काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) ले एकता घोषणा गरेको ४६ औं दिन दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसहित आबश्यक कागजात बुझाएको छ । आइतबार अपरान्ह पार्टीका शीर्ष नेताहरु बाबुराम भटराई, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरु आयोग कार्यालय कान्तिपथ पुगेर दल दर्ताका लागि कागजात बुझाएका हुन् ।
आयोगले कागजातको आवश्यक छानविन गरेपछि जसपालाई औपचारिक मान्यता दिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्नेमिल्नेगरी अध्यादेश ल्याएपछि गत बैशाख १० मा राजपा र समाजवादीबीच पार्टी एकताको घोषणा भएको थियो । त्यसको भोलिपल्ट ११ वैशाखमा दुवै पार्टीका नेताहरू उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र शरतसिंह भण्डारी निर्वाचन आयोग पुगेर एकताबारे लिखित जानकारी दिएका थिए ।
आयोगमा लिखित जानकारी गराएको ४५ दिनभित्र दर्ता गराउनुपर्ने प्रावधान छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुई पार्टीबीच एकता गर्ने घोषणा गरेको ४५ दिनभित्र दलको विधान, पार्टी नेतृत्व, पार्टी एकता गर्न गरिएको सहमति, दुवै पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर, संयुक्त बैठकको निर्णय बुझाउनु पर्ने व्यवस्था छ । त्यसैअनुसार आइतबार अन्तिम दिन आयोग पुगेर जसपाका नेताहरुले दल दर्तासम्बन्धी कागजात बुझाएका हुन् ।
यसअघि आइतबार नै जसपाका शीर्ष नेताहरुको कार्यविभाजन भएको थियो । जसअनुसार संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेता अशोक राई र राजेन्द्र महतो छन् ।
तर, आयोगमा बुझाएको कागजमा भने भट्टराई र महतोलाई बरिष्ठ नेताका रुपमा राखिएको छ । भट्टराई निकट स्रोतले शीर्ष नेताहरु वरियता विवादलाई थाँती नै राखेर निर्वाचन आयोगमा दल दर्ता गरेको बतायो ।