काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमण दर दिन दिनै बढ्दै गएको छ । देशका अन्य भागसँगै राजधानी काठमाडौँमा सङ्क्रमणको दर उच्च हुुँदै गएको हो । सङ्क्रमण रोक्न राजधानी उपत्यकालगायत देशका धेरै भागमा निषेधाज्ञा जारी गरिए पनि सङ्क्रमण दर नियन्त्रण हुन सकेको छैन । शुक्रबार मात्र देशभरमा आठ सयभन्दा बढी कोरोना सङ्क्रमित भए पनि काठमाडौँमै झण्डै दुुई सय सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा थप ८३८ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको बताउनुभयो । योसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको छ । तीमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार १३२ रहेको छ ।
सङ्क्रमितको तुलनामा दैनिक निको हुनेको सङ्ख्या भने कम छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २५० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या १८ हजार २१४ पुगेको छ । देशभरका क्वारेन्टाइनमा १२ हजार २३४ जना रहेका छन् भने होम क्वारेन्टाइनमा मात्रै तीन हजार ५८६ जना छन् । मन्त्रालयका अनुसार यस्तै पछिल्लो समय काठमडौँमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ गरी १८२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।