ललितपुर । बिहीबार बज्रबाराही चापागाउँ अस्पतालमा आपतकालीन व्यवस्थापन ड्रिल अभ्यास गरिएको छ । जुनसुकै बेला पनि आइपर्न सक्ने आपत्तकालीन अवस्थामा संयमित भएर प्रभावकारी सेवा कसरी प्रदान गर्न सकिन्छ ? भन्ने उद्देश्यले अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ड्रिल अभ्यास गराइएको हो । प्रकोपको समयमा स्वास्थ्यकर्मीको भूमिका, उपचार प्रक्रिया, प्रकोपका बेला पालना गर्नुपर्ने नियमलाई ड्रिल अभ्यास मार्फत् प्रस्तुत गरिएको थियो । ललितपुर–२४ धापाखेलमा पहिरो गएको कृत्रिम घटना मार्फत् घाइतेको उद्दार प्रक्रिया, उपचारमा स्वास्थ्यकर्मीको परिचालन, उपचारलगायत बिषयमा अभ्यास गरिएको थियो ।
अस्पतालको इर्मेजन्सी कक्षमा विरामीको अवस्था अनुसारको तोकिएको जोनमा राखेर उपचार गरिएको थियो । करिब तीन घण्टा भएको ड्रिल अभ्यासले आपतकालीन अवस्थामा अस्पतालले कसरी सेवाप्रवाह गर्ने भन्नेबारेमा जानकारी मिलेको सहभागी स्वास्थ्यकर्मीले बताएका छन् । यस्ता अभ्यासले ठुला दुर्घटना तथा प्रकोपका समयमा नआत्तिकन काम गर्न मद्धत मिल्ने बज्रबाराही चापागाउँ अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा. लक्ष्मण खड्काले बताए । ड्रिलका क्रममा भएका कमिकमजोरीलाई सुधार गर्दै लैजाने उनले प्रतिबद्धता जनाए । हरेक ६/६ महिनामा यस्ता अभ्यास गर्नु पर्नेमा बजेट अभावका कारण एक वर्षमा एक पटक मात्र ड्रिल अभ्यास गराइएको डा. खड्काको भनाइ रहेको थियो ।

सम्भावित बाढीपहिरोको अवस्थामा अस्पतालले पु¥याउने सेवाको अवस्था ड्रिलले उजागर गरिदिएको र यसलाई अनुभवको रूपमा लिएर कमजोरीलाई सुधार्ने र आपतको अवस्थामा प्रभावकारी उपचार सेवाको विकास गर्ने उद्देश्यले ड्रिल अभ्यास गरिएको अस्पतालका फोकल पर्सन डा. अमरदीप साहले बताए । यस अभ्यासले विपतको समयमा के–कस्ता अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्छ भन्ने पूर्वजानकारी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले पाएको र सम्भावित प्रकोपको समयमा यसले उपचार व्यवस्थापनमा अनुभव र आत्मबल मिल्ने उनले बताए ।
पाटन हस्पिटलका डा. कृपा महर्जनले विपद्को समयमा डाक्टरलगायत सुरक्षाकर्मीको पनि महत्वपूर्ण भूमिका रहने बताइन । ड्रिल अभ्यासकको क्रममा अस्पतालको नियमित सेवामा केही डिस्टर्भ भएकाले यसलाई सुधार गर्नु पर्ने उनले सुझाव दिइन् ।
गोदावरी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रेवतीराज कार्कीले सानो ठाउँ भएपनि ड्रिल चुस्त दुरुस्त देखाएकोमा प्रशंसा गरे । यस्ता ड्रिल समय समयमा गर्नु पर्ने भएकाले गोदावरी नगरपालिका सहयोग गर्न तत्पर रहेको बताए ।
नेपाल रेडक्रस सोसाइटी ललितपुरकी कञ्चन बस्नेतले रेडक्रसले सधैं पर्दा पछाडि रहेर विपद्का कठिन घडीमा उद्धार तथा सहयोगका कार्यहरू निरन्तर रूपमा गर्दै आएको बताइन् । उनले मानवीय सेवामा समर्पित यस संस्थाको भूमिका उल्लेखनीय रहेको उल्लेख गर्दै आजको कार्यक्रममा आफूलाई मेकअपसम्बन्धी सम्पूर्ण जिम्मेवारी दिइएकोमा हर्ष व्यक्त गरिन् । साथै, यस्तो अवसरले आफूलाई अझ जिम्मेवार र उत्साहित बनाएको उनले अनुभूति सुनाइन् ।
अस्पतालका अध्यक्ष रामहरि घिमिरेले विपद् व्यवस्थापन जस्तो संवेदनशील र चुनौतीपूर्ण कार्य कुनै एक संस्थाको एकल प्रयासले मात्र सम्भव नहुने धारणा व्यक्त गरे । उनले यस्तो अवस्थामा सबै सरोकारवाला पक्षबीच सहकार्य, समन्वय र आपसी सहयोग अपरिहार्य हुने उल्लेख गर्दै सामूहिक प्रयासबाट मात्र प्रभावकारी उद्धार र सेवा सम्भव हुने बताए । साथै, एकअर्कामा भरोसा र एकताको भावना नै विपद् सामना गर्ने सबैभन्दा ठुलो शक्ति भएको उनले जोड दिए ।
ड्रिल अभ्यास नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सञ्चारकर्मीलगायतले अवलोकन गरेका थिए ।