Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गोठाटारमा राष्ट्रिय गौ उद्यान, उपत्यकाका छाडा गाई बाच्छा संरक्षण

गोठाटारमा राष्ट्रिय गौ उद्यान, उपत्यकाका छाडा गाई बाच्छा संरक्षण

दैनिकी न्यूज

१३, आषाढ २०७७
गोठाटारमा राष्ट्रिय गौ उद्यान, उपत्यकाका छाडा गाई बाच्छा संरक्षण
images

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं–८ मा राष्ट्रिय गौ उद्यान निर्माण शुरु भएको छ । कोषको करिब १०० रोपनी जग्गामा उद्यान निर्माण अभियान शुरु भएको सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । गोठाटारमा शैक्षिक एवं स्वास्थ्य केन्द्र, गौशाला, कुकुरलगायत पशुपंक्षी संरक्षण केन्द्र पनि बनाउने योजना कोषको छ । गाई पालकलाई पनि चेतना दिने गरी राज्यको समेत दायित्व हुने भएकाले अभियान शुरु गरिएको उनले सुनाए ।

सडकमा छाडा छोडिएका राष्ट्रिय जनावर गाई बाच्छालाई एकत्रित गरेर खानपिनसहित संरक्षण गर्ने उद्देश्यले उद्यान निर्माणको अभियान शुरु भएको हो । गोठाटारमा रहेको कोषको ५३४ रोपनी जग्गामध्ये १०० रोपनी गौशालाका लागि छुट्याइएको हो । पशुपति, राजधानीको वरिपरिका नगर क्षेत्रमा छाडा गाईबाच्छा बढ्न थालेपछि विसं २०७६ जेठ १ गतेदेखि त्रिभुवन विमानस्थलको उत्तरतर्फको खुला मैदानमा करिब दुई दर्जन गाईबाच्छा जम्मा गरी संरक्षण शुरु गरिएको थियो । दुई दर्जनबाट शुरु गरिएको यो अभियान हाल उद्यानको अवधारणसहित दुईसय वटा छाडा गाई बाच्छालाई संरक्षण गरिएको छ ।

यसरी जम्मा गरिएका गाईबाच्छालाई नून पानी खुवाएर आँत रसिलो बनाई हालजस्ताको टहरा हालेर अस्थायी ओतको व्यवस्था गरिएको छ । यस क्षेत्रमा घाँस एवं चरण क्षेत्रसमेत रहेकाले उद्यानका लागि उपयुक्तस्थल भएको जनाइएको छ । वाग्मतीको किनारमै घाँसे मैदानसमेत रहेकाले गाईबाच्छालाई चरनको व्यवस्था पनि भएको छ । यसरी जम्मा गरिएका गाई बाच्छालाई स्वतःस्फूर्तरुपमा दाताले खानेकुराको व्यवस्था गर्न थालेका छन् । राष्ट्रिय जनावरका रुपमा सम्मान गरिने र लक्ष्मी माताका रुपमा पूजिने गाईबाच्छा सडकमा भौतारिएर बिजोग अवस्थामा पुगेपछि संरक्षणका लागि अभियान शुरु गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताए ।

“बाच्छा हामीलाई पर्खेर बसिरहेका हुन्छन्, सडकमा छाडा छोडिएका बाच्छा आँत भरिने गरी पानी पिउन पाउँदा खुशी देखिन्छन्, यो सेवामुखी कामप्रति मानिसका चासो र चिन्ता पनि बढ्न थालेको छ, यो समस्याप्रति नीति निर्माताको ध्यानाकर्षण गराउनु आवश्यक बनेको छ”, उनले भने ।

यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकामा अहिले पनि धेरै गाई पालिएका छन् । गाईको बाच्छी जन्मिए घरमै राख्ने र बाच्छा जन्मिए अलि ठूलो भएपछि वाग्मती किनार, खुला सडकलगायत स्थानमा लगेर छोडिदिने समस्या मौलाएको छ । प्राणीको न्यायका पक्षमा नैतिक तथा कानूनी लडाइँ लड्ने सोचसहित अभियानकर्मी जुरमुराएका छन् ।

बेवारिसे अवस्थामा रहेका राष्ट्रिय जनावरको रक्षामा कुनै सम्झौता नगर्ने अभियानकर्मीको प्रतिबद्धता छ । नेपालीले सम्मान गरी गौमाताका रुपमा पूजा गर्ने गरे पनि सडकमा बाच्छा जन्मिएपछि गाईपालकले सडकमा छोड्ने गरेका छन् । गाईको दूध खाने तर बाच्छालाई सडकमा छोडेर बेवारिसे बनाइरहेको हेर्दा मानिसमा मानवीय संवेदना हराउन थालेको अनुभव हुने अभियानकर्मी ईश्वर पुडासैनी बताउछन् । यसका लागि कानूनी व्यवस्था नै गर्नुपर्ने अभियानकर्मीको माग छ ।

स्थानीय सरकारको ध्यानाकर्षण
गाईबाच्छा संरक्षण अभियानले यसअघि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै खुला ठाउँमा लगेर छोड्ने काम बन्द गराउन कानूनी एवं नीतिगत व्यवस्था गर्न माग गरेका थिए । दुवै नगरपालिकाले हालै जारी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा थोरै भए पनि यो मागलाई समेटेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाले छाडा छोड्ने प्रवृत्तिलाई रोक लगाउने नीति अघि सारेको छ ।

गोकर्णेश्वर नगरपालिकाले छाडा रुपमा गाईबाच्छा नछोड्न विशेष कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ । यसका लागि रु २० लाख बजेट समेत छुट्याएको नगर प्रमुख सन्तोष चालिसेले सुनाए । अभियान जारी राखी उपत्यकाका सबै स्थानीय तहलाई यस विषमाय नीति निर्धारण गर्न लगाउनुपर्ने सदस्य सचिव ढकाल बताउछन् ।

गाउँ ठाउँमा पुगेका स्थानीय सरकारले नसुने पनि सहयोग गर्न चाहनेको सङ्ख्या थपिँदै गएको छ । जन्मदिनलगायत विशेष समारोहका बेला मानिस गाईबाच्छाका लागि केही लिएर आउन थालेका छन् । गाईबाच्छाका लागि पानी खुवाउने काममा पनि स्वयंसेवी सक्रिय हुन थालेका छन् ।

त्रिभुवन विमानस्थल निर्माण हुनु अघि गौचरणका रुपमा रहेको चौरमा हजारौँ गाई चर्थे । पशुपतिनाथको गुठीका रुपमा रहेको यो जग्गामा विमानस्थल बनेसँगै गाई चर्ने चरणको अभाव भयो । त्यसपछि मानिसले घरमै बाँधेर वा साना चरणमा चराउन थाले । यता कालोपुलसँगैको सानो गौचरणमा पनि खेलमैदान बन्यो ।

मानिसले आफूले उपयोग गरिरहेको स्थान कसैले अतिक्रमण गरे विरोध गर्छन् तर यी अबोध प्राणीका पक्षमा बोलीदिने कसले भन्ने प्रश्न जीवन्त बन्न थालेको छ । बाच्छा संरक्षण अभियानले भने जुनसुकै स्थानमा छाडा छोडिएका बाच्छा गोठाटारस्थित संरक्षणस्थलमा पु¥याइदिए त्यसका लागि सकेको गर्ने वाचा गरेको छ ।

बन्दाबन्दीमा विशेष अभियान
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि बन्दाबन्दीको घोषणा गरेपछि उपत्यकाभर छाडा छोडिएका गाईबाच्छाले केही खान नपाउने अवस्था आयो । सडकमा यस्तो दृश्य देखेपछि कोषकका सदस्य सचिव ढकालको समेत सक्रियतामा उपत्यकामा छाडा छोडिएका गाईबाच्छालाई आश्रय दिने अभियान शुरु भएको हो ।

कोष, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी कुनामा रहेको कागेश्वरी मनोहरा नगरापालिका–८ स्थित गोठाटारको वाग्मती किनारको चौरमा संरक्षित गाईबाच्छा संरक्षण अभियानलगायत संस्थाको सहकार्यमा गाईबाच्छा संरक्षणका लागि उद्यान निर्माण अभियान शुरु भएको हो ।

उपत्यकाकै नगर क्षेत्रमा पालिएका गाई फार्ममा गाईको बाच्छा जन्मिए केही दिनमा पशुपति वरपरको क्षेत्रमा लगी छोड्नेको सङ्ख्या बढ्न थालेको अभियानकर्मी पुडासैनीले जनाकारी दिनुभयो । बाच्छी जन्मिए राख्ने बाच्छा जन्मिए केही महिनामै पशुपति एवं वाग्मती किनारमा छोडिन्छन् । जसका कारण सडक दुर्घटनाका समस्या समेत बढ्ने गरेको छ ।

संविधानमा गाईलाई राष्ट्रिय जनावरका रुपमा उल्लेख गरिएको छ । वैदिक सनातन हिन्दू धर्मअनुसार गाईलाई गौमाताका रुपमा पुजिन्छ । शास्त्रीय रुपमा गरिने प्रत्येक शुभकर्ममा गाईदानका महत्वसमेत उल्लेख गरिएको छ । गाईको यही महत्वका कारण कोष र अभियानलगायत संस्थाको सहकार्यमा छाडा छोडी सडकमा अलपत्र गाईबाच्छा उद्धार गरी उद्यान निर्माण अभियान शुरु भएको हो ।

उपत्यकाका सबै नगरपालिकाका प्रमुखसँग पनि बन्दाबन्दी सकिएपछि छलफल गरेर छाडा गाईबाच्छा व्यवस्थित गर्न दबाब दिइने तयारीसमेत गरिएको छ । स्थानीय तहले आफ्नो क्षेत्रका गाईबाच्छा दर्ता गर्ने व्यवस्था गरेर छाडा छोडेको पाएमा सेवा सुविधा कटौती गर्नुपर्ने माग अभियानकर्मीले गरेका छन् । बन्दाबन्दीमा सडकमा छोडिएका छाडा गाईबाच्छाले खान नपाएका कारण पनि यस्तो अभियान शुरु गरिएको हो । अभियानमा हाल आधा दर्जन अभियानकर्मी स्वयंसेवीरुपमा खट्ने गरेका छन् । रासस

images
प्रकाशित मिति :आषाढ १३, २०७७ शनिवार - ०९:५८:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology