Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images

ढोकाअगाडि सुशासनको शपथ, टेबलमुनिबाट घुसको बकस

ढोकाअगाडि सुशासनको शपथ, टेबलमुनिबाट घुसको बकस

दैनिकी न्यूज

१०, आषाढ २०७७
ढोकाअगाडि सुशासनको शपथ, टेबलमुनिबाट घुसको बकस
images

काठमाडौं । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै सरकारी कार्यालयका कर्मचारीलाई ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न । म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने शपथको प्रतिज्ञा गराए । तर, यो शपथ व्यवहारमा भने अझै लागु हुन सकेको देखिँदैन ।

प्रधानमन्त्री कार्यालयदेखि सबै सरकारी कार्यालयको ढोकैमा देखिने गरी लेखिएको ‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्न’ भन्ने नाराले अहिले तिनै सरकारी कार्यालयलाई गिजाइरहेको छ ।

पछिल्लो समय भ्रष्टाचार र घुसखोरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको तथ्यांकले घुस लिने र भ्रष्टाचार गर्ने प्रवृत्ति झनै बढेर गएको देखाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा ३ सय ५० वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको थियो । गत वर्ष १९ वर्षको इतिहासकै धेरै भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारको दाबी थियो । तर, अहिले यो आर्थिक वर्षको १० महिनाको अवधिमा ३ सय ७० वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको छ ।

गत आर्थिक वर्षमा घुस लेनदेनका १ सय ५० वटा मुद्दा दर्ता भएकामा यो आर्थिक वर्षको १० महिनाको अवधिमा १ सय ४२ वटा मुद्दा दर्ता भइसकेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

म भ्रष्टाचार गर्दिनँ भन्ने नारा कर्मचारीले शपथका रूपमा खाए पनि भ्रष्टाचारको संख्यामा भने विगतभन्दा झनै बढेको प्रवक्ता कोइरालाले बताए । ‘अख्तियारले अहिले सक्रियता धेरै बढाएको छ,’ उनले भने, ‘उजुरी दिनेको संख्या पनि विगतभन्दा धेरै रहेको छ ।’

त्यस्तै, अख्तियारले आर्थिक वर्ष २०७४/७५ मा १ सय ९४ मुद्दा चलाएको थियो । २०७३/७४ मा १ सय ५४ वटा मुद्दा विशेष अदालतमा दर्ता भएका थिए । यो संख्या २०७२/७३ मा १ सय ४४ थियो । त्यसअघि पनि अख्तियारले यो वर्षभन्दा बढी मुद्दा दर्ता गरेको देखिँदैन ।

गत आर्थिक वर्ष अख्तियारले दायर गरेका भ्रष्टाचार मुद्दामध्ये १ सय ४७ वटा रंगेहात घुससँग सम्बन्धित छन् । नक्कली प्रमाणपत्रका ८८, सार्वजनिक सम्पत्ति नोक्सानीका ३९, गैरकानुनी लाभहानिका ३३, राजस्व हिनामिनाका १०, गैरकानुनी सम्पत्तिका १२ अनि विविध विषयका २२ वटा मुद्दा दायर भएका छन् ।

पछिल्लो तीन महिनाको अवधिलाई हेर्दा पनि अख्तियारले यो लकडाउनको अवधिमा मात्रै ४७ वटा केसमा ९७ जनाविरुद्ध विशेष अदालतमा दर्ता गरेको छ । अकुत सम्पत्ति, घुस, नक्कली सर्टिफिकेट, आर्थिक अनियमिततालगायतको मुद्दा अख्तियारले विशेष अदालतमा दर्ता गराएको छ ।

आर्थिक अनियमिततासँग सम्बन्धित १० वटा मुद्दा ३९ जनाविरुद्ध मुद्दा चलाइएको छ । नक्कली सर्टिफिकेट प्रयोग गरेर सरकारी जागिर खाने ११ जना, अकुत सम्पतिसँग जोडिएका चारवटा मुद्दामा आठ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

त्यस्तै, घुस रकम लिएका १४ वटामा २४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । घुस लिनेमा वन कार्यालयका प्रमुख, प्रहरी, स्थानीय निकायका वडा सदस्यसम्म छन् । अख्तियारले लकडाउनको अवधिमा १५ हजारदेखि ३ लाख रुपैयाँ घुस लिनेसम्मलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको पाइएको छ ।

त्यस्तै, राजस्वसम्बन्धी मुद्दामा १५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियारले यस आर्थिक वर्षमामा ललिता निवास जग्गा प्रकरणमा तीन पूर्वमन्त्रीसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता ग¥यो । बालुवाटारको ललिता निवास जग्गा प्रकरणलाई अख्तियारले ठूलो उपलब्धिका रूपमा लिएको छ ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएपछि उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेष अदालतले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाठकसँग ७८ लाख नै धरौटी मागेको थियो ।

‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न’ भन्ने निकायमा बस्ने पाठक मात्रै होइनन्, पछिल्लो समय अख्तियारमा बसेर गएका कर्मचारी तथा प्रहरीहरू पनि धमाधम भ्रष्टाचार काण्डमा नै मुछिएका छन् । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेत पनि अहिले सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा छन् । अख्तियारमा बसेर गएका प्रमुख अधिकृत, प्रहरी र कानुनका उपसचिवसहित ६ जनाभन्दा बढी घुस प्रकरणमा मुछिएको पाइएको छ । केही त अख्तियारद्वारा नै रंगेहात पक्राउसमेत परेका छन् ।

राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - ०६:३०:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology