ललितपुर, माघ ५ । मापसे सेवन गरेर जनप्रतिनिधि र स्थानीयलाई पेस्तोल ताकेको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । ललितपुरको वागमती गाउँपालिका वार्ड नम्बर ५ आश्राङमा रहेको आश्राङ प्रहरी चौकीका प्रमुख मदनसिंह खाती आइतबार पक्राउ परेका हुन् ।
जनप्रतिनिधि वडा सदस्यलाई तथानाम गाली गरेको, स्थानीयलाई बाटोमा हतियार (पेस्तोल) ताकेको, अपशब्द प्रयोग गरेर गाली गलौज गरेको उजुरी परेपछि महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिइ गएको प्रहरी निरीक्षक राजेन्द्र थापा, असई अर्जुन महर नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको छ । स्थलगत गर्दा असई खातीले अध्याधिक मादक पदार्थ सेवक गरेकोले नियन्त्रणमा लिइएको असई अर्जुन महरले दैनिकीन्युजलाई जानकारी दिए ।
असइ खाती माथि विभागीय कारवाहिको तयारी भएको छ । ‘अहिले घटनाको अनुसन्धान भैरहेको छ, सुक्ष्म अध्ययन र अनुसन्धानपछि मात्र कस्तो कारवाही गर्ने निष्कर्षमा पुगिने छ ।’ महानगरिय प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्णराज ओझाले दैनिकीन्युजसँग भने ।
आइतबार बेलुका खातुनले आश्राङ क्षेत्रमा आतंक मच्चाएपछि वृत्त तथा परिसरमा स्थानीयले खबर गरेका थिए । खबर पाए लगत्तै डिएसपी ओझाले इन्सपेक्टर थापाको नेतृत्वमा टोलीलाई आश्राङ पठाएका थिए ।