Logo

बुधवार, श्रावण २७ गते २०८३

images

चापागाउँको ठुलो पोखरी भक्तपुरको सिद्धपोखरीको ढाँचामा मर्मत सम्भार हुँदै

चापागाउँको ठुलो पोखरी भक्तपुरको सिद्धपोखरीको ढाँचामा मर्मत सम्भार हुँदै

दैनिकी न्यूज

२६, जेठ २०७७
चापागाउँको ठुलो पोखरी भक्तपुरको सिद्धपोखरीको ढाँचामा मर्मत सम्भार हुँदै
images

ललितपुर । गोदावरी नगरपालिका वडा नं ११ चापागाउँस्थित सबैभन्दा ठुलो ‘प्याङगाउँ पोखरी’ भक्तपुरको सिद्धपोखरी जस्तै बनाउने योजनानुरुप धमाधम काम अघि बढिरहेको छ । प्याङगाउँको पुरानो सम्पदा पुनःजीवित गराउन सो पोखरी व्यवस्थीत बनाउन लागिएको हो ।

प्याङगाउँवासीले गत दुईवर्ष अघिनै सो पोखरी सफा, स्वच्छ, हराभरा बनाउने योजना अघि सारेका थिए । बजेट अभावका कारण सो योजना दुई वर्षसम्म त्यसै रहन बाध्य भएको थियो । नगरपालिकाले चालु आर्थिक वर्षमा रु २५ लाख सहयोग गरेपछि जेठको शुरुआती दिनदेखि नै पोखरीको माटो झिक्ने, कयौँवर्ष धमिलिएर रहेको पोखरीको पानी फालि पाँच फिट गहिरो बनाउने, वरिपरि १४३ मिटरको पर्खाल लगाउने र लगभग तीन फिट पानी भर्ने काम सकिसकेको प्याङगाउँ संस्कृति संरक्षण युवा समाजका अध्यक्ष सम्पूर्ण महर्जनले बताए । उनले भने, “हामीले भक्तपुरको सिद्धपोखरी जस्तै बनाउने योजनानुरुप वरिपरि ११४ घनमिटर पर्खाल लगाउने, बगैँचा बनाउने, महादेवको मन्दिर थापना गर्ने काम भने गर्न बाँकीनै रहेको छ ।” सो पोखरी स्वच्छ र व्यवस्थित बनाउँदा चापागाउँको वातावरण सुन्दर र सफा देखिने आकलनका साथ जेठ लागेसँगै दुई वटा डोजर लगाएर काम थालिएको महर्जनले जानकारी दिए ।

pokhari.jpg

सो पोखरी करिब पाँच देखि छ रोपनी क्षेत्रफलमा फैलिएको छ । पोखरीको बाहिरपट्टि आठ फिटको पर्खाल लगाउने पोखरीको चारै तिर विभिन्न प्रकारका फूल रोप्ने योजना पनि रहेको प्याङगाउँ पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष पाण्ड महर्जनले बताए । उनले भने, “यस पोखरीमा पानी सुक्यो भने प्याङगाउँमा अनिकाल लाग्छ भन्ने चलन छ । सदासर्वदा यस पोखरीमा पानी टन्न भयो भने प्याङगाउँमा आउने विनास रोकिन्छ भन्ने मान्यता पनि रहेको छ ।” यस पोखरी भित्र पानीको अन्य मुहान पनि भएको हुँदा यहाँको पानी चापागाउँका साथै वडा नं १३ झरुवारासीसम्म हिमपाइप हालेर लगिएको छ ।” सो पोखरी चापागाउँको सबैभन्दा ठुलो पोखरी भएको महर्जनले जानकारी गराए ।

सो पोखरी व्यवस्थीत बनाउन महर्जनको अध्यक्षतामा नौ जनाको उपभोक्ता समिति गठन भइ काम भइरहेको छ । पोखरीलाई व्यवस्थीत भइसकेपछि असल जातको माछा पालन गरी व्यवसाय पनि अघि बढाउने योजनामा आफूहरु रहेको प्याङगाउँवासीको भनाई छ । विगतमा गोरेटोबाटो रहँदा हरभर रहेको प्याङगाउँ पोखरी मानिसको आवागमन र बढ्दो जनसङ्ख्यासँगै ओझेलमा पर्दै गएको थियो । प्याङगाउँमा बसपार्क बनेसँगै सो पोखरी फोहर र दुर्गन्धले भरिएको देखिन्थ्यो ।

images
प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - १४:३६:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology