काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका अवस्थामा थप आठ प्रकारका मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशहरुको बुधबार बसेको सो बैठकले थप आठ प्रकारका मुद्दा सुनुवाइ शुरु गर्ने निर्णय गरेको सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालले जानकारी दिए ।
सर्वोच्च अदालतले बन्दाबन्दी जारी भएपछि शुरुमा बन्दीप्रत्यक्षीकरण र महामारीसम्बन्धी मात्र मुद्दाहरुको सुनुवाइ शुरु गरेको थियो । त्यसपछि सेवाग्राही उपस्थित नहुँदा हुने मुद्दा र सार्वजनिक सरोकारका रिट निवेदनमाथि सुनुवाइ शुरु गरी अहिले थप आठ प्रकारका सुनुवाइ गर्ने निर्णय गरेको हो ।
बैठकले बन्दाबन्दीको अवधिमा दर्ता हुन आएको रिट निवेदनको कारवाही र सुनुवाइ गर्ने, सम्बन्धित पक्ष वा कानून व्यवसायी उपस्थित हुन सक्ने अवस्थाका मुलुकी फौज्दारी कार्यविधि संहिताअनुसारको निवेदनको कारवाही र सुनुवाइ गर्ने निर्णय गरेको छ । रासस