काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले यातायात व्यवस्था कार्यालय चाबहिलमा भ्रष्टाचारको आशंकामा छापा मारेको छ। मङ्गलबार अख्तियारको टोलीले प्रमुख पेशलकुमार पोखरेलसहित कर्मचारीहरूको ३७ वटा बरामद गरेको छ।
कर्मचारीहरूले बिचौलियामार्फत सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा फेल भएकाहरू खोजेर प्रत्येक व्यक्तिसँग ५ हजार रुपैयाँदेखि १० हजार रुपैयाँ संकलन गरेको आरोप छ। यसरी रकम संकलन गरी ३ महिना अवधि नपुग्दै फेरि आवेदन दर्ता गरी लिखित परीक्षा दिन लगाएर भ्रष्टाचार गरेको भन्ने सूचना अख्तियारले पाएको हो। उक्त सूचना पाएपछि अख्तियारको टोलीले छापा हानेको हो।
अख्तियारको टोलीले कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित १७ जना कर्मचारीबाट २५ वटा मोबाइल नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित ३ जनाको ३ वटा मोबाइल बरामद गरेको छ।
त्यस्तै नेपाल ड्राइभिङ एण्ड रिकन्डिसन सेन्टर प्रा।लि। का मेनेजर बालकृष्ण सिंह समेत ७ जनाको ९ वटा मोबाइल प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै लिखित परीक्षा दिई फेल भएको मितिले ३ महिना अवधि नपुग्दै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीको उत्तरपुस्तिका लगायतका कागजातहरू पनि नियन्त्रणमा लिएको छ।