Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

आज कोजाग्रत पूर्णिमा, दसैँ पर्व समापन हुँदै

आज कोजाग्रत पूर्णिमा, दसैँ पर्व समापन हुँदै

दैनिकी न्यूज

९, कार्तिक २०८३
आज कोजाग्रत पूर्णिमा, दसैँ पर्व समापन हुँदै
images

काठमाडौँ । नेपालीको प्रमुख चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा मनाएसँगै समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा धनधान्य र ऐश्वर्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ।

कोजाग्रत पूर्णिमाका अवसरमा आज साँझ घरघरमा महालक्ष्मीको पूजा गरिन्छ। रातभर जाग्राम बसेमा देवी महालक्ष्मी प्रसन्न भई धन, ऐश्वर्य र समृद्धि प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ। यही विश्वासका आधारमा कोजाग्रत पूर्णिमा मनाउने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

कोजाग्रत पूर्णिमाका दिन शास्त्रीय विधिअनुसार अखिल बलिपूर्तिको कार्य पनि सम्पन्न गरिन्छ। यससँगै विजयादशमीदेखि सुरु भएको मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने परम्पराको अन्त्य हुन्छ। दसैँमा प्रयोग गरिएको जमरा आज नजिकका नदी, तलाउ, पोखरी वा अन्य पवित्र तीर्थस्थलमा लगेर विसर्जन गर्ने चलन छ।

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको दुर्गा पक्ष कोजाग्रत पूर्णिमासम्म चल्छ। नवरात्र विजयादशमीका दिन सम्पन्न भए पनि दसैँको धार्मिक पक्ष भने पूर्णिमाका दिन समाप्त हुने धार्मिक मान्यता छ।

माता दुर्गाका तीन प्रमुख स्वरूपमध्ये एक महालक्ष्मीको आराधना गरिने भएकाले यस पूर्णिमाको विशेष महत्व रहेको छ। यसलाई कौमुदी पूर्णिमा पनि भनिन्छ। कोजाग्रत पूर्णिमाको रात जुवा खेल्ने परम्परा पनि रहेको समितिका अध्यक्ष भट्टराईले बताएका छन्। यस दिन महालक्ष्मीसँगै ऐरावत हात्तीमा सवार देवराज इन्द्रको समेत पूजा गर्ने धार्मिक विधान छ।

यसैबीच, कार्तिक स्नान तथा तुलसीको विशेष पूजा आराधना भने कात्तिक ९ गते सोमबारदेखि सुरु हुने समितिबाट स्वीकृत पात्रोमा उल्लेख छ। आकाशदीपदान गर्ने परम्परा पनि सोही दिन साँझदेखि सुरु हुने जनाइएको छ।

images
प्रकाशित मिति :कार्तिक ९, २०८३ आइतवार - ०८:५८:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology