ललितपुर । लेखक मदनराज ताम्राकारद्वारा लिखित आत्मसंस्मरणात्मक कृति ‘अतीतको झझल्को’ शनिबार ललितपुरको जावलाखेलमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ।
साहित्यकार तथा प्राज्ञ डा. तुलसीप्रसाद भट्टराईले उक्त पुस्तक सार्वजनिक गरेका हुन्। कार्यक्रममा बोल्दै डा. भट्टराईले अवकाशपछिको जीवनलाई सिर्जनात्मक र सार्थक बनाउने उद्देश्यसहित लेखिएको यो कृतिले लेखकका जीवनअनुभवलाई समाजका लागि दस्तावेजीकरण गरेको बताए।
पुस्तक ‘अतीतको झझल्को’मा लेखक मदनराज ताम्राकारका जीवनका अनुभूति, नेपाल तथा विदेश भ्रमणका अनुभव, संस्मरणात्मक लेख र आत्मकथ्यपरक रचनाहरू समेटिएका छन्। नेपाल बैंक र एभरेष्ट बैंकमा लामो समय जागिरे जीवन बिताएका ताम्राकारले आफ्नो सेवा अवधिमा पाएका अवसर, भ्रमण तथा बसाइँका सन्दर्भलाई निबन्धका रूपमा प्रस्तुत गरेका छन्।
‘उषाकाल’ निबन्धमा लेखकले आफ्नो बाल्यकाल, पितापुर्खा, संयुक्त परिवारको संरचना, सामाजिक मर्यादा, खानपान र त्यतिबेलाको मध्यमवर्गीय जीवनशैलीलाई जीवन्त चित्रण गरेका छन्। बालमनोविज्ञानलाई छुने घटनाहरू, पारिवारिक प्रेम, अभाव र आशाका अनुभूतिहरू पुस्तकका महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत छन्।
त्यस्तै ‘बादल पछाडिको तारा’ निबन्धमा करिब सात दशकअघिको सामाजिक परिवेश, पारिवारिक मूल्य र प्रेमविवाहप्रतिको दृष्टिकोण समेटिएको छ। ‘जिन्दगीका तरङ्गहरू’, ‘समर्पण’, ‘बालबाल बचेँ’ लगायतका निबन्धहरूमा लेखकका जीवनका उतार–चढाव, जागिर, परिवार, शिक्षा, विदेश यात्रा तथा भूकम्पीय अनुभवहरू समावेश छन्।
‘सिमराः एक सम्झना’ र ‘अविस्मरणीय जङ्गल यात्रा’ निबन्धहरूमा जागिरका क्रममा देखिएका सामाजिक तथा द्वन्द्वकालीन यथार्थ चित्रित छन्। यस्तै, शल्यक्रिया, मृगौला प्रत्यारोपण र आमाको देहावसानसँग सम्बन्धित निबन्धहरूले मानवीय संवेदना र पीडालाई गहिराइमा प्रस्तुत गरेका छन्।
कार्यक्रममा वाल्मीकि क्याम्पसका उपप्राध्यापक तथा समालोचक तेजविलास अधिकारीले पुस्तकले इतिहास, साहित्य र समाजलाई जोड्दै पाठकलाई प्रेरणा दिने बताए। नेपाल पूजा प्रतिष्ठानका कोषाध्यक्ष विजयकुमार गौतमले संस्मरण साहित्यको नेपाली साहित्यमा छुट्टै महत्त्व रहेको उल्लेख गरे।
पुस्तकका प्रकाशक तथा लेखकका सुपुत्र किर्तनराज ताम्राकारले यो कृति साहित्यिक उपलब्धिमात्र नभई आफ्नो पिताको संघर्ष, अनुभव र प्रेरणाको प्रतिबिम्ब भएको बताए।
प्राध्यापक डा. कुमार कोइरालाले पुस्तकमा १४ वटा शीर्षकअन्तर्गत नेपाली सामाजिक परिवेशसँग सम्बन्धित जीवनकथाहरू प्रस्तुत गरिएको जानकारी दिए।
ताम्राकार समाजका निवर्तमान अध्यक्ष रबिन्द्रराज ताम्राकारले पुस्तक लेखन चुनौतीपूर्ण कार्य भए पनि मदनराज ताम्राकारले समाजका लागि गहकिलो र महत्त्वपूर्ण कृति तयार गरेको बताए।