काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा पुनः रमेशकुमार सिलवाल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सिलवाललाई सदस्यसचिवमा दोहोर्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि गत वर्ष असारमा राखेपको सदस्यसचिवमा नियुक्त भएका सिलवाल नयाँ खेलकुद ऐन २०७७ आएपछि यसै असारमा पदमुक्त भएका थिए। मन्त्रीपरिषद्बाट नियुक्त भएसँगै सिलवालले अब चार वर्ष राखेपको नेतृत्व गर्नेछन् । मन्त्रीपरिषद् बैठकले राखेपको उपाध्यक्षमा शिव कोइराला नियुक्त गरेको छ । उनी नेकपाको खेलकुद विभागमा आवद्ध छन। कोइराला १३ औं सागमा प्रचारप्रसार समितिका संयोजक समेत थिए। नयाँ ऐनअनुसार यसपटक राखेपको सदस्यसचिवका लागि पहिलोपल्ट आवेदन खुलाइएको थियो। जसमा ३ महिलासहित २७ जनाले आवेदन दिएका थिए।
मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समितीले बुधबार अन्जु श्रेष्ठ, लिलबहादुर थापा र सिलवालको नाम मन्त्रालयमा सिफारिस गरेको थियो।
सरकारले तीनजनामध्येबाट सिलवाललाई फेरि नियुक्त गरेको हो । सिलवाल प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन् ।