ललितपुर । कोरोना भाइरस (कोभिड–१९) को जोखिम उच्च भएपछि ललितपुरको दक्षिण भेगमा रहेका ३ वटा स्थानीय तहले आजदेखि सार्वजानिक यातायात सञ्चालनमा रोक लगाएको छ।
ललितपुरको कोन्ज्योसोम, बागमती र महाँकाल गाउँपालिकाले आज (भदौ १ गते) देखि भदौ १५ गतेसम्मका लागि सार्वजानिक यातायात सन्चालनमा रोक लगाएका हुन्।
आइतबार बसेको तिनैवटा गाउँपालिकाको बैठकले कोरोनाको जोखिम न्यूनिकरणका लागि यातायात चलाउन नदिने निर्णय गर्दै ठाउँठाउँमा चेकपोष्ट राखेर कडाई गरिने भएको कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपिलाल सिङतानले जानकारी दिए।
गाउँपालिका कार्यालयबाट दिइने अत्याआवश्यकिय सेवा बाहेक अन्य सेवा पनि १५ दिनका लागि आजदेखि बन्द हुने उनले बताए।
दुध, तरकारी र खाद्यन्न बोक्ने गाडीमा चालक र सहचालक मात्रै बसेर चलाउन पाइने अध्यक्ष सिङतानको भनाइ छ।