ललितपुर, जेठ १७ । गोदावरीखोला क्षेत्र सरसफाई अभियानले भौतिक दूरी कायम गरी ६५ औं श्रृङ्खला सम्पन्न गरेको छ ।
मुलुकमा दिनानुदिन बढ्दै गएको कोरना भाइरस (कोभिड–१९) का कारण गोदावरी खोला आसपासका कुलो, मठमन्दिर, पार्टी, पौवा आदिको सरसफाई अभियान्ताहरुले हरेक शनिवार गोदावरीमा गर्ने गरेका छन् ।
गोदावरीको वातावरण सदैव प्रदुषण रहित, हरभरा, स्वच्छ, सफा र सुन्दर बनाउन सो कार्यक्रममा १४ महिना अघिदेखि लागिरहेको अभियानका संयोजक बेबीराज भण्डारीले बताऐ । उनले भने, “हाल दिनानुदिन मुलुकमा सङ्क्रमण बढीरहेका बेला आफ्नो घरवरिपरिका सार्वजनिक स्थल सफा गरिरहेका छाँै । यस अभियानमा लागिरहेका हाल २९ जनाले आ–आफ्ना गाउँ, टोल बस्तीको सार्वजनिक ठाउँमा सरसफाई गर्ने कामलाई निरन्तरता दिइनै रहनु भएको छ ।” गोदावरी नगरपालिका को वडा नं १ दमैटार, २ विशङ्खुनारायणथान, ३ टौखेल र १४ ठैबका सार्वजनिक स्थान आज सामाजिक दूरी कायम गरी सरसफाई गरिएका भण्डारीले जानकारी दिए ।
उक्त सरसफाईको क्रममा उठेका कुहिने फोहरलाई खाल्डो खनेर गाड्ने र नकुहिने फोहरलाई जम्मा गरी व्यवस्थापन गरिने गरेको कार्यक्रममा सक्रिय अभियान्ता नारायणी पाण्डेले बताए । उनले भने, “हामी गोदावरी खोला नजिकका सार्वजनिक क्षेत्रको सुधार र सम्भार गर्न लागि परेका हौँ ।”
कोरोनो महामारी विश्वमा आउनुपूर्व कुनै पनि सार्वजनिक स्थानमा फोहर फाल्न हुनन् । फोहर बाल्न पनि हुनन् । नकुहिने फोहर एक ठाउँमा व्यवस्थापन गर्नुपर्छ र कुहिनेलाई खाल्डो खनेर पुर्नुपर्छ भनि ‘जवाफमुलक घरदैलो अभियान’ नामक कार्यक्रम मार्फत चेतना फैलाएको कार्यक्रमका अर्का अभियान्ता सुवोध थापाले बताए ।
सो अभियानले हरेक महिनाको एउटा शुक्रबार गोदावरीमा रहेका संस्थागतका साथै सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई फोहरको सदुप्रयोग गर्न सिकाउने गरेको थियो । सोही कार्यक्रम मार्फत ५ देखि ६ पटक गोदावरीका सार्वजनिक क्षेत्रमा बालबालिकालाई भ्रमण गराउन लाँदा बच्चालाई काममा प्रयोग गरियो भन्ने आरोप आएसँगै यसलाई रोकि आधारभूत तहका बालबालिकालाई यस सम्बन्धी जानकारी विद्यालयमै गएर दिन थालिएको अभियान्ताहरुको भनाई छ ।
सो अभियानले २५ आँै हप्तासम्म आइतबार एक घण्टा कार्यक्रम गर्ने गरेको थियो । २०७६ साल भदौ १४ गतेबाट २६ आँै हप्ताको कार्यक्रम शनिवारका दिन दुई घण्टा गर्दै आएको राजभण्डारीले बताए । गोदावरीमा पहिलो पटक सो अभियानको थालनी २०७५ साल फागुन २६ गतेबाट शुरु भएको थियो ।