ललितपुर । स्थानीय तहले अधिकारसँगै स्वास्थ्य सेवा प्रवाहको जिम्मेवारीप्रति जवाफदेही हुनुपर्नेमा आयुर्वेदिक स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले जोड दिएका छन् ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरले शनिबार आयोजना गरेको आयुर्वेद सेवा तथा कार्यक्रमहरूको जिल्लास्तरीय अर्धवार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका बरिष्ठ कन्सल्टेन्ट सालोक्य चिकित्सक डा. पुष्पराज पौडेलले नागरिकलाई आरोग्य सेवा प्रदान गर्ने दायित्व स्थानीय तहकै भएको उल्लेख गरे । उनले “स्वस्थ नेपाली, समृद्ध नेपाल” भन्ने राज्यको लक्ष्य पूरा गर्न स्वास्थ्यकर्मीहरूले प्रभावकारी सेवा दिनुपर्ने जिम्मेवारी वहन गर्नुपर्ने बताए ।
उनका अनुसार आधारभूत तहको स्वास्थ्य सेवा उपलब्ध गराउने जिम्मा स्थानीय तहको भएकाले सेवा प्रवाह गर्दा आफ्नै सहजता भन्दा सेवाग्राहीको आवश्यकतालाई केन्द्रमा राख्नुपर्ने हुन्छ । सरकारी सेवामा रहेपछि जिम्मेवार र जवाफदेही भएर काम गर्नुपर्नेमा उनले जोड दिए । साथै, सेवाकालमा निष्क्रिय रहने र सेवा निवृत्तिपछि मात्र आलोचना गर्ने प्रवृत्तिले सुधार नआउने उनको भनाइ छ ।
डा. पौडेलले योजना तर्जुमा गर्दा स्थानीय तहको वास्तविक आवश्यकतालाई ध्यानमा राख्नुपर्ने र त्यसले कार्यान्वयनलाई सहज बनाउने उल्लेख गरे ।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. अमूल्य दाहालले आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूले वार्षिक तथ्याङ्क प्रस्तुतिमा मात्र सीमित नभई सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने दिशामा योजना निर्माण गर्नुपर्ने बताए । उनले सरसफाइ, व्यवहार र आचरण सुधारको आवश्यकता औंल्याउँदै स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले जिम्मेवारी, जवाफदेहिता र समन्वयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरका कार्यालय प्रमुख आयुर्वेद कन्सल्टेन्ट विज्ञ डा. पुनम नेपालले पछिल्लो समय आयुर्वेद उपचारप्रति सर्वसाधारणको चासो बढ्दै गएको तथ्याङ्क प्रस्तुत गर्दै अझै व्यापक जनचेतना आवश्यक रहेको बताइन्् ।
स्त्रीरोग तथा प्रसूति, मानसिक तथा मनोविज्ञान र बालरोग विशेषज्ञ सेवामा प्राथमिकता दिँदै आएको उक्त चिकित्सालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४७.३४ प्रतिशत आर्थिक प्रगति हासिल गरेको जानकारी गराइन् ।
चिकित्सालयले प्रत्येक बुधबार बिहान ८ बजेदेखि ‘पथ्य आहार कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको पहलमा सञ्चालित उक्त कार्यक्रममार्फत जनतालाई ऋतु अनुसारको आहार–विहारबारे जानकारी प्रदान गरिँदै आएको छ । कार्यक्रममा ललितपुरका स्थानीय तहका स्वास्थ्य शाखा र आयुर्वेद कार्यालयको प्रस्तुतीकरण थियो ।