Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति, दुई शिक्षकलाई २० हजारसहित सम्मान

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति, दुई शिक्षकलाई २० हजारसहित सम्मान

दैनिकी न्यूज

९, कार्तिक २०८३
मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति, दुई शिक्षकलाई २० हजारसहित सम्मान
images

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ सानिमदौमा १०२ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ। आर्थिक अवस्था कमजोर भएका छात्रालाई शिक्षामा निरन्तरता दिन सहयोग गर्ने उद्देश्यले श्याम सुवेदी तथा उनको परिवारले ११ वर्षदेखि सञ्चालन गर्दै आएको कार्यक्रमअन्तर्गत यस वर्ष आठ विद्यालय तथा शैक्षिक संस्थाका छात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो।

सानिमदौस्थित सामुदायिक भवनमा आयोजित कार्यक्रममा २६ जना छात्रालाई पूर्ण र ७६ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिएको आयोजकले जनाएको छ। छात्रवृत्ति कार्यक्रमका लागि यस वर्ष करिब १० लाख रुपैयाँ खर्च भएको छ।

पूर्ण छात्रवृत्ति पाउने क्याम्पस तहका छात्रालाई जनही १८ हजार रुपैयाँ नगदसहित ट्र्याकसुट, ब्याग तथा कापी–कलम प्रदान गरिएको थियो। विद्यालय तहका पूर्ण छात्रवृत्ति पाउने छात्राले जनही १० हजार रुपैयाँ नगदसहित ती शैक्षिक सामग्री प्राप्त गरेका थिए। आंशिक छात्रवृत्ति पाउने छात्रालाई ट्र्याकसुट, ब्याग तथा वर्षभरि पुग्ने कापी–कलम उपलब्ध गराइएको थियो।

यस वर्ष मन्थली माध्यमिक विद्यालय, भैरवी माध्यमिक विद्यालय सुनारपानी, तामाकोसी क्याम्पस खिम्ती, सेतीदेवी माध्यमिक विद्यालय सालु, सिद्धेश्वर माध्यमिक विद्यालय गैराथोक, रामेछाप बहुप्राविधिक शिक्षालय मन्थली, सहिद स्मृति क्याम्पस मन्थली र मन्थली स्काउटका छात्राले छात्रवृत्ति प्राप्त गरेका छन्।

कार्यक्रममा शिक्षाविद् गुञ्जबहादुर श्रेष्ठ प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ रामेछापका पूर्वअध्यक्ष बद्री नयाँघरे अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको सभापतित्व श्याम सुवेदी र गीता सुवेदीले गरेका थिए। युवराज सुवेदीले सञ्चालन गरेको कार्यक्रममा सूर्य सुवेदीले स्वागत मन्तव्य दिएका थिए।

दुई शिक्षकलाई जनही २० हजार रुपैयाँ पुरस्कार
कार्यक्रममा शिक्षण–सिकाइको गुणस्तर सुधारमा योगदान पुर्‍याएका दुई शिक्षकलाई जनही २० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ।

गणित विषयमा कमजोर विद्यार्थीलाई उत्कृष्ट नतिजा हासिल गर्न सक्षम बनाउन मेहनत गर्दै आएका खाडादेवी माध्यमिक विद्यालय, चोप्राङका गणित शिक्षक सुबोध यादव र पशुपति माध्यमिक विद्यालय, भुलभुलेका अंग्रेजी शिक्षक प्रलाद खत्री पुरस्कृत भएका हुन्।

विद्यार्थीको शैक्षिक उपलब्धि सुधार गर्न उल्लेखनीय योगदान पुर्‍याउने शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

११ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको छात्रवृत्ति कार्यक्रमले आर्थिक अभावका कारण पढाइमा समस्या भोग्न सक्ने छात्रालाई सहयोग पुर्‍याउँदै आएको छ। यसले छोरीको शिक्षाप्रति परिवार र समाजमा सकारात्मक सोच विकास गर्नसमेत योगदान पुर्‍याएको आयोजकको भनाइ छ।

images
प्रकाशित मिति :कार्तिक ९, २०८३ आइतवार - १८:२२:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology