काठमाडौँ । कोरोना संक्रमितहरुले आफूलाई संक्रमण रहेको औपचारिक सूचना निकै ढिला मात्रै प्राप्त गर्ने गरेको देखिएको छ । शंका लागेर कोरोना परीक्षण गराएकामध्ये नेगेटिभ रिपोर्ट आएकाले तत्काल खबर प्राप्त गर्ने भए पनि पोजिटिभ रिपोर्ट आएकाले भने केही दिनपछि मात्रै औपचारिक जानकारी पाउने गरेका छन् ।
केही संक्रमितका अनुसार उनीहरुले आफ्नो रिपोर्ट पोजिटिभ आएको सूचना परीक्षण गराएको थोरैमा पनि ३र४ दिनपछि मात्रै प्राप्त गरेको दाबी गरेका छन् । यस्तै केही संक्रमितलाई भने रिपोर्ट पोजिटिभ आएको १० दिनसम्म पनि कहीं, कतैबाट औपचारिक जानकारी नगराइएको समेत भेटिएको छ । संक्रमितहरुले आफ्नो रिपोर्ट समयमा थाहा नपाउने त छँदै छ, उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा समेत सम्बन्धित संस्थाहरु उदासीन रहेको देखिएको छ ।
यस्तै घटनामध्येको एक उदाहरण हो– मेडिकेयर अस्पतालमा निधन भएका एक व्यक्तिका परिवारको । मेडिकेयर अस्पतालमा उपचारक्रममा सोमबार बिहान एक संक्रमितको निधन भयो । शुक्रबार श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएका उनलाई इमर्जेन्सीबाट तुरुन्तै आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो । तर, उनमा कोरोना संक्रमण रहेको औपचारिक रिपोर्ट भने उनको निधनपछि मात्रै प्राप्त भयो । त्यसपछि अस्पतालले उनको शव नेपाली सेनालाई सद्गत गर्नका लागि जिम्मा दिएको थियो ।
कान्तिपुर दैनिकमा स्वरूप आचार्यले लेखेका छन् ।