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ललितपुर जिल्लाले असामान्य अवस्थालाई सामान्यतर्फ फर्काउँदै अन्य जिल्लाभन्दा शान्ति–सुरक्षाको दृष्टिले अघि रहेको उल्लेख गर्दै सहयोग गर्ने सबै निकायप्रति आभार व्यक्त गरे ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत खड्काले पनि यो सहयोग प्रारम्भिक मात्र भएको जनाउँदै आगामी दिनमा आवश्यक अनुसार थप सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे।
“यो सुरुवाती चरणको सहयोग हो। प्रहरी वृत्त र अन्य सुरक्षासम्बन्धी निकायहरूलाई अझ सबल बनाउन हामी निरन्तर सहकार्य गर्नेछौँ,” उनले भने।
नगरपालिकाले हस्तान्तरण गरेको सामग्रीमा उद्धार तथा विपत् व्यवस्थापनमा प्रयोग हुने तीन थान मोटरसाइकल, ५० थान लेडर ग्लोब्स, ५० थान कटन ग्लोब्स, १० थान टर्च लाइट, २ थान ब्याक बोर्ड, ३ थान फ्लास लाइट, २२० थान डाइनामिक रेस्क्यु रोप, १५ थान साबेल, १५ थान पिक, १०० थान सेफ्टी भेस्ट, ५ थान स्ट्रेचर, १० थान प्राथमिक उपचार बक्स, १०० थान रेनकोट, ५ थान लाइफ रिङ, ५ थान थ्रो ब्याग, ५० थान सेफ्टी हेल्मेट, र ३ थान मेघा फोन माइक रहेका छन्।
प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले गोदावरी नगरपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै यसले प्रहरीलाई मनोबल दिनका साथै विपत् व्यवस्थापनमा क्षमतावृद्धि गर्न मद्दत पुग्ने बताए।
उनका अनुसार जेन–जी प्रदर्शनका क्रममा ललितपुर जिल्लामा भएका तोडफोड र आगजनीका कारण २१ वटा प्रहरी युनिट प्रभावित भएका थिए। तीमध्ये सबै युनिट अहिले पुरानै अस्थामा फर्किसकेका छन् भने थप दुई युनिट पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले जानकारी दिए।
एसएसपी बोगटीले आन्दोलनका क्रममा लुटिएका केही प्रहरी हतियार अझै फिर्ता नआएकाले त्यसको खोजी कार्य तीव्र रूपमा भइरहेको बताए। उनले सो कार्यमा स्थानीय समुदायको सहकार्य अत्यावश्यक भएको बताउँदै, “प्रहरी र समुदायबीचको विश्वास र सहकार्यले मात्र शान्ति र सुरक्षा कायम गर्न सकिन्छ,” भने।
गोदावरी नगरपालिकाको यस कदमलाई स्थानीय समुदायले पनि सकारात्मक रूपमा लिएका छन्। स्थानीयबासीका अनुसार प्रहरीलाई आवश्यक सहयोग प्रदान गर्न स्थानीय निकायहरू सक्रिय हुनु प्रशंसनीय कदम हो, जसले विपत् तथा आकस्मिक अवस्थाहरूमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउनेछ।